विदेशबाट मतदान गराउने व्यवस्थाबारे पाँच मोडल प्रस्ताव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १२, मंगलबार (१० घण्टा अघि)
  • ३४ पटक पढिएको
विदेशबाट मतदान गराउने व्यवस्थाबारे पाँच मोडल प्रस्ताव

काठमाडौँ, १२ साउन। प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अवसर उपलब्ध गराउन सकिने पाँच सम्भावित मोडल प्रस्ताव गरेका छन् ।

संसदीय सुनुवाइ समितिमा मंगलबार भइरहेको सुनुवाइका क्रममा प्रस्तुतीकरण गर्दै वाग्लेले आउट अफ कन्ट्री (ओभरसिज) भोटिङ का लागि अपनाउन सकिने पाँच ढाँचा प्रस्तुत गरेका हुन् ।

निर्वाचन आयोगबाट उपन्यायाधिवक्ताका रूपमा अवकाश पाएका वाग्लेले विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन कानुनी व्यवस्था आवश्यक रहेको पनि बताए । उनका अनुसार प्रारम्भिक चरणमा मिश्रित (हाइब्रिड) मतदान प्रणाली लागू गर्नु उपयुक्त हुने उनको धारणा छ ।

वाग्लेले प्रस्तुत गरेका पाँच सम्भावित मतदान मोडल यस्ता छन्–

१. मतपेटिकामा आधारित मतदान

यस प्रणालीमा मतदाता विदेशस्थित नेपाली दूतावास वा तोकिएको मतदान केन्द्रमा स्वयं उपस्थित भएर मतदान गर्छन् । उनका अनुसार यो विश्वभर सबैभन्दा बढी प्रयोग हुने विधि हो । यसका लागि धेरै प्राविधिक तयारी आवश्यक नपरे पनि व्यवस्थापन जटिल हुने र खर्चसमेत बढी लाग्ने उनले बताए । ब्राजिल, फ्रान्स, दक्षिण अफ्रिका र मेक्सिको लगायतका मुलुकले यो प्रणाली अपनाउँदै आएका छन् ।

२. हुलाकमार्फत मतदान

यस विधिअनुसार विदेशमा रहेका मतदाताको ठेगानामा हुलाकमार्फत मतपत्र पठाइन्छ । मतदाताले मतदान गरेर फिर्ता पठाएको मतपत्र मतगणनामा समावेश गरिन्छ । वाग्लेका अनुसार आफ्ना नागरिक विभिन्न देशमा छरिएर रहेका मुलुकका लागि यो प्रणाली उपयोगी मानिन्छ । कम लागतमा सञ्चालन गर्न सकिए पनि मतपत्र समयमै प्राप्त हुने र हुलाक सेवाको विश्वसनीयतामा यसको सफलता निर्भर रहने उनले बताए । बंगलादेशले हालै सम्पन्न निर्वाचनमा यो विधि प्रयोग गरेको तथा अष्ट्रेलिया, क्यानडा, जर्मनी र सिंगापुर लगायतका देशले पनि यसको अभ्यास गर्दै आएको उनले उल्लेख गरे ।

३. प्रतिनिधिमूलक मतदान

यस प्रणालीमा विदेशमा रहेका मतदाताले आफ्नो तर्फबाट मतदान गर्न प्रतिनिधि तोक्न सक्छन् । तोकिएको प्रतिनिधिले सम्बन्धित मतदाताको तर्फबाट मतदान गर्ने व्यवस्था रहनेछ ।

४. इन्टरनेटमार्फत मतदान

वाग्लेले यसलाई प्राविधिक रूपमा उन्नत विधिको रूपमा प्रस्तुत गरे । उनका अनुसार यो प्रणाली लागू गर्न सके विदेशमा रहेका नेपाली मात्र होइन, अन्तरजिल्ला मतदानका लागि पनि उपयोगी हुन सक्छ । तर साइबर सुरक्षा, मतदानको निष्पक्षता तथा मतदाताले स्वतन्त्र रूपमा आफ्नो स्वविवेक प्रयोग गरेर मतदान गरेको सुनिश्चित गर्ने जस्ता चुनौती भने रहने उनले बताए ।

५. मिश्रित (हाइब्रिड) मतदान विधि  

यस प्रणालीमा दुई वा दुईभन्दा बढी मतदान विधिको संयोजन गरिन्छ । मतदाताले आफ्नो सुविधाअनुसार विधि छनोट गर्न पाउने भएकाले विश्वव्यापी रूपमा यसको प्रयोग बढ्दो रहेको वाग्लेको भनाइ छ । अष्ट्रेलिया, डेनमार्क, इस्टोनिया, फ्रान्स र बेलायत लगायतका मुलुकमा मिश्रित मतदान प्रणालीको अभ्यास भइरहेको उनले जानकारी दिए ।

यी पाँचवटै सम्भावित ढाँचा प्रस्तुत गर्दै वाग्लेले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न आवश्यक कानुनी व्यवस्था निर्माण गर्नुपर्ने बताए । ‘सुरुवातमा मिश्रित विधि प्रणाली लागू गर्न सकिन्छ भन्ने मेरो धारणा रहेको छ,’ उनले संसदीय सुनुवाइ समितिमा भने ।

ताजा अपडेट

खोजी गर्नुहोस