राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई स्पष्टीकरण सोधिँदै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ आश्विन १४, बुधबार (१ दिन अघि)
  • ७८ पटक पढिएको
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकलाई स्पष्टीकरण सोधिँदै

रौतहट,१४ असोज।  सरकारी विद्यालयका शिक्षक तथा प्रधानाध्यापक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जिल्लाका विभिन्न स्थानीय तहसँग विवरण माग्दै आवश्यक छानबिन तथा प्रक्रिया अघि बढाउन आग्रह गरेको छ।

सामाजिक सञ्जाल तथा विभिन्न सञ्चारमाध्यममा प्रकाशित सामग्रीलाई आधार बनाउँदै इकाइले माधवनारायण, बौधीमाई र परोहा नगरपालिकालाई पत्राचार गरेको हो। पत्रमार्फत सम्बन्धित विद्यालयमा कार्यरत शिक्षक तथा प्रधानाध्यापक राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भनिएको विषयमा वास्तविकता बुझी आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ।

माधवनारायण नगरपालिकालाई पठाइएको पत्रमा श्रीदेवी माध्यमिक विद्यालय, सुखअवाका प्रधानाध्यापक लखिन्द्र प्रसाद यादव, विज्ञान शिक्षक सुरेन्द्र यादव तथा फुलबरिया प्राथमिक विद्यालयका प्रधानाध्यापक राजकिशोर यादव राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्ने विषय उल्लेख गरिएको छ।

इकाइले उनीहरू कार्यक्रममा सहभागी भएको विषयको यथार्थ विवरण उपलब्ध गराउन नगरपालिकालाई आग्रह गरेको छ। पदीय आचरणविपरीत राजनीतिक दलको कार्यक्रममा सहभागी भएको प्रमाणित भएमा प्रचलित शिक्षा ऐन तथा शिक्षा नियमावलीअनुसार आवश्यक कारबाही गर्नुपर्ने पत्रमा उल्लेख छ।

त्यसैगरी, परोहा नगरपालिकाअन्तर्गत ब्रह्म ज्योति माध्यमिक विद्यालय, लौकाहाका प्रधानाध्यापक अरुणकुमार यादव र निम्न माध्यमिक तहका शिक्षक सुनिलकुमार यादव पनि राजनीतिक दलको कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएको भन्दै इकाइले आवश्यक प्रक्रिया अघि बढाउन भनेको छ।

उनीहरूको सहभागिताबारे वास्तविकता बुझी आवश्यक कारबाही गर्न तथा गरिएको कारबाहीको जानकारी इकाइलाई उपलब्ध गराउन सम्बन्धित स्थानीय तहलाई आग्रह गरिएको छ।

यस्तै, बौधीमाई नगरपालिका–अन्तर्गत सरमुजवा प्राथमिक विद्यालयमा कार्यरत शिक्षक दिनेश बैठा राजनीतिक दलको कार्यक्रममा सहभागी भएको भन्ने विषयमा समेत इकाइले सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ। सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा उक्त विषयमा छानबिन तथा आवश्यक प्रक्रिया अघि बढाउन भनिएको हो।

शिक्षा विकास तथा समन्वय इकाइका पत्रमा शिक्षा ऐन, २०२८ (संशोधनसहित) तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) मा रहेका सम्बन्धित प्रावधानअनुसार आवश्यक प्रक्रिया पूरा गर्न स्थानीय तहलाई आग्रह गरिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा विभाग तथा जिल्ला प्रशासन कार्यालय रौतहटलगायत सम्बन्धित निकायलाई समेत दिइएको छ।

यद्यपि, पत्रमा नाम उल्लेख भएका शिक्षक तथा प्रधानाध्यापक दोषी ठहर भइसकेको निष्कर्ष भने निकालिएको छैन। उनीहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको भन्ने विषय सामाजिक सञ्जाल तथा सञ्चारमाध्यमबाट प्राप्त सूचनाका आधारमा छानबिनका लागि उठाइएको हो।

सम्बन्धित स्थानीय तहले गर्ने छानबिन, शिक्षकहरूको स्पष्टीकरण तथा उपलब्ध प्रमाणका आधारमा मात्र उनीहरूले प्रचलित कानुन र पदीय आचरण उल्लंघन गरे–नगरेको यकिन हुने देखिन्छ।

एकै प्रकृतिका विषयमा जिल्लाका विभिन्न स्थानीय तहमा शिक्षा विकास तथा समन्वय इकाइले पत्राचार गर्न थालेपछि सरकारी विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधिमाथि निगरानी बढेको छ। अब सम्बन्धित स्थानीय तहले इकाइको पत्रका आधारमा गर्ने छानबिन र त्यसबाट आउने निष्कर्षलाई चासोका साथ हेरिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस