मनसुनमै पुरानै ट्र्याकबाट खुल्ने बिपी राजमार्ग, ७० प्रतिशत तयारी सम्पन्न

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २४, बुधबार (११ घण्टा अघि)
  • ४० पटक पढिएको
मनसुनमै पुरानै ट्र्याकबाट खुल्ने बिपी राजमार्ग, ७० प्रतिशत तयारी सम्पन्न

काठमाडौं, २४ असार। २०८१ असोज ११ र १२ गतेको अविरल वर्षापछि रोशी खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएको बिपी राजमार्गमा यस वर्षको मनसुनमा सवारीसाधनलाई पुरानै ट्रयाकबाट सञ्चालन गर्ने तयारी गरिएको छ।

बाढीले क्षति पुर्‍याएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन हुँदै आएकोमा जोखिमयुक्त स्थानमा संरक्षण पर्खाल निर्माणको कामले गति लिएसँगै वर्षायामभर पुरानै स्थानबाट यातायात सञ्चालन गर्ने तयारी गरिएको हो।

अहिले सामान्य वर्षा वा सानो बाढी आउँदा डाइभर्सनबाटै सडक प्रयोग गरिनेछ भने ठूलो बाढी आएर डाइभर्सन बगाएको खण्डमा साविककै सडकमार्गबाट सवारी सञ्चालन गर्ने व्यवस्था मिलाइने सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख एवम् सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले जानकारी दिए।

विशेषगरी चौकीडाँडा, घुमाउनेको आधा भाग, चारसयबेँसी, गिम्दीबेँसी, बोक्सीकुना, कालढुङ्गा र पिप्लेलगायतका जोखिमयुक्त क्षेत्रमा आवश्यक संरचना निर्माण अन्तिम चरणमा पुगेको तथा चिउरीबास, डालाबेशींलगायतका स्थानमा धमाधम काम भइरहेको उनले बताए।

त्यस्तै, राजमार्गको सिन्धुली खण्डको आँपघारी र नेपालथोक खण्डमा समेत पुरानै स्थानबाट सवारी चलाउन सकिने सडक विभागले जनाएको छ।

बाढीले भकुण्डेबेँसीदेखि नेपालथोकसम्म करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो। त्यसयता पुनर्निर्माणका लागि विभिन्न खण्डमा विभाजन गरी ठेक्कामार्फत काम भइरहेको छ।

सिनियर डिभिजनल इन्जिनियर योगेशका अनुसार काभ्रेपलाञ्चोकतर्फ तीनवटा ठेक्का प्याकेजमार्फत पुनर्निर्माण भइरहेको छ भने जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा बन्ने एक खण्डको काम वर्षायामपछि सुरु हुनेछ। तीनवटा ठेक्का प्याकेजमार्फत भइरहेको काम हालसम्म ३४ प्रतिशत सकिएको छ।

‘पहिचान गरिएका १० जोखिमयुक्त स्थानमध्ये ७ स्थानमा सवारी सञ्चालन गर्न मिल्ने अवस्था बनिसकेको छ,’ योगेशले भने, ‘वर्षाअघि साविकको सडकमार्ग सञ्चालनका लागि आवश्यक पर्ने करिब ७० प्रतिशत काम सम्पन्न भइसकेको छ भने बाँकी स्थानमा पनि तीव्र गतिमा काम भइरहेको छ।’

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी प्रमुख रविन कार्की, सशस्त्र प्रहरी १५ नम्बर गणका डिएसपी विनोद थापालगायतको सुरक्षा समिति र सडक डिभिजन कार्यालय भक्तपुरको संयुक्त टोलीले पुनर्निर्माण भइरहेको सडकखण्डको स्थलगत अनुगमन गरेको छ।

टोलीले वर्षा सुरु हुनुअघि आवश्यक सबै काम सम्पन्न गरी पुरानै स्थानबाट सवारी सञ्चालन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

अनुगमनका क्रममा बाढीले क्षति पुर्‍याएका स्थानमा संरक्षण पर्खाल निर्माण भइसकेकाले वर्षाको समयमा पुरानै मार्गबाट सवारी सञ्चालन गर्ने आधार तयार देखिएको प्रमुख जिल्ला अधिकारी अधिकारीले जानकारी दिए। ‘वर्षायाम सुरु भइसकेको छ। केही स्थानमा केही काम बाँकी देखिएकाले समयमै पूरा गर्न सडक डिभिजन र निर्माण कम्पनीलाई निर्देशन दिएका छौँ,’ उनले भने।

कुन खण्डमा कति लागतमा हुँदैछ काम ?

सडक डिभिजन भक्तपुरका अनुसार राजमार्गको १ नम्बर पुलदेखि चारसयबेँसीसम्मको ११ किलोमिटर सडक खानी–एवान–कमलजीत जेभीले एक अर्ब ३३ करोड रुपैयाँमा पुनर्निर्माण गरिरहेको छ।

यसैगरी, चारसयबेँसीदेखि डालाबेँसीसम्मको ८.५ किलोमिटर सडक लामा–नव कान्तिपुर जेभीले एक अर्ब ४२ करोड रुपैयाँमा र डालाबेँसीदेखि पिप्लेको सुक्खा पहिरोसम्मको २.३ किलोमिटर सडक पुनर्निर्माण उमा एन्ड कम्पनी–भण्डारी अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा गरिरहेको छ ।

पिप्लेको सुक्खा पहिरोदेखि काभ्रे र सिन्धुलीको सिमाना बर्खेखोलासम्मको ३.२ किलोमिटर सडक भने जापान सरकारको सहयोगमा पुनर्निर्माण हुने भएको छ। यसका लागि सिमिजु कर्पोरेसनसँग गत वैशाखमै सम्झौता भइसकेको छ। करिब दुई अर्ब ६० करोड रुपैयाँ लागतको यो आयोजना वर्षायामपछि निर्माण चरणमा प्रवेश गर्ने सडक डिभिजनले जनाएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस