महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (१० घण्टा अघि)
  • ३० पटक पढिएको
महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिलका कर्मचारी आन्दोलनमा

काठमाडौं, १९ असार। विगत ६ महिनादेखि महँगी भत्ता नपाएको भन्दै प्रेस काउन्सिल नेपालका स्थायी कर्मचारीहरूले धर्ना सुरु गरेका छन् ।

सरकारद्वारा निर्धारित अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता गत माघ महिनादेखि उपलब्ध नगराइएको भन्दै कर्मचारीहरूले बिहीबारदेखि ‘पेन डाउन’ गरी कामकाज ठप्प पारेका हुन् ।

काउन्सिलका सूचना अधिकारी रामशरण बोहराका अनुसार कर्मचारीहरूले लामो समयदेखि व्यवस्थापनसमक्ष भत्ता उपलब्ध गराउन माग गर्दै आएका थिए ।

बोर्ड सदस्यहरूको कार्यकाल समाप्त भई बोर्ड रिक्त रहेको अवस्थामा कर्मचारीहरूको जायज मागलाई बेवास्ता गरिएको उनको गुनासो  छ ।

‘आज सबै स्थायी कर्मचारी साथीहरू दबाब सिर्जना गर्ने उद्देश्यले हिजोदेखि काउन्सिल सचिवालयको बाहिरी प्राङ्गणमा बसेका छौं । यो हाम्रो शान्तिपूर्ण दबाबमूलक कार्यक्रम हो, कुनै उग्र आन्दोलन होइन । असार महिनाको अन्तिमतिर आइपुगेका छौं । आज असार १९ गते भइसक्यो । ६ महिनादेखि पाउनुपर्ने महँगी भत्ता नपाएको कारण हामीले व्यवस्थापनसँग उक्त भत्ता उपलब्ध गराउन आग्रह गर्दै दबाब सिर्जना गरिरहेका छौं,’ उनले भने ।

कर्मचारीहरूले बिहीवारबाट काउन्सिलको कामकाज रोकेर धर्ना दिइरहेका छन् । भत्ता पाउने ठोस सुनिश्चितता नभएसम्म आन्दोलन र कामकाज बहिष्कारको कार्यक्रम निरन्तर जारी रहने सूचना अधिकारी बोहराको चेतावनी छ ।

‘काउन्सिल सचिवालयका स्थायी कर्मचारीहरूले माघ महिनादेखि सरकारको अनिवार्य दायित्वअन्तर्गत पर्ने महँगी भत्ता हालसम्म पनि पाएका छैनौँ । यस विषयमा हामीले पटकपटक व्यवस्थापनसँग अनुरोध गर्दै आएका छौँ । बोर्ड रहेको अवस्थादेखि नै हामीले महँगी भत्ता रोकिएको विषय उठाउँदै आएका थियौँ । तर हाल बोर्डसमेत नभएको अवस्था छ र हाम्रो माग अझै सम्बोधन भएको छैन,’ उनले भने ।

ताजा अपडेट

खोजी गर्नुहोस