स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लाबेग्लै मापदण्डबाट पदाधिकारी नियुक्ति

  • Wartman Kal Dainik
  • / अटो /
  • २०८३ श्रावण २८, बिहिबार (३ हप्ता अघि)
  • ८२ पटक पढिएको
स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्लाबेग्लै मापदण्डबाट पदाधिकारी नियुक्ति

काठमाडौं, २८ साउन। देशभरका स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा शिक्षाध्यक्ष (रेक्टर), डीन र रजिस्ट्रार जस्ता पदाधिकारी छनौटका लागि प्रतिष्ठानपिच्छे अनुकूलका भिन्नाभिन्नै कार्यविधि तयार गरी लागू गरिएको पाइएको छ ।

शैक्षिक तथा प्रशासनिक नेतृत्वका पदहरू शिक्षाध्यक्ष, रजिस्ट्रार डीन चयनमा संस्थागत एकरूपता र वस्तुनिष्ठता कायम नभएको देखिएको हो । प्रतिष्ठानहरूमा प्रतिस्पर्धात्मक दायरा कसिलो राखिँदा केही नयाँ वा अन्य प्रतिष्ठानमा न्यूनतम अनुभवको समय सीमालाई निकै खुकुलो बनाएर कार्यविधि स्वीकृत गरिएको देखिएको छ ।

देशभर रहेका ६ ओटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमा राप्त स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बेग्ला बेग्लै कार्यविधि बनाइ पदाधिकारी नियुक्ति प्रक्रिया अघि बढाइएको छ ।

अधिकांश स्वास्थ्य प्रतिष्ठानहरूले पदाधिकारी नियुक्तिका लागि दरखास्त आह्वान गरेका छन् । प्रतिष्ठान पिच्छे पदाधिकारीहरू (शिक्षाध्यक्ष,रजिस्ट्रार, डीन र निर्देशक) को नियुक्ति सम्बन्धी कार्यविधि २०८३ जारी गर्दै पदाधिकारी नियुक्ति गर्न थालेका हुन् ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यविधि अनुसार शिक्षाध्यक्षका लागि सहप्राध्यापक पदमा कम्तीमा ५ वर्ष प्राध्यापन अनुभव भई प्राध्यापक पदमा रहेको वा सेवा निवृत्त हुनुपर्ने तथा डीनका लागि सहप्राध्यापक वा सो भन्दा माथिल्लो पदमा कार्यरत रहेको हुनुपर्ने व्यवस्था छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ५ वर्ष प्राध्यापन गरेको वा स्वास्थ्य सेवाको १०औँ तह वा  सो भन्दा माथिल्लो पदमा कम्तिमा ८ वर्ष कार्यअनुभव मागिएको छ ।चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा शिक्षाध्यक्षका लागि प्राध्यापक पदमा कम्तीमा ५ वर्ष कार्य गरी आठ वर्ष प्राध्यापन गरेको र डीनका लागि सहप्राध्यापक पदमा ५ वर्ष कार्यअनुभव तोकिएको छ । तर, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यविधिमा भने शिक्षाध्यक्ष र डीन दुवै पदका लागि प्राध्यापक पदमा केवल १ वर्ष मात्र प्राध्यापन गरेको अनुभव भए पुग्ने खुकुलो मापदण्ड राखिएको छ ।  त्यस्तै, प्रतिष्ठानको प्रशासनिक तथा वित्तीय व्यवस्थापन सम्हाल्ने रजिस्ट्रार पदको योग्यतामा पनि व्यापक असमानता रहेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रजिस्ट्रारका लागि सहप्राध्यापक पदमा कम्तीमा ५ वर्षको शिक्षण अनुभव वा निजामती/स्वास्थ्य सेवाको १० औँ तह (राजपत्राङ्कित द्वितीय श्रेणी) मा ८ वर्षको अनुभव अनिवार्य गरिएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहायक प्राध्यापक वा सोभन्दा माथिल्लो पदमा ५ वर्ष प्राध्यापन गरेको वा अधिकृत स्तरमा १० वर्ष काम गरेको योग्यता तोकिएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहप्राध्यापक पदमा कम्तीमा केवल १ वर्ष प्राध्यापन गरेको वा राजपत्राङ्कित द्वितीय श्रेणीमा ५ वर्ष अनुभव भएको व्यक्ति पनि रजिस्ट्रार बन्न योग्य हुने प्रावधान राखिएको छ ।

ताजा अपडेट

यो साताको प्रचलित

खोजी गर्नुहोस