
काठमाडौ, १९ जेठ। जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले विभिन्न मुद्दामा अदालतबाट सजाय तोकिएपछि फरार रहेका ६ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको टोलीले फरार प्रतिवादीहरूलाई विभिन्न मितिमा पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये २ जना चोरी मुद्दा, १ जना अभद्र व्यवहार, १ जना लागुऔषध तथा १ जना वैदेशिक कसुर मुद्दामा सजाय पाएका व्यक्ति रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार अभद्र व्यवहारमा २६ दिन सजाय तोकिएका बनेपा ८ बस्ने वर्ष २२ को सुरज काफ्ले, चोरीमा ५ महिना ५ दिन सजाय पाएका बनेपा ११ का वर्ष ३३ को रुपक अधिकारी, वैकिङ कसुर मुद्दामा २ वर्ष कैद तोकिएका चौतारा साँगाचोकगढी ९ घर भई हाल काठमाण्डौ ३२ बस्ने वर्ष २७ का रमेश श्रेष्ठ, लागुऔषध मुद्दामा २ महिना ४ दिन सजाय तोकिएका नमोबुद्द ६ बस्ने वर्ष २६ को अनिल तामाङ भन्ने ईन्द्र लाल तामाङ, चोरी मुद्दामा ५ महिना ३ दिन सजाय तोकिएका बनेपा ८ बस्ने ३७ वर्षीय विवस मानन्धर र ललितपुर उपमहानगरपालिका २० घर भई हाल बनेपा ८ बस्ने वर्ष ३६ को साजन शाक्यलाई पक्राउ गरि काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट ७ दिन म्याद थप गरिएको छ ।
