सभामुखको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि : विपक्षीको नाडी छाम्ने काम नगरियोस्

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ २९, सोमबार (१ घण्टा अघि)
  • ३७ पटक पढिएको
सभामुखको भूमिकाप्रति कांग्रेसको असन्तुष्टि : विपक्षीको नाडी छाम्ने काम नगरियोस्

काठमाडौं, २९ असार। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद अर्यालको भूमिका निष्पक्ष र समन्वयकारी हुन नसकेको आरोप लगाएका छन् ।

सोमबार सिंहदरबारमा सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता आङदेम्बेले यस्तो आरोप लगाएका हुन् ।

सभामुख अर्याललाई विपक्षी दलहरूको नाडी छाम्ने प्रयास नगर्न समेत उनले चेतावनी दिए ।

सभामुख कुनै पनि दलको सदस्य नभएको स्मरण गराउँदै उनले सभामुखले संसद्‍भित्र आफ्नो भूमिका कस्तो हुनुपर्छ भन्नेकुरा बुझ्न आवश्यक रहेको पनि बताए ।

नेता आङ्देम्बेले संसद्‍मा कुनै पनि विषयलाई लिएर विपक्षी दलहरूले विरोध जनाउँदा सबैको तर्फबाट एक जनाले विचार राख्नुपर्ने सभामुखको मनाशय हुने गरेकोप्रति समेत असन्तुष्टि जनाए ।

उनले सबै दलका प्रतिनिधिले संसद्‍मा आफ्नो धारणा राख्न पाउनुपर्ने बताए ।

सत्तापक्षको तर्फबाट सदनमा बारम्बार विवादित अभिव्यक्ति सार्वजनिक हुँदाहुँदै पनि प्रतिपक्षले दैनिक कार्यसूची सञ्चालनमा सहयोग गरेको विषयलाई कमजोरीको रूपमा नलिन समेत उनको चेतावनी थियो ।

उनले भने, ‘संसद्‍मा विरोध जनाएपछि पछि विपक्षी दलहरू सबैले बोल्न पाउनुपर्‍यो । यो नाडी छाम्ने काम गर्नुहुँदैन संसद्‍भित्र । सदन सञ्चालन गर्नुहुने सभामुखज्यूले आफ्नो भूमिका बुझ्नुपर्छ । उहाँ अहिले कुनै पार्टीको हुनुहुन्न । यो कुरा बुझेर अगाडि बढ्नुभयो भने सजिलो हुन्छ ।’

उनले अगाडि भने, ‘संसद्‍मा जे जस्तो खालको अभिव्यक्तिहरू आउने गरेका छन् । त्यसमा पनि प्रतिपक्षले दैनिक कार्यसूचीलाई सञ्चालन गर्नको निम्ति जुन सहृदयता देखाएको छ यसलाई कमजोरी नठानिकन मित्रवत् सम्झिनुपर्छ । किनभने त्यो सबै कुरा मुलुकलाई केन्द्रमा राखेर गरिएको हो ।’

सत्तापक्षले विपक्षी दलहरूसँग समन्वय नगर्दा सदनमा समस्या सिर्जना भइरहेको उनको बुझाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस