
काठमाडौं, ०३ असार। श्रम संस्कृति पार्टीको निरन्तर विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक अन्तर्गत विभिन्न मन्त्रालयगत छलफल भइरहेको थियो । छलफलका क्रममा मन्त्रीहरूले जवाफ दिइरहेका थिए ।
सो बीचमा श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका सांसद हर्कराज राई साम्पाङले मन्त्रीले जवाफ दिइसकेपछि पनि स्पष्टीकरण सोध्ने प्रयास गरेका थिए ।
तर, उनलाई सभामुख डोलप्रसाद अर्यालले रोके । यद्यपि श्रम संस्कृति पार्टीका सांसदहरूले भने वेल घेराउ गरे ।
त्यसपछि सभामुख अर्यालले कर्तव्य पालना गर्न सचेत गराए ।
‘सभामुखको आदेशको पालना गर्नुपर्ने सबै माननीय सदस्यहरूको कर्तव्य हो । कर्तव्य पालना गर्नका लागि श्रम संस्कृति पार्टीका सबै माननीयहरूलाई सचेत गराउँदछु,’ सभामुख अर्यालले भनेका छन् ।
सभामुख अर्यालले पटकपटक आसनग्रहणका लागि अनुरोध गरे । यद्यपि उनीहरूले अवरोध नरोकेपछि सभामुख अर्यालले बैठक स्थगित गरेका हुन् ।
सभामुख अर्यालका अनुसार, बैठक आजै १५ मिनेटका लागि स्थगित गरिएको हो ।
