
जनकपुरधाम, ३० असार। जनकपुरधामबाट ‘पैदल न्याय मार्च’ गर्दै काठमाडौंतर्फ प्रस्थान गरेका मिटरब्याज पीडितहरूले गृहमन्त्री सुधन गुरुङलाई ज्ञापनपत्र बुझाएका छन्। गृहमन्त्री स्वयं पीडितहरूलाई भेट्न निजगढ पुगेपछि उक्त ज्ञापनपत्र हस्तान्तरण गरिएको हो।
गृहमन्त्री आफूहरूलाई भेट्न आउने जानकारी बिहानै प्राप्त भएपछि काठमाडौंतर्फ अघि बढिरहेको मिटरब्याज पीडितहरूको टोली निजगढमै रोकिएको थियो। त्यसपछि उद्योग वाणिज्य संघ निजगढको सभाहलमा गृहमन्त्री गुरुङ र पीडितबीच प्रत्यक्ष छलफल सम्पन्न भएको थियो।
छलफलका क्रममा मिटरब्याज पीडितहरूले आफूहरूले भोग्दै आएका समस्या, न्यायको माग तथा सरकारसँग रहेका अपेक्षाबारे जानकारी गराउँदै ज्ञापनपत्र बुझाएका थिए। गृहमन्त्री गुरुङले पीडितहरूको गुनासा र माग ध्यानपूर्वक सुन्दै समस्या समाधानका सम्भावित उपायबारे संवाद गरेका थिए।
जनकपुरधामबाट सुरु गरिएको ‘पैदल न्याय मार्च’ मार्फत मिटरब्याज पीडितहरूले आफ्ना माग सरकारसमक्ष पुर्याउने अभियान सञ्चालन गरिरहेका छन्। गृहमन्त्रीसँग भएको प्रत्यक्ष भेटघाट र ज्ञापनपत्र बुझाउने कार्यक्रमलाई पीडितहरूले आफ्ना माग सम्बोधन हुने अपेक्षासहित महत्त्वपूर्ण कदमका रूपमा लिएका छन्।
