
काठमाडौँ , ०५ साउन। कपिलवस्तुमा प्रहरीले अवैध सिसौ (सिसम) काठ बरामद गरेको छ । सोमबार बिहान करिब १० बजे काठसहित घटनामा संलग्न रहेको आरोपमा स–मिलका सञ्चालक ५२ वर्षीय कृष्णनगर–२ बस्ने मक्सुदन शाहलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार विजयनगर गाउँपालिका–७ गेरुवाजोतदेखि भारतको परसरामपुर जाने सडक खण्डअन्तर्गत नेपालतर्फ रहेको निशा तथा काठ मिल उद्योगमा छापा मारेको थियो ।
उक्त क्रममा लुकाइछिपाई राखिएको ७ वटा साइकलसहित ९ वटा सिसौ काठका गोलिया फेला पारेको हो । बरामद गरिएको काठ करिब ११० क्युबिक फिट रहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।
बरामद काठसहित नियन्त्रणमा लिएका स–मिल सञ्चालकलाई समेत आवश्यक कारबाहीको लागि सव– डिभिजन वन कार्यालय ठकुरापुर पठाइएको जनाइएको छ । यस घटनाबारे थप अनुसन्धान भइरहेको गणेशपुरका प्रहरी निरीक्षक महेश आचार्यले जानकारी दिए ।
