रोनाल्डो बनाम यमाल : पोर्चुगल–स्पेनको महामुकाबला

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २२, सोमबार (८ घण्टा अघि)
  • ४३ पटक पढिएको
रोनाल्डो बनाम यमाल : पोर्चुगल–स्पेनको महामुकाबला

काठमाडौं, २२ असार। फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगल र स्पेन खेल्दैछन् । अमेरिकाको डलास स्टेडियममा हुने उक्त खेल राति पौने एक बजेबाट सुरु हुनेछ ।

राउन्ड अफ ३२ मा स्पेनले अष्ट्रियामाथि सहज जित निकाल्दा पोर्चुगलले क्रोएसियामाथि कठिन जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

समूह ‘एच’ को विजेता स्पेन यस विश्वकपमा लयमा देखिएको छ । अन्तिम ३२ को खेलमा अस्ट्रियालाई ३–० को फराकिलो अन्तरले पराजित गर्दै प्रशिक्षक लुइस डे ला फुएन्टेको टोलीले आफ्नो आक्रामक र बलियो उपस्थिति प्रमाणित गरिसकेको छ ।

जारी विश्वकपमा स्पेनले अहिलेसम्म एउटा पनि गोल खाएको छैन । गोलकिपर उनाई सिमोनले लगातार ५१९ मिनेट गोल नखाई विश्वकपको इतिहासमा ३६ वर्ष पुरानो कीर्तिमान समेत तोडिसकेका छन् ।

समूह ‘के’ को उपविजेता बनेको पोर्चुगलले भने नकआउट चरणसम्म आइपुग्न निकै संघर्ष गर्नुपर्‍यो । राउन्ड अफ ३२ मा क्रोएसियाविरुद्धको खेलमा १–० ले पछि परेको अवस्थामा क्रिस्टियानो रोनाल्डोको पेनाल्टी र थप गरिएको समयमा गोन्सालो रामोसको निर्णायक हेडर गोलको मद्दतले पोर्चुगल २–१ को पुनरागमन जित निकाल्दै राउन्ड अफ १६ मा आइपुगेको हो ।

यो खेललाई दुई देशबीचको भिडन्तका रूपमा मात्र नभई दुई फरक पुस्ताका खेलाडीहरु ४१ वर्षीय क्रिस्टियानो रोनाल्डो र १८ वर्षीय युवा लामिन यमालबीचको भिडन्तका रूपमा पनि हेरिएको छ । रोनाल्डोले सन् २००६ मा विश्वकपमा डेब्यु गर्दा यमाल जन्मिएकै थिएनन् । तर यमालले अब आफूभन्दा दोब्बर उमेर भन्दा जेठा रोनाल्डोसँग विश्वकपमा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

४१ वर्ष पुगिसकेका रोनाल्डोका लागि यो सम्भवतः करियरकै अन्तिम विश्वकप खेल हुन सक्छ । उनी लियोनेल मेसी जस्तै आफ्नो अन्तर्राष्ट्रिय करियरको उत्तरार्धमा विश्वकप ट्रफी जित्ने लक्ष्यमा छन् । उनले उज्बेकिस्तानविरुद्ध दुई गोल गर्दै लगातार ६ वटा विश्वकपमा गोल गर्ने पहिलो खेलाडीको कीर्तिमान बनाइसकेका छन् ।

डेब्यु गरिरहेका स्पेनका १८ वर्षीय विंगर यमाल यस विश्वकपमा आफ्नो चोटपटकपछि लयमा फर्किँदै टोलीका प्रमुख खम्बा बनेका छन् । सुरुवाती खेलहरूमा कम समय मैदान उत्रिएका यामालले नकआउट चरणमा भने आफ्नो पुराना जादुमयी प्रदर्शन देखाउन थालेका छन् । उनी पोर्चुगलका लागि घातक बन्न सक्छन् ।

स्पेनका सेन्टर फरवार्ड मिकेल ओयार्जाबाल उत्कृष्ट लयमा छन् । उनले यस प्रतियोगितामा ४ गोल गरिसकेका छन् । राष्ट्रिय टोलीका लागि सुरुवाती ११ मा खेलेका पछिल्ला १६ खेलमा उनले १७ गोल गरिसकेका छन् ।

स्पेन र पोर्चुगलबिचको खेलको नतिजा मिडफिल्डमा कसको नियन्त्रण रहन्छ भन्ने कुराले तय गर्ने देखिन्छ । स्पेनका रोड्री र पेड्रीको जोडीविरुद्ध पोर्चुगलका भिटिन्हा, जोआओ नेभेस र ब्रुनो फर्नान्डेस मैदान उत्रिनेछन् ।

 

खेलअघि पोर्चुगलका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले बल आफ्नो नियन्त्रणमा राखेर नै रक्षात्मक खेल खेल्ने बताए । ‘स्पेन एउटा उत्कृष्ट टोली हो । हामी दुवैलाई बल आवश्यक पर्छ र हामी बल आफ्नो नियन्त्रणमा राखेर नै रक्षात्मक खेल खेल्छौँ । आफ्नो आत्मविश्वास बढाउनका लागि हामीलाई बल चाहिन्छ। मलाई लाग्छ यो खेल नेसन्स लिगको खेल जस्तै हुनेछ,’ उनले भने ।

स्पेनका मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेले तीव्र गतिमा र उच्च दबाबका साथ विपक्षीमाथि हाबी हुने उल्लेख गरे । ‘हामी हरेक दृष्टिकोणबाट निकै मिल्दोजुल्दो विशेषता भएका दुई टोली हौँ,’ उनले भने, ‘हामी दुवै बल गुम्ने बित्तिकै निकै तीव्र गतिमा र उच्च दबाबका साथ विपक्षीमाथि हाबी हुन्छौँ ।’

यी दुई टोलीहरू सन् १९२१ यता ४४ पटक आमनेसामने भइसकेका छन् । जसमा पोर्चुगलले मात्र ७ पटक जित हात पारेको छ । १९ खेल स्पेनले जित निकाल्दा १८ खेल बराबरीमा सकिएका छन् । यी दुई टोलीबिच पछिल्लोपटक सन् २०२५ को यूईएफए नेसन्स लिगको फाइनलमा भएको थियो ।

निर्धारितमा समयमा २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ स्पेनलाई हराउँदै पोर्चुगलले नेसन्स लिगको उपाधि जितको थियो । विश्वकपमा भने सन् २०१८ मा यी दुई टोलीले प्रतिष्पर्धा गरेका थिए । समूह चरणमा उक्त खेल ३–३ को बराबरीमा सकिएको थियो । उक्त खेलमा रोनाल्डोले ह्याट्रिक पूरा गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस