
काठमाडौं, २९ असार। सरकारले नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने कथावस्तुका फिल्मलाई मुलुकभित्र प्रदर्शन अनुमति नदिने भएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयअन्तर्गत श्रव्यदृश्य तथा प्रसारण शाखाले चलचित्र विकास बोर्डलाई निर्देशनसहितको पत्र लेख्दै त्यस्ता खालका फिल्मलाई केन्द्रीय चलचित्र जाँच समितिले प्रदर्शन अनुमति नदिने जनाएको हो ।
जाँच समितिले जाँचको लागि सिफारिस गर्ने निकाय चलचित्र विकास बोर्डलाई चलचित्र निर्माण, प्रदर्शन तथा वितरण ऐन २०२६ को दफा ८(३) को स्मरण गराएको छ ।
उक्त दफामा कुनै चलचित्र वा त्यसको कुनै भाग नेपालको सुरक्षा, शान्ति र व्यवस्था, मित्रराष्ट्रसँगको सु-सम्बन्धमा विरोध पार्ने देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले अनुमति दिने छैन भनिएको छ ।
यो प्रावधानलाई पूर्ण रूपमा पालना गर्नुपर्ने बताउँदै मन्त्रालयले चलचित्र जाँचपासको लागि प्राप्त भएमा उक्त ऐनको दफा ८ (३) बमोजिम चलचित्र जाँच समितिबाट अनुमति दिन नसकिने व्यहोराबारे मन्त्रालयले पत्रमा उल्लेख गरेको छ ।
यसबारे निर्माता, वितरक र सरोकारवाला सबैलाई पत्राचार तथा आवश्यक समन्वय गर्न समेत मन्त्रालयले निर्देशन दिएको छ ।
गतसाता आलिया भट्ट अभिनित भारतीय फिल्म ‘अल्फा’बारे विवाद भएको पृष्ठभूमिमा मन्त्रालयले यस्तो निर्णय गरेको हो । उक्त विवादमा सञ्चारमन्त्री विक्रम तिमल्सिनाले हस्तक्षेप गर्दै फिल्म प्रदर्शनको लागि अनुमति दिन भनेका थिए ।
मन्त्रीले नै हस्तक्षेप गरेपछि जाँच समिति पछि हट्दै वितरकलाई प्रदर्शन अनुमति दिएको थियो । साथै, चलचित्र जाँच समितिमा यसबारे लामै छलफल भएको थियो ।
यतिबेला भने चलचित्र हेर्ने मन्त्रालयको प्रमुख शाखाले नै प्रदर्शन अनुमति दिन नसकिने बताएको छ ।
सरकारको यस्तो निर्णयको असरमा नेपालमा प्रदर्शन हुने भारतीय फिल्मलाई हुने देखिन्छ । पछिल्लो समय नेपालमा धेरै कमाइ गर्ने मध्ये अधिकांश भारतीय फिल्मको कथावस्तु पाकिस्तानविरोधी हुनेगर्छ ।
‘एन्टी पाकिस्तानी’ कन्टेन्टको कथावस्तुलाई नेपालमा अघिल्ला सेन्सर बोर्डले सहजै स्वीकार गर्दै प्रदर्शनको लागि अनुमति दिने गरेको थियो । धुरन्धरको श्रृंखलादेखि हालैको अल्फासम्मको कथावस्तु पाकिस्तानविरोधी छन् ।
पाकिस्तानविरोधी कथावस्तुका भारतीय फिल्मलाई मध्यपूर्वका मुलुकले भने रोक लगाउँदै आइरहेका छन् । उनीहरूले बलिउडका धुरन्धरजस्ता स्पाइ जनराका फिल्मलाई रोक लगाएका थिए । उता रोक लगाएपछि कतिपय दर्शक नेपाल आएर फिल्म हेरेको खबर त्यतिबेला आएका थिए ।
प्रधानमन्त्री बालेन शाह काठमाडौं महानगरको मेयर हुँदा पनि भारतीय फिल्मप्रति आक्रोशित थिए । उनले त्यतिबेला महानगरमा ‘आदिपुरुष’ फिल्मको प्रदर्शन रोक्न निर्देशन दिएका थिए । त्यतिबेला ठूलो विवाद निम्तिएको थियो ।
