
काठमाडौं, ११ असार। सरकारले चिया उद्योगीका समस्या समाधान गर्न विशेष कार्यदल गठन गरेर आश्वासन दिएसँगै बन्द रहेका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन् ।
भारतले चिया निर्यातमा खडा गरेको अवरोधका कारण असार १ र ४ गतेदेखि बन्द भएका झापा र इलामका चिया उद्योगहरू खुल्न थालेका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को सचिवालयले निर्यातको समस्या समाधानका लागि उच्चस्तरीय कार्यदल गठन गर्दै आश्वासन दिएपछि बिहीबारदेखि झापाका ३० वटा सीटीसी चिया उद्योगहरू पुनः सञ्चालनमा आएको नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिव गुप्ताले जानकारी दिए ।
उनले सरकारले माग सम्बोधन गर्न तदारुकता देखाएपछि उद्योगहरू सञ्चालन गर्ने निर्णय गरिएको बताए । ‘सरकारले एउटा विशेष कार्यदल गठन गर्यो, मन्त्रीस्तरमा कुरा हुँदा उहाँहरूले यसमा छिट्टै पहल गर्छौं भनेपछि हामीले उद्योग खोलेका हौं,’ वरिष्ठ उपाध्यक्ष गुप्ताले भने ।
झापाका उद्योगहरू सञ्चालनमा आएसँगै पहाडी जिल्लाका चिया उद्योगहरू पनि खुल्ने क्रममा रहेको उपाध्यक्ष गुप्ताले बताए । ‘झापामा खुलिसक्यो, पहाडका पनि खुल्दै छन्,’ उनले भने, ‘आजदेखि वा भोलिदेखि नै खुल्छ ।’
केही चिया उद्योगी काठमाडौंमा
चिया क्षेत्रमा देखिएका समस्या समाधान गर्न प्रधानमन्त्रीको सचिवालयले विभिन्न मन्त्रालय र विभागका प्रतिनिधि सम्मिलित एक कार्यदल बनाएको छ । उक्त कार्यदललाई दुई हप्ताभित्र तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानका उपायसहितको प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।
अहिले कार्यदलसँग छलफलका लागि झापा र इलामका चिया उद्योगीहरू काठमाडौंमा छन् । उनीहरूले सरोकारवाला निकायहरूसँग छलफल गरिरहेका छन् ।
उक्त कार्यदलमा प्रधानमन्त्री कार्यालय, अर्थ, गृह, परराष्ट्र, र कृषि मन्त्रालयका साथै भन्सार, खाद्य प्रविधि, नापतौल विभाग र चिया विकास बोर्डका उच्च अधिकारीहरू (उपसचिव र निर्देशक स्तरका) सहभागी छन्। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिवलाई कार्यदलको सदस्य सचिवको जिम्मेवारी दिइएको छ ।
किन बन्द भएका थिए उद्योग ?
१८ वैशाखदेखि भारतको चिया बोर्डले नेपाली चियाको गुणस्तर परीक्षणका नाममा नयाँ मापदण्ड ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागु गरेपछि नेपाली चिया निकासी प्रभावित बनेको थियो ।
नयाँ नियमअनुसार भारत जाने प्रत्येक चियाको गाडीले अनिवार्य प्रयोगशाला परीक्षण गराउनुपर्ने, जसको रिपोर्ट आउन करिब १५ दिन लाग्ने र प्रति गाडी ११ हजार ५ सय भारु शुल्क तिर्नुपर्ने अव्यावहारिक नियम थोपरिएको थियो । यसले गर्दा २१ दिनसम्म चिया निकासी पूर्ण रूपमा रोकिएको थियो ।
नेपालको तर्फबाट तीव्र विरोध भएपछि भारतीय पक्षले प्रत्येक ट्रकको सट्टा ‘र्यान्डम स्याम्पलिङ’ मात्र गर्ने लिखित सहमति जनायो, जसले दुई दिनसम्म निर्यात चल्यो ।
तर, पछि फेरि भारतीय अधिकारीहरू निर्यातकर्ताको गोदाममै गएर नमुना संकलन गर्ने र रिपोर्ट नआएसम्म चिया नउठाउन निर्देशन दिएपछि निकासी पुनः ठप्प भयो । यही अवरोधले गर्दा उद्योगीहरू उद्योग बन्द गर्न बाध्य भएका थिए ।
करिब सयवटा उद्योग बन्द हुँदा बगानमा हरियो चियापत्ती हुर्किएर घाँस बन्ने अवस्था आएको थियो । यसबाट दैनिक करिब दुई करोड रुपैयाँको नोक्सानी भइरहेको थियो भने १ लाखभन्दा बढी मजदुर र ३० हजार किसान प्रत्यक्ष मारमा परेका थिए ।
संघको तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा करिब २ करोड किलोभन्दा बढी सीटीसी र ६५ लाख किलो अर्थोडक्स चिया उत्पादन हुने गर्छ ।
संघका वरिष्ठ उपाध्यक्ष गुप्ताका अनुसार किसानको चियापत्ती नष्ट भएर करोडौंको घाटा लाग्ने अवस्था आएको र सरकारले पनि समस्या सुल्झाउने ठोस आश्वासन दिएकाले तत्काललाई उद्योग खोलेर हरियो पत्ती प्रशोधन गर्ने निर्णय गरिएको हो । तर, निर्यात सहज नभएसम्म उत्पादित चिया गोदाममै भण्डारण गरेर राखिनेछ ।
