लालपूर्जा देखिएपछि रोकियो डोजर, भेरिफाइ गर्न सरकारी टोली खटाइयो

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख १९, शनिबार (४६ मिनेट अघि)
  • ५७ पटक पढिएको
लालपूर्जा देखिएपछि रोकियो डोजर, भेरिफाइ गर्न सरकारी टोली खटाइयो

काठमाडौं, १९ वैशाख। नदी किनारका अनधिकृत संरचना हटाउने क्रममा नयाँ बसपार्क नजिकै विष्णुमती नदी किनारमा पुगेको डोजर रोकिएको छ ।

सो ठाउँका करिब १०–१२ घरधुरी आफ्नो लालपूर्जा रहेको दाबी गरेपछि डोजर रोकिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलका अनुसार, अहिले उक्त जग्गाबारे छानबिन गर्ने सत्यतथ्य पत्ता लगाउन सरकारी टोली खटिएको छ ।

डोजर पुगेपछि स्थानीयले लालपुर्जा देखाएपछि अहिले केहीबेरदेखि काम रोकिएको छ ।

घरधनीहरूले आफूसँग वैधानिक लालपुर्जा रहेको दाबी गर्दै कुनै पनि हालतमा घर भत्काउन नदिने अडान लिएपछि सरकारी टोली खटिएको हो ।

‘कहिलेकाहीँ त फिल्डमा डोजर ब्रिग्रिएर वा मेसिनरी समस्या आएर रोकिने एउटा पाटो हो,’ सीडीओ पौडेलले भने, ‘केही जग्गाधनीहरूको पूर्जा छ, हाम्रो हकभोगको हो भनेर भनियो भन्ने कुरा आएको छ । त्यसलाई यकिन गर्नका लागि सरकारी टोली खटिएको छ ।’

उनका अनुसार, जग्गाबारे पत्ता लगाउन ८ जनाको सरकारी टोली खटिएको हो ।

‘काठमाडौं महानगरपालिकाका अधिकृत, नापि अधिकृत, मालपोत अधिकृत, जिल्ला प्रशासन कार्यालयका अधिकृत र काठमाडौं उपत्यका प्राधिकरण र अधिकारसम्पन्न बागमतीसहितको टोली खटिएको छ,’ सीडीओ पौडेलले भने ।

उनका अनुसार, सरकारी टोलीले भेरिफाइ गरेपछि के गर्ने भन्ने टुंगो लाग्नेछ ।

‘फिल्डमा भेरिफाइ हुँदैछ । टोलीले हेर्छ, अनि रिपोर्टिङ गर्छ । त्यसपछि के गर्ने भन्ने निर्णय गर्छौं,’ उनले भने ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस