
काठमाडौ, १३ जेठ। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा उपस्थित भई सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनुपर्ने माग गर्दै विपक्षी दलहरूले सदनमा निरन्तर आवाज उठाएका छन् । प्रधानमन्त्रीलाई अनिवार्य रूपमा उपस्थित गराउन सभामुख डीपी अर्यालले रुलिङ गर्नुपर्ने माग समेत विपक्षी दलहरूको छ ।
मङ्गलवार बसेको प्रतिनिधिसभा बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्रीलाई सदनमा बोलाउन माग गर्दै अवरोध गरेपछि बैठक स्थगित गर्नुपरेको थियो । निरन्तर अवरोधका बिच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कबिन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले एक साताभित्र सदनमा आएर सांसदका प्रश्नको जवाफ दिने जानकारी दिएका छन् ।
‘मैले प्रधानमन्त्रीको सचिवालयसँग पनि यसबिचमा कुराकानी गरेको छु । यो विषय संसद्को वादविवादभन्दा सैद्धान्तिक छलफलबाटै निकास निकालेर परिणाम दिनुपर्ने हो भन्नेमा हामी सबै स्पष्ट छौँ,’ बुर्लाकोटीले भने, ‘त्यसलाई मध्यनजर गर्दै प्रधानमन्त्री सदनमा आउनुहुन्छ र सम्भवतः एक हप्ताभित्रै सांसदका प्रश्नको जवाफ दिनुहुन्छ भन्ने जानकारी गराउन चाहन्छु ।’
सभामुख डीपी अर्यालले पनि प्रधानमन्त्री सदनमा आएर सांसदका प्रश्नको उत्तर दिन तयार रहेको बताएका छन् । ‘प्रधानमन्त्री सदनमा आएर सांसदको प्रश्नको उत्तर दिन तयार हुनुहुन्छ। उहाँ छिट्टै आउनुहुन्छ,’ सभामुख अर्यालले भने ।
उनका अनुसार प्रधानमन्त्री संसद्मा आउन पत्राचारलगायतका प्रक्रिया पूरा गर्नुपर्ने र प्रश्नको जवाफ दिन आवश्यक तयारी गर्नुपर्ने भएकाले केही ढिलाइ भएको हो । ‘सरकारको आफ्नो तयारी होला, प्रधानमन्त्रीको आफ्नै तयारी होला । तयारी पूरा भएपछि उहाँले मलाई मिति दिनुहुन्छ,’ अर्यालले भने, ‘मिति प्राप्त भएपछि सार्वजनिक गर्छु । अहिले प्राप्त जानकारीअनुसार उहाँ छिट्टै सदनमा आएर सदस्यहरूले उठाउने प्रश्नको जवाफ दिनुहुनेछ ।’
प्रधानमन्त्रीको उपस्थितिबारे औपचारिक मिति तय नभए पनि एक साताभित्र सदनमा आउने सङ्केतपछि राजनीतिक वृत्तमा चासो बढेको छ । विपक्षी दलहरूले भने प्रधानमन्त्रीलाई यथाशीघ्र उपस्थित गराउन सभामुखले स्पष्ट रुलिङ गर्नुपर्ने अडान कायम राखेका छन् ।
