‘सरकार चलाउन सक्नुहुन्न भने छाडिदिनुस्’– बालेनलाई सांसद आरेन राईको सुझाव

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण १४, बिहिबार (१ घण्टा अघि)
  • २४ पटक पढिएको
‘सरकार चलाउन सक्नुहुन्न भने छाडिदिनुस्’– बालेनलाई सांसद आरेन राईको सुझाव

काठमाडौँ, १४ साउन। श्रम संस्कृति पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन शाह मुलुकको वर्तमान परिस्थितिप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै देश चलाउन नसक्ने भए जिम्मेवारीबाट पछि हट्न आग्रह गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै राईले सरकार अहिले बेखबर भएर बस्ने नभई बाहिर निस्किएर सूचना संकलन, जनतासँग संवाद र शान्ति–सुरक्षा कायम गर्न सक्रिय हुनुपर्ने बताए ।

उनले सरकारले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेको टिप्पणी गर्दै देश र जनतालाई ‘टुहुरो’ बनाउने शैली स्वीकार्य नहुने बताए ।

‘यदि प्रधानमन्त्रीले अथवा अहिलेको सरकारले देश चलाउन नसक्ने अवस्था हो भने हात ठडाए हुन्छ । त्यो पाइन्छ, गर्न सकिन्छ,’ सांसद आरेन राईले भने, ‘रास्वपा आज दुई तिहाइको नजिक छ । २ सय ८२ सांसद हुनुहुन्छ, कोही न कोहीले त देश लिड गरेर जाला ।’

सांसद राईले सरकारलाई जिम्मेवारीबाट नभाग्न चेतावनी दिँदै या त सक्रिय रूपमा काम गर्न, नभए देश चलाउन नसक्ने स्वीकार गरेर मार्ग प्रशस्त गर्न आग्रह गरे ।

‘यो ढंगले अभिभावक विहीन बनेर देश चलाउन पाइन्न । देश र जनतालाई यसरी टुहुरो बनाउन पाइन्न,’ सांसद राईले भने, ‘यसकारणले सरकार कि त निस्किनुपर्यो, कि त सक्तिनँ भनेर हात ठडाउन पर्यो ।’

सांसद राईले सुनसरी घटनापछि सर्वदलीय बैठक राखेकामा रास्वपा सभापति रवि लामिछानेको प्रशंसा गरे । सामाजिक सद्भाव कायम गर्न सबै लाग्नुपर्ने र यसको नेतृत्व सरकारले लिनुपर्ने उनले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस