
काठमाडौं, २२ भदौ। बहुप्रतीक्षित नेपाल प्रिमियर लिग (एनपीएल) को आधिकारिक प्रसारण अधिकार (ब्रोडकास्ट राइट्स) हिमालय स्पोर्ट्स (हिमालय टिभी) ले प्राप्त गरेको छ ।
सोमबार नेपाल क्रिकेट संघको कार्यालयमा बोलपत्र खोल्दा हिमालय स्पोर्ट्सले करसहित १७ करोड २४ लाख रुपैयाँ (१७.२४ करोड) को बोली लगाएर प्रतियोगिताको प्रसारण अधिकार सुरक्षित गरेको हो ।
कम्पनीले सोमबार एक आधिकारिक विज्ञप्ति जारी गर्दै एनपीएलको प्रसारण अधिकार पाउनु आफ्ना लागि गर्वको विषय भएको जनाएको छ । विज्ञप्तिअनुसार हिमालय स्पोर्ट्सले कबोल गरेको यो रकम गत वर्षको प्रसारण अधिकार मूल्यभन्दा पाँच गुणाभन्दा बढी हो। त्यस्तै, यो वर्षका लागि तोकिएको न्यूनतम बोलकबोल रकमभन्दा झण्डै साढे दुई गुणा बढी हो ।
‘एनपीएल यति ठूलो स्तरको लगानीको हकदार छ भन्ने हाम्रो दृढ विश्वास हो। नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगितालाई यस क्षेत्रकै अग्रणी खेलकुद ‘प्रोपर्टी’ का रूपमा उचाइ दिनेछ भन्नेमा हामी पूर्ण विश्वस्त छौँ,’ हिमालय स्पोर्ट्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
खेलकुद संघले व्यावसायिक रूपमा दिगो र बलियो प्रतियोगिता निर्माण गर्दा के हासिल गर्न सकिन्छ भन्ने कुराको शक्तिशाली उदाहरण एनपीएलको बढ्दो मूल्यले देखाएको कम्पनीको निष्कर्ष छ। यस्तो आर्थिक वृद्धिले समग्र क्रिकेट इकोसिस्टमलाई बलियो बनाउने, थप स्रोतसाधन जुटाउने र खेलको विकासका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास लिइएको छ।
हिमालय स्पोर्ट्सका लागि यो प्रसारण अधिकारको खरिद मात्र नभई नेपाली क्रिकेटप्रतिको दीर्घकालीन प्रतिबद्धता भएको बताइएको छ। एनपीएललाई गुणस्तरीय र फराकिलो पहुँचसहित दर्शकमाझ पस्कने कम्पनीले जनाएको छ ।
