
वीरगञ्ज, २४ भदौ। बाराको विश्रामपुर गाउँपालिकाका विभिन्न नाकाबाट प्रहरी तथा सशस्त्र प्रहरीको मिलेमतोमा व्यापक रूपमा तस्करी भइरहेको आरोप सार्वजनिक भएको छ । स्थानीय स्रोतका अनुसार गाउँपालिकाका कान्तिपुर, घोडासहन, छतवा, कैलानपुर, मुसहर्वा र बलिरामपुरलगायत क्षेत्रबाट दिन तथा रातको समयमा साइकल र मोटरसाइकल प्रयोग गरी विभिन्न सामान सीमावर्ती क्षेत्र हुँदै ओसारपसार भइरहेको छ ।
स्रोतका अनुसार चकलेट, काजु, हार्डवेयर, लसुन, कपडा, सुर्ती तथा अन्य सामानको तस्करी हुने गरेको छ । तरकारीका बोराभित्र लागुऔषधसमेत लुकाएर ओसारपसार हुने गरेको समेत स्रोतले जनाएको छ । यस्तो गतिविधिमा करिब २० देखि २५ जना व्यक्ति संलग्न रहेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार कपडा, चकलेट, सुर्ती, काजु तथा हार्डवेयरलगायतका सामानको तस्करीमा राजेश साह सोनार, रुपेश साह तुरहा, भूषण पटेल, नाजिर मिया, वीरेन्द्र साह, अमरिता साह सोनार, चन्दन साह कलवार र सुरज पटेललगायतका व्यक्तिहरू संलग्न छन् । स्रोतले उनीहरू तस्करीमा संलग्न रहेको दाबी गरे पनि उक्त आरोपको स्वतन्त्र तथा आधिकारिक पुष्टि हुन बाँकी छ ।
स्थानीय स्रोतका अनुसार मुसहर्वा र बलिरामपुर क्षेत्रबाट निस्कने सामान नगवा हुँदै वीरगञ्जको बसपार्कसम्म पुर्याउने गरिएको छ । त्यस्तै, कान्तिपुर र कैलानपुरबाट निस्कने सामान चिलझप्टी हुँदै गण्डक नहरको बाटो प्रयोग गरी गण्डक क्षेत्रसम्म लैजाने गरिएको छ ।
घोडासहन र छतवा क्षेत्रबाट निस्कने सामान फेटा हुँदै पर्सौनीतर्फ लैजाने र त्यहाँबाट विभिन्न स्थानमा पठाउने गरिएको छ । यसरी गाउँपालिकाका विभिन्न क्षेत्रबाट छुट्टाछुट्टै रुट प्रयोग गरी सामान ओसारपसार हुने गरेको छ ।
तस्करीमा प्रहरी तथा सशस्त्र प्रहरीका विभिन्न युनिटका कर्मचारी तथा अधिकारीको मिलेमतो रहेको गम्भीर आरोप स्रोतले लगाएको छ । इलाका प्रहरी कार्यालय गण्डक, छतवा प्रहरी चौकी, बलिरामपुर प्रहरी चौकी तथा सशस्त्र प्रहरीको बीओपी बरैनियासहित सम्बन्धित सुरक्षा निकायका अधिकारीको संरक्षणमा तस्करी भइरहेको दाबी गरिएको छ ।
स्रोतले इलाका प्रहरी कार्यालय गण्डकका प्रहरी निरीक्षक सुमन लामा, बीओपी बरैनिया–मुसहर्वाका प्रहरी निरीक्षक गणेश खत्री, छतवा चौकीका सही कृष्ण ठाकुर, सशस्त्र प्रहरीतर्फका सही मनोज यादव तथा बलिरामपुर क्षेत्रका सही मनोज सर्राफको नामसमेत उल्लेख गरेको छ ।
यद्यपि, नाम उल्लेख गरिएका प्रहरी तथा सशस्त्र प्रहरीका अधिकारीहरू तस्करीमा संलग्न रहेको वा उनीहरूको संरक्षणमा तस्करी भइरहेको भन्ने आरोपको स्वतन्त्र पुष्टि हुन सकेको छैन । सम्बन्धित अधिकारीहरूको आधिकारिक प्रतिक्रिया पनि सार्वजनिक हुन बाँकी छ ।
तस्करी नियन्त्रण गर्ने जिम्मेवारी पाएका सुरक्षा निकायमाथि नै गम्भीर आरोप लागेपछि स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन गर्न माग गरेका छन् । विभिन्न ग्रामीण नाका तथा सडकबाट नियमित रूपमा सामान ओसारपसार भइरहेको भए त्यसको निगरानी, बरामद तथा कारबाहीको विवरण सार्वजनिक गर्नुपर्ने उनीहरूको भनाइ छ ।
स्थानीयवासीको अनुसार तस्करीमा सुरक्षा निकायको संलग्नता रहेको हो वा होइन भन्ने विषयमा जिल्ला प्रहरी कार्यालय बारा तथा सशस्त्र प्रहरी बलको सम्बन्धित निकायले स्थलगत अनुगमन र अनुसन्धान गरी वास्तविकता सार्वजनिक गर्न आवश्यक छ ।
साथै, तस्करीमा संलग्न रहेको आरोप लागेका व्यक्ति तथा नाम उल्लेख गरिएका सुरक्षा अधिकारीसँग सम्बन्धित निकायले आवश्यक अनुसन्धान गरी आरोपको सत्यतथ्य सार्वजनिक गर्नुपर्ने मागसमेत उठेको छ ।
