संसद्मा गृहमन्त्रीको कडा चेतावनी, प्रश्न नगर्न आग्रह

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २१, बिहिबार (१० घण्टा अघि)
  • ५३ पटक पढिएको
संसद्मा गृहमन्त्रीको कडा चेतावनी, प्रश्न नगर्न आग्रह

काठमाडौं, २१ साउन। बिहीबार राष्ट्रिय सभामा गृहमन्त्री सुधन गुरुङ प्रश्नोत्तर कार्यक्रममा सरिक भए । तर सांसदहरूका प्रश्नको जवाफ दिन रोष्ट्रम उक्लिएका गृहमन्त्री गुरुङले प्रश्नकर्ता सांसदलाई नै प्रतिप्रश्न गरे ।

पहिलो प्रश्न नेपाली कम्युनिस्ट पार्टीका सांसद बिष्णुबहादुर विश्वकर्माले गरे । उनले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषय उठाए ।

‘कञ्चनपुरकी निर्मला पन्तको दिन दहाडै भएको जघन्य बलात्कार र हत्या प्रकरणमा लामो समय बितिसक्दा पनि सरकारले दोषी पत्ता लगाई न्याय दिन नसक्नुको कारण के हो ?,’ विश्वकर्माको प्रश्न छ, ‘यो राज्य संयन्त्रको असक्षमता हो कि कारबाही गर्न नचाहेको उदासीनता हो ? सरकारले हाम्रो चेली निर्मलालाई कहिले सम्म न्याय दिलाउँछ ?’

जवाफमा गृहमन्त्री गुरुङले सरकार शान्ति सुरक्षा कायम गर्नका लागि निरन्तर लागिरहेको बताए ।

देशमा हुने हत्या हिंसा बलात्कार लगायतका अपराधहरूको अनुसन्धान चरणबद्ध रूपमा काम गरिरहेको भन्दै गृह मन्त्रालयको मुख्य विषय के हो ख्याल गर्न सुझाए ।

अनि निर्मला पन्तको विषयमा किन प्रश्न उठाएको भनेर प्रश्नकर्ता सांसद विश्वकर्मालाई नै प्रतिप्रश्न गर्न थाले ।

‘माननीयज्यूले उठाउनु भएको विषय एकदमै सेन्सिटिभ छ । यो प्रश्न म हजुरलाई पनि गर्न चाहन्छु, हजुरहरू सत्तामा हुँदा खेरि किन नगर्नु भएको यो ?’

आफू सरकारका हुँदा काम नगर्ने अनि नयाँ सरकार बनेपछि विषय उठाएर यो विषय उठाएर घाउलाई कोट्टाउने काम किन गरेको भनेर गृहमन्त्रीले अर्को प्रश्न गरे ।

‘अहिले हामीलाई आएर त्यो भारी बोकाउदै गर्दा खेरि माननीयज्यूलाई एउटा आग्रह गर्न चाहेँ, यो एकदम सेन्सिटिभ विषय हो । यो सेन्सिटिभ विषयलाई हामीले जहिले पनि त्यो एउटा आमाको घाउलाई कोट्याको कोट्याइ गर्ने हो कि सदनको मार्फत उहाँलाई पीडा दिई राख्ने हो ?’

यसमा चरणबद्ध रूपमा सूक्ष्म तरिकाले अनुसन्धान गरेर रिजल्ट दिनुपर्ने भन्दै फेरि प्रश्न गरे, ‘तपाईं कोही मान्छे बित्दै गर्दा खेरि त्यसबारे दिनका दिन सम्झाउँदा, राष्ट्रिय स्तरबाट सम्झाउँदा तपाईंलाई मजा आउँछ होला त ? तपाईंलाई मनमा शान्ति हुन्छ होला त ? यो पनि म हजुरलाई प्रश्न गर्न चाहन्छु ।’

प्रतिप्रश्न पछि गृहमन्त्री गुरुङले वर्तमान सरकारले पनि यो विषयमा अनुसन्धान गरिरहेको जवाफ दिए ।

‘यसमा म धेरै कुरा बोल्न सक्दिन । बोल्दा उचित हुँदैन होला जस्तो लाग्छ । यो अनुसन्धानको विषय हो यो, यसमा हामीले सूक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छौ,’ उनले भने ।

यत्ति भनेर गृहमन्त्री गुरुङले सांसदहरूलाई यो विषयमा फेरि प्रश्न नउठाउन चेतावनी दिए ।

‘म सम्पूर्ण माननीयज्यूहरूलाई यसलाई (निर्मला पन्तको हत्यापछि बलात्कार भएको विषयलाई) अब प्रतिनिधिसभा र राष्ट्रिय सभामा यो प्रश्न नउठाइदिनु हुन म विनम्र अनुरोध आग्रह गर्न चाहन्छु,’ गुरुङले भनेका छन् ।

बरु आफूलाई व्यक्तिगत रूपमा भेटेर सुझाव दिन उनको आग्रह छ ।

‘कुनै विषय छ भने मलाई व्यक्तिगत रूपमा आएर सोध्नु होला । माननीय मन्त्रीज्यू के भइराछ ? कसो छ भनेर सोध्दा खेरि पनि फरक पर्दैन ।’

त्यस्तो अवस्थामा जवाफ दिने भन्दै उनले थपे, ‘त्यसको उत्तर मसँग छ । तर मैले जहिले पनि यसरी गरेर एउटा आमाको पिडामाथि मल्हम लगाउनुको साटो बारम्बार यहाँ सदनमा बसेर उहाँको छोरीको सम्झनालाई कोट्याइराख्न राख्न मेरो नैतिकताले दिँदैन ।’

रोष्ट्रमबाट प्रश्न नगर्न चेतावनी दिएका गृहमन्त्री गुरुङले रोष्ट्रम बाहिर प्रश्न गर्दा भने विस्तृत जानकारी दिन सक्ने दोहोर्‍याए ।

उनले भनेका छन्, ‘माननीयज्यू माफी पनि माग्न चाहन्छु यसको बारेमा मैले राम्रोसित उत्तर दिन सक्दिन होला । तर हजुरले एकछिन पछि मलाई सोध्दा खेरि म यसको बारेमा विस्तृत जानकारी दिन सक्छु । सबै माननीयज्यूहरूलाई यो रिक्वेस्ट गरिरहेको छु ।’

गृहमन्त्री गुरुङले सांसद विश्वकर्माको अर्को प्रश्न पनि पन्छाए ।

सांसद विश्वकर्माले सोधका थिए, ‘युवाहरूलाई स्वरोजगार बनाउन शिक्षा स्वास्थ्यमा पहुँच पुर्‍याउन देश भित्रै उद्यमी बनाएर सुन्दर भविष्य देखाउन सक्नु पर्दथ्यो । यसको लागि सरकारी लगानी तथा बजेटको व्यवस्था कसरी गर्नु भएको छ ?’

गृहमन्त्रीले जवाफ दिए, ‘यो मेरो मेरो मन्त्रालयको विषयमा छैन विषयवस्तुमा केन्द्रित हुनु पर्ला ।’

त्यसपछि सभाध्यक्ष दाहालले प्रश्नोत्तर सकाए । अनि गृहमन्त्री गुरुङलाई आसन ग्रहण गर्न अनुरोध गरे ।

यसअगाडि गृहमन्त्री गुरुङले एउटा प्रश्नको भने जवाफ दिएका छन् ।

सांसद विश्वकर्माले नेपालमा बेरोजगारी र गरिबीका कारण युवाहरूमा निराशा बढिरहेको र आत्मदाह आत्महत्या जस्तो भयावह स्थिति देखा परेको भन्दै यसलाई रोक्न सरकारले के-कस्ता नीति कार्यक्रमहरू निर्माण गरिरहेको छ भनेर सोधेका थिए ।

जवाफमा गृहमन्त्री गुरुङले यो विषयमा काम गर्न तीन तहमा सरकार रहेको र तीन वटै तहको सरकारले मिलेर काम गर्नुपर्नेमा जोड दिए ।

‘यसको बारेमा चाहिँ हाम्रो तिन तहको सरकार मिलेर काम गर्नु पर्ने हुन्छ’ उनले भने, ‘यो अवस्य पनि मेन्टल हेल्थको कुरा छ । यसमा हामीले तिनै तहको सरकारहरू मिलेर समन्वय गरेर काम गर्ने गरी एउटा प्लानिङ गरिरहेका छौं ।’

साथै गृहमन्त्री गुरुङले युवाहरूलाई हरेस नखान आपिल गरे । ‘हरेस खानु चाहिँ हुँदैन रहेछ । हामीले जीवनमा जति दुख पायौ भने पनि त्यो संघर्ष गरिराख्नु पर्छ,’ उनले भने, ‘हाम्रो संस्कारले पनि हामीलाई सिकाएको कुरा त्यही नै हो, कहिल्यै हरेस नखानु ।’

उनी थप्छन्, ‘दु:ख नभएको त मान्छे नै हुँदैन यो संसारमा । तर त्यो दुःखलाई हामीले अपनत्व गरेर अगाडि बढ्नुपर्छ ।’

मेन्टल हेल्थका लागि आवश्यक काम सरकारले गर्ने प्रतिबद्धता जनाउँदै उनले युवाहरूलाई खेलकुदहरूमा केन्द्रित गर्ने लगायतका योजना पनि सुनाए ।

सांसद्को विधायकी अधिकार के हो ?

सभाध्यक्ष नारायण दाहालले प्रश्नकर्ता सांसद विश्वकर्मालाई पूरक प्रश्न गर्न समय दिए ।

तर उनले पूरक प्रश्न गरेनन् । बरु आफ्नो विधायकी अधिकार हनन भएको भनेर ध्यानाकर्षण गरे ।

‘मन्त्रीज्यूले बोल्दै गर्दा मेरो विधायकी अधिकार हनन भएको मैले महसुस गरेको छु । मैले प्रश्न गर्ने र मन्त्रीज्यूले उत्तर दिने यो हाम्रो नैसर्गिक अधिकार हो । हाम्रो संसदीय प्रणालीमा भइरहने कुरा हो,’ उनले भने, ‘मैले प्रश्न गर्न पाउनु पर्छ र मन्त्रीज्यूले उत्तर दिनै पर्दछ । यो बाध्यताको कुरा हो ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकार सरकार गठन भएको सवा चार महिना भइसकेको उल्लेख गर्दै सांसद विश्वकर्माले निर्मला पन्तको हत्या भएको विषयमा छानबिन तथा अनुसन्धान समिति लामो समय सम्म निष्कर्षमा नपुग्नु दुःखको कुरा भएको बताए ।

अनि पूरक प्रश्न गरे, ‘अबको कति महिना, कति दिन भित्र हाम्रो चेली निर्मलाले न्याय पाउँछिन् ?’

यसपछि सभाध्यक्ष दाहालले जवाफका लागि समय नदिँदै गृहमन्त्री गुरुङले जवाफ दिए, ‘हुन्छ म यसको उत्तर दिन चाहँदिन ।’

सभाध्यक्ष दाहाल ‘माननीय गृहमन्त्री …’ भन्दै थिए गृहमन्त्रीले दोहोर्‍याए, ‘म यसको उत्तर दिन चाहँदिन ।’

संसद्‌मै प्रतिरोध

गृहमन्त्रीले सांसद्का प्रश्नको जवाफ दिन्न भनेपछि संसद्‌मै प्रतिरोध भएको छ ।

प्रश्नोत्तरपछिको कार्यसूचीमा बोल्दै नेपाली कांग्रेसको राष्ट्रिय सभामा संसदीय दलकी नेता कमला देवी पन्तले मन्त्रीले जवाफ दिन्न भनेको विषयप्रति व्यङ्ग्य गरिन् ।

मनसुनजन्य विपद्‌मा सरकारको पूर्व तयारीबारेको ध्यानाकषर्ण प्रस्तावमाथिको छलफलमा बोल्दै उनले भनिन्, ‘मन्त्रीज्यूले अब के भन्नुहोला भन्ने डर लाग्यो । किनभने मनसुन जान लागिसक्यो । यति ढिलो प्रस्ताव किन ल्याएको ? भनेर भनिदिनुहोला भन्ने डर लाग्यो ।’

नेपाली कम्युनिस्ट पार्टीकी सांसद मदन कुमारी शाह गरिमाले गृहमन्त्री गुरुङको शैली शोभनीय नरहेको बताइन् ।

उनले भनेकी छन्, ‘प्रश्नको उत्तर दिने क्रममा माननीय गृहमन्त्रीज्यूले जुन शैलीमा, जुन भाषामा आफूलाई यहाँ प्रकट गर्नुभयो । यसप्रति म साह्रै दुःख प्रकट गर्न चाहन्छु, असहमति जनाउन चाहन्छु ।’

शाहका अनुसार सोध्ने, प्रश्न गर्ने सांसदको अधिकार हो । त्यसप्रति जवाफदेही हुने सरकारको कर्तव्य हो ।

‘संसद्मा छलफल गर्दा फेरि भन्न सक्नुहुन्छ तिमीहरूले हिजोका दिनमा के गर्‍यौ ? भनेर । यस्तो प्रश्न आउन पनि सक्छ’ उनले थपिन् ।

विगतमा सरकारले गरेका कामका आधारमा अहिले सुविधा र प्रविधिको प्रयोग भइराखेकामा ख्याल गर्न आग्रह गरिन् । विगतका सरकारले जति गर्नुपर्ने थियो त्यति गर्न नसकेको हुन सक्ने भन्दै उनले फरक र नयाँ ढंगले काम गर्नका लागि निर्वाचनमार्फत रास्वपालाई बलियो बनाएर पठाएको स्मरण गराइन् ।

मन्त्रीलाई संसद्मा सत्तारुढ पार्टीका सांसदले समेत प्रश्न गर्ने गरेको ख्याल गर्न पनि उनले आग्रह गरिन् ।

‘विगतमा हाम्रो पार्टीको सरकार हुँदा पनि हामीले यसै गरी प्रश्न सोध्ने गरेका थियौं’ उनले भनिन्, ‘सरकार जसको भए पनि हामी सांसद्को हैसियतले प्रश्न सोधिरहने छौं ।’

नेकपा एमालेका सांसद सोमनाथ पोर्तेल जुन मानसिकताका साथ संसद्मा आफू उपस्थित भएको हो त्यो खलबलिएको र आफू परिवर्तन हुन पुगेको बताउँछन् ।

सांसद पोर्तेल थप्छन्, ‘मन्त्री ज्यूले फेरि भनिहाल्नुहुन्छ, गत वर्ष तिमीहरूको सरकार थियो, त्यो बेला पनि यस्तै विपद् भएको थियो । अघिल्लो वर्ष पनि यस्तो भएको थियो ।’

अन्तिममा मागे माफी

आफ्नो अभिव्यक्तिलाई लिएर आफ्नै अगाडि तुरुन्तै सांसदहरूले प्रतिरोध गरेको गृहमन्त्री गुरुरूले सभामै बसेर सुनिरहे ।

आफू संसद्‍मा विपद् व्यवस्थापनको पूर्वतयारीबारे बोल्न भनेर आएको तर निर्मला पन्तको विषय आएपछि आफू पन्छिएको प्रष्टीकरण दिए । तर गृहमन्त्री गुरुङले मन्त्रीसँगै प्रश्नोत्तर कार्यक्रममा आएका प्रश्न पन्छाएका हुन् ।

अनि अनुसन्धानमा रहेको फाइलको विषयलाई गोप्य राख्नुपर्ने ध्ययका साथ आफू प्रस्तुत भएको बताए ।

‘जवाफ नदिन खोजेको होइन । तर अनुसन्धानको विषयमा यहाँ सदनमा बसेर बोल्नु हुँदैन । जुन कुरामा रिजल्टै आएको छैन’ उनले प्रष्टकीरण दिँदै भने, ‘जवाफमा अलिकति मेरो रुखो बोली भयो होला मेरो तर्फबाट । यसको लागि क्षमा पनि माग्न चाहन्छु ।’

आफू सिक्न तयार रहेको र सिक्दै गरेको भनेर पनि विषय राखे ।

‘हजुरहरूबाट हामीले धेरै सिक्न बाँकी छ । सिक्दै जानेछौं । मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो,’ गृहमन्त्री गुरुङले भनेका छन्, ‘यसका लागि म क्षमाप्राथी पनि छु । हजुरहरूलाई माफी पनि माग्न चाहन्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस