
काठमाडौं, ११ असार। विमानस्थलको अध्यागमन पार गरेर स्वदेश फर्किने जहाज चढ्न पाउनु वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि उत्सवझैँ हुन्छ ।
साउदी अरब पुगेका सप्तरीको सुरुङ्गा नगरपालिका–४ का मृगेन्द्र कुमार मण्डलका लागि पनि यहीं उत्सवको दिन नजिकिएको थियो । दुई वर्षको कडा परिश्रमपछि घरमा कुरिरहेका परिवारसँग भेट हुने आशले उनको मनमा खुसी छाएको थियो ।
त्यो एउटा दुर्घटना, जसले १५ वर्षपछि जीवन उल्टाइदियो
१५ वर्षअघि साउदीमा उनी जेल परेका थिए । साउदी पुगेर गाडी चालकको रूपमा काम थालेका मृगेन्द्रको जिन्दगी सामान्यचल्दै थियो । तर, एक दिन उनको गाडी दुर्घटनामा पर्यो । दुर्भाग्यवश, उक्त दुर्घटनामा परेर एक जोर्डन नागरिकको मृत्यु भयो । साउदीस्थित रफामा रहेको अदालतले उनलाई दोषी ठहर गर्दै ६ वर्षको जेल सजाय सुनायो ।
६ वर्षको सजाय भुक्तान गरेपछि कम्पनीले उनको ‘फाइनल एक्जिट’ (अन्तिम बहिर्गमन) को रुपमा टिकट काटिदियो र उनी सन् २०१८ तिर नेपाल फर्किए ।
फर्किएर करिब ५–६ वर्ष उनले गाउँघरमै मजदूरी गरेर जीवन बिताए । तर, गरिबीको रापले फेरि उनलाई पोल्न थाल्यो । ऋण र परिवारको जिम्मेवारीले उनलाई फेरि परदेशिन बाध्य बनायो । सन् २०२३ को मे महिनामा उनी पुनः साउदी अरब उडे । यसपटक उनले नयाँ कम्पनीमा २ वर्षसम्म इमानदारीका साथ गाडी चलाए ।
कम्पनीसँगको सम्झौता सकिएपछि उनी खुसी हुँदै झोला बोकेर नेपाल फर्किन विमानस्थल पुगेका थिए । विमानस्थलको अध्यागमन काउन्टरमा पासपोर्ट बुझाउँदा उनी झस्किए । सुरक्षाकर्मीले उनलाई रोक्दै भने, ‘तिमीमाथि यात्रा प्रतिबन्ध छ, नेपाल जान पाउँदैनौँ ।’
१५ वर्षअघिको दुर्घटनाको सजाय उनले ६ वर्ष जेल बसेर भुक्तान गरिसकेका थिए, त्यही मुद्दालाई ब्युँत्याएर अदालतले उनीमाथि ३ लाख ३० हजार साउदी रियाल (करिब १ करोड ३३ लाख रुपैयाँ) ‘ब्लड मनी’ (क्षतिपूर्ति) जरिबाना तोकेको छ । उक्त रकम नतिर्दासम्म उनी नेपाल फर्किन पाउने छैनन् । अहिले उनले साउदीमा न काम गर्न पाउँछन्, न नेपाल फर्किन । जबसम्म यो पैसा तिरिँदैन, तबसम्म उनी साउदी अरबबाट बाहिरिन नपाउने अदालतको फैसला छ ।
विमानस्थलबाट प्रतिबन्ध गरिएको थाहा पाएलगत्तै मृगेन्द्र न्याय र उद्धारको याचना गर्दै नेपाली दूतावास पुगे । दूतावासले आफ्नो पीडा सुनिदिने र कानुनी लडाइँमा सघाउने उनको ठूलो भरोसा थियो । तर, चाहनेअनुसारको सहयोग नपाएको उनी बताउँछन् ।
‘दूतावासमा गएर घर फर्किन नपाउँदासम्म खाना र आवासको व्यवस्था गर्न र घर फर्काउन अनुरोध गरेँ, तर, दूतावास कर्मचारीले बस्ने ठाउँ छैन भन्दै ढोका बन्द गरिदिए ’ उनले भने । वकिल राखेर आफैं मुद्दा लड्न दूतावासले भनेपछि उनी मर्माहत भए ।
‘मुद्दा लड्ने पैसा हुन्थ्यो भने किन दूतावासको सहयोग चाहिन्थ्यो र ?’ उनले अनलाइनखबरसँगको कुराकानीमा भने।
अदालत वा सम्बन्धित निकायले उनलाई जरिबानासम्बन्धी कुनै आधिकारिक कागजात समेत दिएको छैन । दूतावासले आवश्यक कानुनी तथा कूटनीतिक पहल नगरिदिँदा उनी अलपत्र परेका छन् । मृगेन्द्र हाल साउदीको सडकमा माग्दै, मस्जिदको चिसो भुइँमा सुत्दै दिन काटिरहेका छन् ।
केही नेपालीले उनीमाथि थप अत्याचार गरे, जसले एम्बेसीमा काम मिलाइदिने बहानामा केही रकम समेत लगिदिएको उनले बताए ।
यता सप्तरीमा रहेको परिवार उनको अवस्थापछि मर्माहत बनेको छ । परिवारले सरकार, परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायसँग जीवन रक्षा र उद्धारको माग गरेको छ।
दूतावासले भन्यो : घटनाबारे बुझ्दैछौं
साउदीको रियादस्थित नेपाली राजदूतावासले उनको घटनाका विषयमा बुझ्ने काम भइरहेको जनाएको छ । आजभन्दा १५ वर्ष अगाडिको घटना भएको भन्दै यो विषयमा साउदीस्थित सम्बन्धित निकायबाट बुझ्ने काम भइरहेको दूतावासले जनाएको छ ।
दूतावासका श्रम काउन्सिलर कविराज उप्रेतीले घटनाको विषयमा साउदीका निकायबाट बुझ्ने काम भइरहेको र त्यसपछि आवश्यक प्रक्रिया अगाडि बढाइने बताए ।
‘१५ वर्ष पुरानो केस रहेछ । ६ वर्ष जेल पनि बस्नुभएको रहेछ’ उनले भने ‘पुनः कामका लागि साउदी आएर घर फर्किने क्रममा विमानस्थलले रोकिदियो । अहिले ब्लड मनी तिर्नुपर्ने भनेको छ, हामीले सुरुमा केस राम्ररी बुझेपछि थप प्रक्रिया अगाडि बढाउँछौं ।’
