सरकारी खाद्य गोदाममा लापरबाही : मुसाले खाएको चामल नयाँ बोरामा प्याकिङ

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ अषाढ १५, सोमबार (९ घण्टा अघि)
  • ४३ पटक पढिएको
सरकारी खाद्य गोदाममा लापरबाही : मुसाले खाएको चामल नयाँ बोरामा प्याकिङ

काठमाडौं, १५ असार। सरकारी स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, विराटनगरमा गुणस्तरहीन चामल पुनः प्याक गरी बिक्री वितरण गर्न लागिएको फेला परेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगर र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयको संयुक्त अनुगमन टोलीले मोरङ जिल्लामा गरेको स्थलगत निरीक्षणका क्रममा यस्तो लापरबाही फेला पारेको हो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उक्त खाद्य कम्पनीमाथि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

अनुगमनका क्रममा कम्पनीको चामल भण्डारण गोदाममा चरम अस्वस्थकर वातावरण र गम्भीर त्रुटिहरू पाइएका छन् । टोलीले अनुगमन गर्दा मुसाले खाएर डल्ला परेको २५ केजी दरका ३९ बोरा चामललाई कामदारहरूले नयाँ बोरामा पुनः प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारेको थियो । उक्त चामलमा साना–साना डल्ला (चिलिसा) परेको र ती डल्लाभित्र जैविक पदार्थ (किरा वा जीवहरू) समेत फेला परेका थिए । यसका साथै चामलको बोरामा ब्याच नम्बर र मूल्य उल्लेख नगरी बिक्री वितरण भइरहेको, भण्डारण कक्षको तापक्रम अत्यधिक बढी रहेको, गोदाममा सरसफाइको अभाव तथा मुसा नियन्त्रणको प्रभावकारी व्यवस्था नभएको र पूर्ण लेबल विवरणसमेत उल्लेख नगरिएको अनुगमनका क्रममा पाइएको छ ।

यस गम्भीर लापरबाहीपश्चात् अनुगमन टोलीले उत्पादन मिति २०८१ चैत १५ गते र उपभोग्य अवधि २ वर्ष रहेको उक्त २५ केजी दरका ३९ बोरा ‘स्टिम जिरा मसिनो चामल’ लाई अर्को निर्देशन नभएसम्मका लागि बिक्री वितरणमा पूर्ण रोक लगाएको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत डा.बालकुमारी शर्माका अनुसार उक्त चामलको गुणस्तर परीक्षणका लागि प्रयोगशालामा नमुना सङ्कलन गरी पठाइएको छ र परीक्षणको प्रतिवेदन आएपछि थप आवश्यक कानुनी कारबाही अगाडि बढाइनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस