रास्वपा प्रथम महाधिवेशन आजदेखि सुरु, निर्वाचनबाट नेतृत्व चयन हुने संकेत

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ ७, आईतबार (१ घण्टा अघि)
  • ३१ पटक पढिएको
रास्वपा प्रथम महाधिवेशन आजदेखि सुरु, निर्वाचनबाट नेतृत्व चयन हुने संकेत

काठमाडौं, ०७ असार। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशन आइतबारदेखि शुरु भएको छ । पार्टीका महामन्त्री भूपदेव शाहले जनाए अनुसार महाधिवेशनको उद्घाटन प्रधानमन्त्री बालेन्द्र साह तथा पार्टी सभापति रवि लामिछानेले संयुक्त रुपमा घण्टी बजाएर गर्ने कार्यक्रम तय गरिएको छ ।

चितवनमा शनिबार आयोजित पत्रकार सम्मेलनमा महामन्त्री शाहले पार्टीको जन्म तथा आन्दोलनको सुरुवात भएको स्थान भएकाले पहिलो महाधिवेशन चितवनमै आयोजना गरिएको बताए । उनले विभिन्न पक्षलाई विचार गरी महाधिवेशन स्थल गेस्टहाउस चौर तय गरिएको जानकारी दिए । महाधिवेशनमा ३ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ । प्रतिनिधि छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको र केन्द्रीय समितिबाट अनुमोदन भएपछि अन्तिम सूची शनिबार रातिसम्म सार्वजनिक गरिने शाहले बताए । नेतृत्व चयनमा सकेसम्म सर्वसम्मतिको प्रयास गरिने भए पनि सहमति हुन नसके लोकतान्त्रिक प्रतिस्पर्धाबाट नेतृत्व चयन गरिने उनले स्पष्ट पारे ।

आफु पुनः महामन्त्री पदमै उम्मेदवारी दिने सोचमा रहेको संकेत गर्दै निर्वाचन आचारसंहिताका कारण औपचारिक घोषणा भने नगरेको बताए । यसैबीच पार्टीका प्रवक्ता मनिष झाले महाधिवेशनका लागि बाह्य रूपमा कुनै चन्दा नउठाइएको जिकिर गरेका छन् । उनले पार्टीले महाधिवेशन खर्च आन्तरिक स्रोतबाट व्यवस्थापन गरिरहेको जानकारी दिए । उनका अनुसार सांसद, केन्द्रीय पदाधिकारी तथा प्रतिनिधिहरूलाई आफ्नै व्यवस्थापन गर्न पूर्वसूचना दिइएको थियो। सांसद तथा नेताहरूको आफ्नै आर्थिक स्रोत भएकाले सामान्य खर्चका लागि अरूमाथि निर्भर हुनुपर्ने अवस्था नरहेको उनको भनाइ छ ।

झाले रास्वपाले महाधिवेशनका लागि चन्दाको रसिद वितरण नगरेको उल्लेख गर्दै प्रतिनिधि शुल्क र लेभीमार्फत आवश्यक रकम जुटाइएको बताए । पार्टीका सांसदबाट मासिक १६ हजार ५०० रुपैयाँ लेभी संकलन हुँदै आएको छ, जसबाट मासिक करिब ३२ लाख रुपैयाँ प्राप्त हुने उनले जानकारी दिए । महाधिवेशनमा सहभागी हुने करिब ३ हजार प्रतिनिधिबाट प्रतिव्यक्ति ५ हजार रुपैयाँ प्रवेश शुल्क संकलन गरिनेछ, जसबाट मात्रै करिब १ करोड ५० लाख रुपैयाँ उठ्ने अनुमान गरिएको छ ।

साथै विभागीय सदस्य र केन्द्रीय सदस्यबाट पनि वार्षिक लेभी संकलन हुने व्यवस्था रहेको उनले बताए । रास्वपाले महाधिवेशनमा करिब ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । तर स्रोतका अनुसार यस महाधिवेशनमा उद्योग मन्त्रालयबाट नै चितवन उद्योग वाणिज्य संघलाई पत्र काटेर सभाहल उपलब्ध गराइएको छ भने चन्दा माग गरेको पत्रहरुसमेत सार्वजनिक भइरहेको अवस्थामा रास्वपाले मुख खोलेको बताइन्छ । महाधिवेशनको अर्को विशेषता विद्युतीय मतदान प्रणाली रहने भएको छ । रास्वपा निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार प्रतिनिधिहरूले विद्युतीय उपकरणमार्फत मतदान गर्न सक्नेछन् ।

निर्वाचन प्रक्रिया दुई चरणमा सम्पन्न हुनेछ । पहिलो चरणमा सभापति र ९९ जना केन्द्रीय सदस्यका लागि मतदान हुनेछ भने निर्वाचित सदस्यहरूबाट दोस्रो चरणमा उपसभापति, महामन्त्री र सहमहामन्त्रीको निर्वाचन गरिनेछ । केसीका अनुसार मनोनयन प्रक्रिया असार ८ गते दिउँसो २ बजेदेखि शुरु हुनेछ र सोही दिन पहिलो चरणको मतदान सम्पन्न गर्ने तयारी छ । दोस्रो चरणको निर्वाचन असार ९ गते हुनेछ । विदेशमा रहेका प्रतिनिधिका लागि पनि मतदानको व्यवस्था गरिएको छ ।

रास्वपाको आफ्नै मोबाइल एपमार्फत विदेशबाटै मतदान गर्न सकिने व्यवस्था मिलाइएको छ । विदेशस्थित १७० प्रतिनिधिमध्ये उपस्थित हुन नसक्नेहरूले यही माध्यम प्रयोग गर्नेछन् । महाधिवेशनको पूर्वसन्ध्यामा केन्द्रीय समितिको बैठक समेत बस्ने तय भएको छ । पार्टीले यस महाधिवेशनलाई संगठन सुदृढीकरण, नेतृत्व चयन तथा भावी राजनीतिक दिशानिर्देश तय गर्ने महत्वपूर्ण अवसरका रूपमा लिएको जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस