सरकारसँगै प्रतिपक्षी दलको भूमिकामाथि पनि प्रश्न उठ्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ बैशाख २०, आईतबार (३७ मिनेट अघि)
  • ३६ पटक पढिएको
सरकारसँगै प्रतिपक्षी दलको भूमिकामाथि पनि प्रश्न उठ्दै

काठमाडौं, २० वैशाख। बालेन्द्र (बालेन) शाह नेतृत्वको दुई तिहाइ बहुमत नजिकको सरकारले संसद् छलेर अध्यादेशबाट शासन गर्न लागिएको भन्दै अहिले चौतर्फी आलोचना भइरहेको छ । सरकारको गलत कदमको खबरदारी गर्नुपर्ने विपक्षी दलहरूको भूमिका समेत प्रभावकारी देखिएकोमा प्रश्न उठेका छन् ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख १७ गते प्रतिनिधि सभाको बर्खे अधिवेशन आह्वान गरेका थिए । वैशाख ८ गते बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो ।

राष्ट्रपतिले संसद् अधिवेशन आह्वान गरेको २४ घण्टाभित्रै विशेष कारण देखाउँदै राष्ट्रपति कार्यालयले संसद् अधिवेशन स्थगित भएको सूचना जारी गर्‍यो । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले अधिवेशन स्थगित गरेका थिए ।

आफैँले बोलाउन सिफारिस गरेको संसद् अधिवेशन स्थगित गरेर सरकारले विभिन्न ८ वटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि राजनीतिक वृत्तमा ठुलो तरङ्ग आएको छ । संसदीय इतिहासमै २४ घण्टाभित्र संसद् अधिवेशन स्थगित भएको बिरलै घटना मानिन्छ ।

राष्ट्रपति कार्यालयबाट वैशाख १७ सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश २०८३, सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको थियो ।

यस्तै वैशाख १८ गते सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश २०८३ जारी भयो । वैशाख १९ गते एकैसाथ स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालय सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ जारी भयो ।

संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र केही नेपाल ऐन संशोधन अध्यादेश अध्ययनकै क्रममा रहेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । यी अध्यादेश जारी भएसँगै यसअघि राजनीतिक नियुक्ति पाएका एक हजार पाँच सय ९४ जना पदाधिकारी पदमुक्त हुनेछन् ।

जनताले अत्याधिक मत दिएर जिताएर पठाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकारले संसद् बैठक स्थगित गरी अध्यादेशबाट शासन गर्न खोजेको आरोप छ । अर्कोतिर काठमाडौँ उपत्यकाका विभिन्न नदी किनारामा रहेका सुकुमबासी बस्ती सरकारले दीर्घकालीन व्यवस्था नगरी बल प्रयोग गरी हटाएकोमा पनि विपक्षी दलहरूको प्रभावकारी भूमिका नदेखिएको आरोप लागेको छ ।

सरकारको कदमको चित्त नबुझे विशेष अधिवेशन आह्वानका लागि समावेदन गर्न सक्ने संवैधानिक व्यवस्था छ । संविधानको धारा ९३(३) राष्ट्रपतिले प्रतिनिधि सभाको अधिवेशन चालु नरहेको वा स्थगित भएको अवस्थामा अधिवेशन बोलाउन वाञ्छनीय छ भनी प्रतिनिधि सभाको सम्पूर्ण सदस्यको एक चौथाइ सदस्यहरूले लिखित अनुरोध गरेमा अधिवेशन वा बैठकको मिति र समय तोक्न सक्ने स्पष्ट व्यवस्था छ ।

sasad baithak

विशेषगरी प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, विपक्षी दलहरू नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारको कदमको आलोचना गरे पनि प्रभावकारी भूमिका नदेखिएकोमा प्रश्न उठेको छ । संसदमा विपक्षी दलहरूको संख्या सानो भए पनि मुद्दाका हिसाबले गम्भीर रहेको विषयमा प्रभावकारी उपस्थिति देखाउन सकेका छैनन् । संसदमा कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७ र राप्रपाको ५ गरी कुल ९२ सदस्य छन् । विशेष बैठक बोलाउनका लागि आवश्यक पर्ने एक चौथाइ अर्थात् ६९ सदस्य विपक्षी दलहरूसँग छ । संसद् अधिवेशन स्थगित गर्ने सरकारको कदमविरुद्ध विपक्षी दलहरूले विशेष बैठक बोलाउन राष्ट्रपतिसँग लिखित आह्वान गर्न सक्ने संवैधानिक अधिकार प्रयोग नगरेकोमा प्रश्न उठेको छ ।

यद्यपि प्रमुख प्रतिपक्ष दल कांग्रेसका सचेतक निस्कल राईले विपक्षी दलको तर्फबाट सरकारलाई ध्यानकर्षण गराइराखेको जिकिर गरेका छन् । संसदीय दलको नेता छनोटको विषयलाई लिएर आन्तरिक छलफलमा व्यस्त भएकाले भूमिका कमजोर जस्तो देखिएको उनको भनाइ छ ।

‘संसदीय दलको नेता छनोटको विषयमा हामी आन्तरिक रूपमा अलमलिरहेका थियौँ । त्यसैले भूमिका कमजोरजस्तो देखिएको हो । विपक्षी दलको बैठक बोलाएर हामीले तत्काल संसद् अधिवेशन बोलाउन सरकारको ध्यानकर्षण गराइसकेका छौँ । दलको हिसाबले पनि विज्ञप्तिमार्फत विरोध गरेका छौँ । संसद् अधिवेशन सुरु भएपछि यस विषयमा सशक्त ढंगले प्रस्तुत हुन्छौँ’, रातोपाटीसँग उनले भने ।

एमालेका युवा नेता तथा सांसद सुहाङ नेम्वाङले कम्तीमा तीन महिना सरकारको काम हेर्नुपर्ने धारणा राखे । जनताको काम गर्न छिटो परिणाम निकाल्नका लागि अध्यादेश ल्याएको भए विरोध गर्न आवश्यक नदेखिएको उनको भनाइ छ । यद्यपि काम गर्ने प्रक्रिया नमिलेको विषयमा आफूले सामाजिक सञ्जालमार्फत सरकारको ध्यानाकर्षण गराइराखेको नेम्वाङले जिकिर गरे ।

‘संसद् सुशासनको ढोका हो । ढोका हुँदाहुँदै किन झ्यालबाट सरकार गयो भन्ने प्रश्न हो, तर सरकारले अध्यादेश ल्याउनै पाउँदैन भन्ने होइन । छिटो रिजल्ट दिन पनि अध्यादेश ल्याउन खोजेको हुनसक्छ’, नेम्वाङले भने, ‘अहिले नै सरकारको आलोचना गर्नुभन्दा कम्तीमा तीन महिना कुर्दा राम्रो हुन्छ । प्रक्रियाबाट काम भएमा दीर्घकालीन रूपमा असर गर्दैन भन्ने विषयमा सरकारको ध्यानाकर्षण गराइराखेका छौँ ।’

नेकपाका प्रमुख सचेतक युवराज दुलालले १५ दिनभित्र बजेट अधिवेशन बोलाउनै पर्ने संवैधानिक बाध्यता भएकाले विशेष अधिवेशन बोलाउन आवश्यक नदेखिएको जिकिर गरे । सरकार बनेको दुई महिना नै नपुगेको बेला अहिले नै सडकमा जानु आवश्यक नभएको उनको भनाइ छ ।

‘१५ दिनभित्र बजेट अधिवेशन बोलाउनु पर्ने संवैधानिक बाध्यता छ । यसको मतलब प्रतिपक्ष चुप लागेर बसेको भन्ने होइन । दुई पटक विपक्षी दलहरूको बैठक बोलाएर सरकारको ध्यानाकर्षण गराइसकेका छौँ’, दुलालले भने, ‘संविधान मिच्दै जाने, निरंकुशता लाद्ने काम भइरहेमा विशेष अधिवेशन पनि बोलाउँछौँ । कम्तीमा तीन महिना पूरा नभएसम्म विरोध नगरौँ भनेर हो । सरकार बनेको दुई महिना भएको छैन, अहिले नै सडकमा जानु ठिक हुँदैन ।’

यता श्रम संस्कृति पार्टीका महासचिव तथा सांसद आर्यन राईले सरकार निरंकुशतातर्फ अगाडि बढेको आरोप लगाए । पार्टीका सांसदहरू उपत्यका बाहिर रहेकाले सरकारविरुद्ध प्रभावकारी भूमिका नदेखिएको उनले स्पष्ट पारे । सरकारको गलत कदमका विषयमा संसदको आगामी बैठकमा प्रभावकारी ढंगले प्रस्तुत हुने राईले बताए ।

‘सरकार निरंकुशतर्फ गएको छ । संसद् छलेर अध्यादेश ल्याउन देशमा कुन सङ्कट आइलाग्यो ? राष्ट्रियतामाथि खतरा आइलागेको हो ? सरकार आफ्नै दलभित्र अल्पमतमा परेको हो ?’, उनले प्रश्न उठाउँदै भने, ‘हामी अहिले काठमाडौँ बाहिर छौँ । हामीले सूचना पाए अनुसार वैशाख २१ गते संसद् बैठक बोलाउने भनिएको थियो, तर अहिलेसम्म कुनै जानकारी आएको छैन । आवश्यक परे विशेष बैठक बोलाउने कुरामा पनि हामी पहल गर्छौं ।’

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस