रोहिंगिया नेपाल छिर्ने आशङ्कापछि नाकामा सुरक्षा कडा, परिचयपत्र अनिवार्य

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २७, आईतबार (४३ मिनेट अघि)
  • ३८ पटक पढिएको
रोहिंगिया नेपाल छिर्ने आशङ्कापछि नाकामा सुरक्षा कडा, परिचयपत्र अनिवार्य

पर्सा, २७ वैशाख। पर्सा र मोरङको सीमावर्ती क्षेत्र जोगवनी नाकामा सुरक्षा निगरानी कडा पार्दै नेपाल प्रवेश गर्ने व्यक्तिका लागि परिचयपत्र अनिवार्य गरिएको छ । पर्सा र मोरङ जिल्ला सुरक्षा समितिको बैठकले सीमा क्षेत्रमा हुने अवैध घुसपैठ तथा आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले यस्तो निर्णय गरेको हो ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइराला का अनुसार उक्त निर्णय नेपाल पक्षको आन्तरिक सुरक्षा सतर्कताअन्तर्गत गरिएको हो । उनले यो कुनै दुई देशबीचको औपचारिक वार्ताको परिणाम नभई सीमामा अवैध आवतजावत रोक्न अपनाइएको सुरक्षा रणनीति भएको स्पष्ट पारे ।

सुरक्षा स्रोतका अनुसार भारतको पश्चिम बंगाल क्षेत्रमा पछिल्लो राजनीतिक घटनाक्रमपछि सम्भावित अवैध आवतजावतलाई ध्यानमा राख्दै प्रशासनले विशेष सतर्कता अपनाएको हो । विशेषगरी कलकत्ताबाट जोगवनी आउने रेलमार्फत ठूलो संख्यामा व्यक्तिहरू नेपाल प्रवेश गर्न सक्ने अनुमान गर्दै रेल आगमनको समयमा निगरानी बढाइएको जनाइएको छ ।

प्रशासनले सीमामा परिचयपत्र जाँचलाई कडाइ गर्नुका साथै तालिमप्राप्त कुकुरको समेत प्रयोग गरेर चेकजाँचलाई प्रभावकारी बनाएको जनाएको छ । सुरक्षा निकायले सीमावर्ती क्षेत्रमा फरार अभियुक्तहरूको आवतजावत नियन्त्रण गर्ने उद्देश्यसमेत रहेको बताएका छन् ।

स्रोतका अनुसार सीमाबाट अवैध रूपमा नेपाल प्रवेश गर्ने गतिविधि रोक्न रेल आउने समयमा विशेष सुरक्षा व्यवस्था मिलाइएको छ । प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै आवश्यक निगरानी र चेकजाँचलाई आगामी दिनमा थप प्रभावकारी बनाइने जनाएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस