
काठमाडौं, ०२ जेठ। तत्कालीन गृहमन्त्री तथा सांसद सुधन गुरुङले आफूविरुद्ध छानबिन समिति बनेको र सरकारले सत्य तथ्य बाहिर ल्याउनेमा आफू ढुक्क रहेको बताएका छन् ।
यदि आफूबाट गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै हालतमा नजोगाउने र कारबाही गर्ने भन्दै उनले आफूले कुनै पनि गलत काम नगरेको दाबी गरे । गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन। हाम्रै श्रम मन्त्रीलाई समेत सरकारले छाडेन भने मलाई त झन् कुनै हालतमा छाड्दैन ।
पहिलेका दलहरूजस्तो यताउति म्यानिपुलेट गरेर ‘वासिङ मेसिनमा धोएर ल्यायो’ भन्ने हाम्रोमा हुँदैन ।” गुरुङले समिति गठन हुनुअघि नै दलका प्रमुख नेताहरूले आफूलाई “कुनै गलत काम त छैन नि ?” भनेर प्रश्न गरेको समेत बताए ।
उनले थपे, “गलत भएको भए तपाईँलाई कारबाही हुन्छ है भनेर अगाडिदेखि नै भनिसक्नुभएको छ । म ढुक्क छु, मेरो कुनै गल्ती छैन ।” यसैबिच, रास्वपा नेतृ एलिजा गुरुङ ले नेपाली उत्पादनमा आधारित महिलाहरूका लागि सञ्चालन गरिएको कपडा पसल “चिनो” को उद्घाटन गरेकी छन् ।
