
काठमाडौँ, ११ साउन। संघीय संसद् अन्तर्गतको प्रतिनिधि सभाले असार १५ गतेपछि आफ्नो पाक्षिक कार्यतालिका सार्वजनिक गरेको छैन । असार ३१ गतेपछि प्रतिनिधि सभाको बैठक साउन ४ गतेसम्मका लागि स्थगित गरिएको थियो । सोमबार साउन ११ गते भइसक्दा पनि बैठकका एजेण्डा के हुन् भन्ने निर्क्यौल भइसकेका छैनन् ।
संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले असार १५ गतेदेखि अहिलेसम्म गर्नैपर्ने काम रहेकाले सम्भावित कार्यतालिका नबनाएको जानकारी दिए ।
‘विनियोजन विधेयकसम्बन्धी काम तत्काल गर्नैपर्ने काम थियो । त्यो बाहेक प्रतिस्थापन विधेयक संविधानले तोकेको समयसीमाभित्र पारित गर्नुपर्ने अवस्था थियो,’ प्रवक्ता गिरीले रातोपाटीसँग भने, ‘यस्तो म्याण्डेटोरी अवस्थामा क्यालेण्डर भन्दा पनि तत्कालीन कार्यचाप तथा समयसीमाभित्र सक्नेगरी कार्यसम्पादन गर्नुपर्ने अवस्था भएकाले कार्यतालिकाको खासै आवश्यकता पर्दैनथ्यो ।’
प्रवक्ता गिरीले आउने दिनहरूमा सम्भाविक कार्यतालितका बनाएरै उपलब्ध गराउने बताए ।
विपक्षीहरू र सम्बद्ध पक्ष भने सरकारले आवश्यक बिजनेस उपलब्ध नगराउँदा प्रतिनिधि सभाले क्यालेण्डर बनाउन नसकेको बताउँछन् । ‘सरकारले सदनलाई बिजनेस नै उपलब्ध गराएको छैन । बिजनेस नपाएपछि कसरी कार्यतालिका बनाउनु ?’ संघीय संसद् सचिवालयका एक अधिकारीले रातोपाटीसँग भने, ‘१६६ विधेयक ल्याउने योजना सरकारका तर्फबाट सदनमा जानकारी गराइएको थियो, तर त्यो अनुसारका कुनै विधेयक अहिलेसम्म आइपुगेका छैनन् ।’
प्रतिनिधि सभाले यसअघि गत वैशाख २८ देखि ३१, जेठ १ देखि जेठ ३१ र असार १ देखि असार ८ सम्म क्यालेण्डर बनाएको थियो । त्यसपछि भने क्यालेण्डर नबनाइएको गिरी बताउँछन् । १४ गतेदेखि प्रतिनिधि सभा बैठक सुरु हुने भए पनि अहिलेसम्म क्यालेण्डर बनाउने विषयमा कुनै छलफल भएको छैन ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाका अनुसार विपक्षी दलहरूले यसअघि कार्यव्यवस्था परामर्श समितिमा क्यालेण्डर बनाउने प्रस्ताव राखे पनि सभामुख र संघीय संसद् सचिवालयले चासो दिएनन् ।
‘हामीले संसद्को पाक्षिक क्यालेण्डर बनाउँ भनेर कार्यव्यवस्था परामर्श समिति बैठकमा प्रस्ताव राखेका थियौँ,’ प्रमुख सचेतक थापाले रातोपाटीसँग भनिन्, ‘सभामुख र संघीय संसद् सचिवालयले चासो दिएनन् । १४ गते बैठक बस्ने दिन आइसक्यो । अहिलेसम्म यसबारे कुनै छलफल भएको छैन ।’
उनले प्राकृतिक विपत्तिले मुलुकभर क्षति पु¥याए पनि त्यसबारे कसरी अगाडि बढ्ने, सरकारलाई कस्तो निर्देशन दिने भन्ने विषयमा पनि सभामुख र सचिवालयले चासो नदिएको बताइन् ।
असार १५ गतेपछि प्रतिनिधि सभाका ७ बैठक क्यालेण्डरबिनै बसे । ती बैठकले ४ अध्यादेश प्रतिस्थापन विधेयक र ३ बजेटसम्बन्धी विधेयक पारित गरेका थिए ।
प्रतिनिधि सभा नियमावली २०८३ मा सुव्यवस्थित ढंगले कार्यसम्पादन गर्न कार्य व्यवस्था परामर्श समितिको परामर्शमा कार्यतालिका बनाइ लागु गर्ने उल्लेख छ । तर, सभामुख डोलप्रसाद अर्यालले कार्यतालिका नै नबनाइ सभा चलाइरहेका छन् । प्रतिनिधि सभा नियमावली २०८३ को नियम १५४ मा ‘सभाले सुव्यवस्थित ढंगले कार्यसम्पादन गर्न कार्य व्यवस्था परामर्श समितिको परामर्शमा कार्यतालिका बनाइ लागु गर्नेछ,’ लेखिएको छ । नियम कडा भए पनि विगत एक महिना यता यो व्यवस्था सभामुख अर्यालले पालना गरेको देखिएको छैन ।
यसले नियम र व्यवहारबिच तादम्यता नरहेको देखिन्छ । अहिले संघीय संसद्मा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला, चलचित्र, अभौतिक सांस्कृतिक सम्पदा, राष्ट्रिय सेवा दल, नेपाल विशेष सेवा ऐन पुनःस्थापना र नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयक छन् ।
सरकारले चालु वर्षभित्रै १६६ वटा विधेयक दर्ता गर्ने र सुरुका चार महिनामा ६४ वटा अघि बढाउने प्राथमिकता तोकेको जानकारी कानुन न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सदनको रोष्टमबाटै दिएकी थिएन् । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले १६६ विधेयकको सूची तयार पारेको छ । तीमध्ये धेरैको मस्यौदा नबनेको र बनेका मस्यौदा पनि सम्बन्धित मन्त्रालय र मन्त्रिपरिषद्बाट अगाडि बढ्न नसकेका कानुन मन्त्रालयका एक अधिकृतले जानकारी दिए ।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग सहज बहुमत भएकाले सैद्धान्तिक रूपमा विधेयक तर्जुमा र पारितमा राजनीतिक अवरोध देखिँदैन तर सरकारले विधेयक तयार गरी सदनलाई बिजनेस दिन भने सकेको छैन ।
