यूएन कार्यक्रममा दुई आईजीपी मात्रै सहभागी, चार अधिकृतको नाम हटाइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १९, शुक्रबार (९ घण्टा अघि)
  • ५७ पटक पढिएको
यूएन कार्यक्रममा दुई आईजीपी मात्रै सहभागी, चार अधिकृतको नाम हटाइयो

काठमाडौं, १९ असार। संयुक्त राष्ट्र संघ (युएन)को कार्यक्रममा अमेरिका जाने तयारीमा रहेका चार प्रहरी अधिकारीको नाम सरकारले काटेको छ ।

संयुक्त राष्ट्र संघको आयोजनामा हरेक वर्ष हुने ‘चिफ अफ पुलिस समिट’मा अमेरिका जान लागेका नेपाल प्रहरीका दुई अधिकृत र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम सरकारले काटेको हो ।

सरकारी खर्चको मितव्ययिता भन्दै चार प्रहरी अधिकृतको नाम काटिएको छ । दुई अधिकृतको नाम काटिएसँगै अब नेपाल प्रहरीका आईजीपी दानबहादुर कार्की र सशस्त्र प्रहरी बलका आईजीपी नारायणदत्त पौडेल मात्रै अमेरिका जाने भएका छन् ।

नाम काटिनेमा दुबै आईजीपीका स्टाफ अफिसर र यूएन शाखाका प्रमुख रहेको स्रोतले बतायो । यसअघि युएनको यस्तो कार्यक्रममा जाँदा आईजीपीका स्टाफ अफिसर र युएन शाखाका प्रमुख जाने चलन थियो ।

भीआईपीस्तरको कार्यक्रम हुने र आईजीपी समेत त्यहाँ सहभागी हुने हुँदा स्टाफ अफिसर चाहिने जानकारहरु बताउँछन् । ‘युएनको कार्यक्रममा जाने भएपछि त्यहाँ आईजीपीलाई आवश्यक पर्ने सहयोगका लागि स्टाफ अफिसर अनिवार्य जस्तै हो । अन्य देशका प्रहरी प्रमुखहरु पनि आफ्ना स्टाफ अफिसर लिएरै आउने चलन हुन्छ’ एक पूर्वआईजीपी भन्छन् ।

संयुक्त राष्ट्र संघका सदस्यहरु भएका देशका प्रहरी प्रमुखहरु सहभागी हुने यो कार्यक्रममा पिस किपिङका बारेमा छलफल हुन्छ । त्यहाँ आफ्नो योजनाहरु प्रस्तुत गर्ने र त्यसलाई शान्ति स्थापनाका लागि लागु गरिन्छ । यो कार्यक्रम अमेरिकामा जुलाई ५ देखि ७ सम्म तीन दिन चल्ने बताइन्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस