रमेश लेखक क्षेत्रका वडा सभापतिहरू असन्तुष्ट, सदस्यता अद्यावधिक कार्य रोक्ने निर्णय

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ जेष्ठ १४, बिहिबार (११ घण्टा अघि)
  • २८ पटक पढिएको
रमेश लेखक क्षेत्रका वडा सभापतिहरू असन्तुष्ट, सदस्यता अद्यावधिक कार्य रोक्ने निर्णय

काठमाडौ, १४ जेठ। पूर्वगृहमन्त्री रमेश लेखकको निर्वाचन क्षेत्रका वडा सभापतिहरूले नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको काम नगर्ने बताएका छन् ।

प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उपस्थित कञ्चनपुर–३ का २० वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने बताएका हुन् ।

क्षेत्रीय सभापति केशव चन्दका अनुसार भीमदत्त नगरपालिकाका १९ र वेदकोट नगरपालिकाको एक वडाका सभापतिहरूले अद्यावधिकको काम नगर्ने निर्णय गरेको जानकारी दिए ।

कञ्चनपुर–३ मा दोधारा–चाँदनी नगरपालिका, भीमदत्त नगरपालिका र वेदकोट नगरपालिकाको वडा नम्बर ८ को भूगोल पर्दछ ।
क्षेत्रीय कार्यसमितिले जिल्ला सभापति पदम बोगटीको उपस्थितिमा प्रदेशसभा क्षेत्रीय समिति र वडा समितिसहितको बैठक गरेको थियो ।

बैठकमा सहभागी जिल्ला सचिव भीम भट्टले पनि सदस्यता अद्यावधिकको काम नगर्ने निर्णय गरिएको जानकारी दिए ।

उनका अनुसार क्षेत्रीय कार्यसमितिले बिहीबार दोधारा–चाँदनीमा प्रदेशसभा क्षेत्रीय समिति र वडा समितिसहित छलफल गर्ने भएको छ ।

यसअघि कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै कञ्चनपुर–३ का क्षेत्रीय सभापति चन्दको जिम्मेवारी खोसेर उपसभापति पदमराज अवस्थीलाई जिम्मेवारी दिएको थियो ।

पार्टीले खटाएका केन्द्रीय प्रतिनिधिहरू नरेन्द्रप्रसाद भट्ट र पदमराज पन्तले ११ जेठमा क्षेत्रीय उपसभापति अवस्थीलाई अद्यावधिकको काम अघि बढाउन भन्दै पत्र दिएका थिए ।

‘कञ्चनपुर–३ मा नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्यको संयोजन गर्न जरा अभियान निर्देशिकाको दफा ११ अनुसार तपाईंलाई जिम्मेवारी दिइएको छ,’ पत्रमा भनिएको थियो ।

पत्रमा क्षेत्रीय कार्यसमितिको विस्तृत बैठक आह्वान गरेर २१ जेठभित्र क्षेत्रअन्तर्गत गर्ने सबै वडाहरूको क्रियाशील सदस्यता अद्यावधिक काम सम्पन्न गर्न पनि पत्रमा भनिएको छ ।

क्षेत्रीय समिति बैठकले केन्द्रको उक्त निर्णयप्रति खेद व्यक्त गरेको क्षेत्रीय सभापति चन्दले जानकारी दिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस