
काठमाडौं, १७ साउन। चलचित्र विकास बोर्डले हलमा प्रदर्शन भइरहेका नेपाली तथा विदेशी चलचित्रको अनधिकृत रेकर्डिङ नगर्न र त्यस्ता सामग्री सामाजिक सञ्जाल तथा डिजिटल माध्यममा प्रसारण वा वितरण नगर्न आग्रह गरेको छ ।
बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै मोबाइल फोन वा अन्य विद्युतीय उपकरण प्रयोग गरी चलचित्रका दृश्य, क्लिप वा अंश अनुमतिबिना रेकर्ड गर्ने र टिकटक, फेसबुक, युट्युब, इन्स्टाग्राम तथा टेलिग्रामलगायतका माध्यममा अपलोड गर्ने गतिविधि बढेको जनाएको छ ।
चलचित्रको कुनै पनि अंश खिच्ने, रेकर्ड गर्ने, प्रतिलिपि बनाउने, प्रसारण गर्ने वा सार्वजनिक रूपमा उपलब्ध गराउने कार्य प्रतिलिपि अधिकार ऐन, २०५९, विद्युतीय कारोबार ऐन, २०६३ तथा चलचित्रसम्बन्धी अन्य प्रचलित कानुनविपरीत हुन सक्ने बोर्डले स्पष्ट पारेको छ ।
बोर्डका अनुसार अनधिकृत रेकर्डिङ र डिजिटल पाइरेसीका कारण निर्माता, निर्देशक, कलाकार, प्राविधिक, वितरक, प्रदर्शक र लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति पुग्नुका साथै नेपाली चलचित्र उद्योग, चलचित्र व्यवसाय तथा बौद्धिक सम्पत्तिको संरक्षणमा गम्भीर नकारात्मक असर पर्छ ।
