सरल सहयात्री बागमतीको आर्थिक मामिला मन्त्री बन्दै

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ भाद्र ४, बिहिबार (२ हप्ता अघि)
  • ५९ पटक पढिएको
सरल सहयात्री बागमतीको आर्थिक मामिला मन्त्री बन्दै

काठमाडौं, ०४ भदौ। बागमती प्रदेशको आज गठन हुने सरकारमा नेकपाका नेता सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बन्ने भएका छन् ।

सत्ता साझेदार दल नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको सहमतिअनुसार सहयात्रीलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिने तयारी गरिएको हो ।

नेकपाबाट मन्त्री बन्नेमा सिन्धुपाल्चाेकका तत्कालीन नेकपा माओवादी पृष्ठभूमिका सरल सहयात्रीकाे नाम टुंगिएकाे नेकपाका नेता तथा पूर्वमन्त्री रत्नप्रसाद ढकालले जानकारी दिए ।

उनकाअनुसार भागबण्डाअनुसार नेकपाले पाउने अर्काे एक मन्त्रालयमा कसलाई पठाउने भन्नेबारे औपचारिक रूपमा टुंगाे लाग्न बाँकी छ ।

नेकपाले अर्का मन्त्रीमा माधव नेपाल पक्षकी रमा आले मगरलाई पठाउने चर्चा पनि छ । उनी यसअघि युवा तथा खेलकुद मन्त्री भइसकेकी छन् ।

भागबण्डाअनुसार नेकपाले करिब एक वर्षदेखि रिक्त सभामुखसहित २ मन्त्रालय पाएकाे छ ।

सभामुखकाे पनि टुंगाे लगाइनसकेकाे नेकपाभित्र काभ्रेका रत्नप्रसाद ढकालकाे चर्चा छ । यद्यपि, उनले आफू सभामुख बन्ने टुंगाे लागिनसकेकाे र छलफल भइरहेकाे अनलाइनखबरलाई बताए ।

यसअघि राप्रपाबाट सभामुख बनेका भुवनकुमार पाठकले गत भदाैमा जेनजी आन्दाेलनकाे क्रममा सभामुख पदबाट राजीनामा दिएका थिए । त्यस यता सभामुख पद रिक्त छ ।

उपसभामुख अप्सरा चापागाईंले प्रदेशसभा सञ्चालन गर्दै आएकी छन् । उपसभामुखमा चापागाईंले नै निरन्तरता पाउने भएकी छन् ।

यसैगरी एमाले, नेकपा र राप्रपाबीच बुधबार टुंगिएकाे मन्त्रालय भागबण्डामा पनि हेरफेर गर्नुपर्ने विषय दलभित्र उठिरहेकाे छ ।

नेकपाले दाबी गरिरहेकाे खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा राप्रपाले पनि दाबी गरेकाे छ । नेकपा सांसद ढकालका अनुसार खानेपानी मन्त्रालय वा उद्योग, पर्यटन मन्त्रालयमध्ये एउटा नेकपाले पाउनुपर्ने दाबी गरिएकाे हाे ।

एमाले सांसद तथा प्रदेश सभाकाे उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठका अनुसार यसअघि एमालेले मुख्यमन्त्रीसहित २ वटा मन्त्रालय, नेकपाले सभामुखसहित २ वटा मन्त्रालय र राप्रपाले ३ वटा मन्त्रालय लिने सहमति भएकाे थियाे ।

एमालेले मुख्यमन्त्रीसहित भौतिक पूर्वाधार तथा विकास मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय लिने भएकाे छ ।

नेकपाले आर्थिक मामिला तथा योजना र खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्रालय पाउने सहमति थियाे ।

राप्रपाले स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालय, कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय र उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय पाउने सहमति भएको सांसद श्रेष्ठले जानकारी दिए ।

बुधबार एमाले, नेकपा र राप्रपा बीच नयाँ सरकार गठनकाे लागि ६३ जना बहुमत सांसदकाे समर्थनसहित एमालेका किरण थापा मगरलाई मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख दीपकप्रसाद देवकाेटा समक्ष दाबी पेस भएकाे छ ।

राप्रपा बागमती प्रदेश संसदीय दलले गरेकाे समर्थनलाई पार्टीकाे केन्द्रले अनधिकृत भन्दै मान्यता नदिन प्रदेश प्रमुखलाई बुधबार नै पत्राचार गरिसकेकाे छ ।

एमाले र नेकपाका नेताहरूले राप्रपा पार्टीभित्रकाे आन्तरिक विवादले सरकार गठनमा समस्या नहुने दाबी गर्दै आएकाे छन् । जसअनुसार आज बिहीबार ४ बजेपछि मुख्यमन्त्री थापासहित मन्त्रीहरूकाे नियुक्त र शपथकाे तयारी गरिएकाे छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस