
काठमाडौं, ०६ बैशाख। पश्चिम एसियामा जारी द्वन्द्वको प्रत्यक्ष प्रभाव नेपालीको भान्सामा परेको छ । अन्तर्राष्ट्रिय बजारमा डलरको भाउमा भएको वृद्धि र इन्धनको मूल्य बढेसँगै ढुवानी भाडा र सार्वजनिक यातायातको भाडादरमा भएको वृद्धिले सर्वसाधारण उपभोक्ता महँगीको चर्को मारमा परेका छन् ।
यस्तै भान्छामा अत्यधिक प्रयोग हुने खाना पकाउने ग्यासमा भारी वृद्धि भएको छ । जसको प्रत्यक्ष असर सहरी क्षेत्रमा बसोबास गर्ने उपभोक्ताको भान्छामा परेको छ । यस्तै पछिल्लो समय खाद्यान्न तथा तरकारी र फलफूलमा पनि अत्यधिक रूपमा मूल्य वृद्धि देखिएको छ ।
पछिल्लो ६ महिना (२०८२ मङ्सिर देखि २०८३ वैशाख १ सम्म) को बजार विश्लेषण गर्दा नेपाली भान्सामा अनिवार्य मानिने खाद्यान्न, तेल र तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि देखिएको हो । नेपाल खुद्रा व्यापार सङ्घ र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सङ्कलन गरी सार्वजनिक गरेको विवरणअनुसार बजार मूल्य नियन्त्रण बाहिर जाँदै गरेको सङ्केत गरेको छ ।
नेपालीको मुख्य खाद्यान्न चामलको हकमा जिरा मसिनो, सोना मन्सुली र त्रिशूलीको पोखरेली चामलको मूल्य ६ महिनासम्म स्थिर देखिन्छ । यस्तै जिरा मसिनो प्रतिकिलो ९५, सोना मन्सुली प्रतिकिलो ७५ रुपैयाँ र त्रिशूलीको पोखरेली चामल प्रति किलो १२० रुपैयाँमा बिक्री भइरहेको छ । यद्यपि, लङ्ग्रेन बासमती चामलको मूल्य भने बढेको छ । मङ्सिरमा प्रतिकिलो १७० रुपैयाँ रहेको यो चामल फागुन १५ मा १७५ र चैत १५ देखि १८० रुपैयाँ कायम भएको छ ।
दाल र गेडागुडीको मूल्यमा भने मिश्रित प्रभाव देखिएको छ । चनाको दालको मूल्यमा आएको गिरावटले उपभोक्तालाई केही राहत दिएको छ । मङ्सिरमा १७० रुपैयाँ प्रति किलो रहेको चनाको दाल वैशाखसम्म आइपुग्दा १५० रुपैयाँमा झरेको छ । त्यस्तै सेतो केराउ पनि १४० बाट घटेर १३५ रुपैयाँ पुगेको छ ।
यसको विपरीत मुंग खोस्टा र मुंग दालको मूल्यमा प्रति किलो २० रुपैयाँसम्मको वृद्धि भएको छ । राजमाको मूल्य पनि २५० बाट बढेर २६० रुपैयाँ पुगेको छ । सानो चनाको मूल्य भने माघमा १४० रुपैयाँ पुगे पनि चैतदेखि पुनः १३० रुपैयाँमा स्थिर देखिएको छ ।

सनफ्लावर र भटमास तेलमा ४५ रुपैयाँ बढ्यो
यो ६ महिनाको अवधिमा उपभोक्तालाई सबैभन्दा बढी भार खाने तेलको मूल्य वृद्धिले पारेको छ । मङ्सिर १५ गते प्रति लिटर ३६० रुपैयाँमा पाइने ‘काँचो तोरीको तेल’ पुस र माघको सुरुवातीसम्म स्थिर रहे पनि माघ १५ पछि बढ्न थाल्यो । वैशाख १ गतेसम्म आइपुग्दा यो प्रति लिटर ३७५ रुपैयाँ पुगेको छ ।
यसैगरी भुटेको तोरीको तेल मङ्सिर र पुस महिनामा प्रति लिटर ४३० रुपैयाँ रहेकोमा माघमा १० रुपैयाँ वृद्धि भएको थियो । त्यसयता चैतसम्म स्थिर रहेपनि वैशाखमा १० रुपैयाँ बढेको छ । ६ महिनाको अवधिमा तुलना गर्दा यो तेल प्रतिलिटरमा २० रुपैयाँ वृद्धि देखिएको छ ।
त्यस्तै, सनफ्लावर र भटमास तेलको मूल्यमा अत्यधिक वृद्धि देखिएको छ । मङ्सिरमा प्रति लिटर २५० रुपैयाँ रहेको सनफ्लावर तेल पुसमा घटेर २४५ रुपैयाँमा झरेको थियो, तर त्यसपछि लगातार बढ्दै वैशाखसम्म आइपुग्दा २९५ रुपैयाँ पुगेको छ । ६ महिनाको अन्तरालमा सनफ्लावर तेलमा प्रति लिटर ४५ रुपैयाँको वृद्धि भएको छ, जसले सर्वसाधारणको भान्छामा प्रत्यक्ष प्रभावित पारेको छ ।
यस्तै भटमासको तेलमा पनि ४५ रुपैयाँ वृद्धि भएको देखिएको छ । यो तेलको मूल्य मङ्सिरदेखि माघसम्म स्थिर रहेको थियो । सनफ्लावर तेलको वृद्धि हुन थालेपछि यसको पनि मूल्य बढेको छ । तर फागुनमा सङ्घले यसको मूल्य सार्वजनिक गरेन । चैतयता २९० रुपैयाँ कायम गरेको देखिन्छ ।
नेपाली घ्यूको मूल्य यो ६ महिनाको अवधिमा प्रति किलो १४०० रुपैयाँमा पूर्णतः स्थिर रहेको छ । चिनीको मूल्यमा भने केही उतारचढाव देखिएको छ । मङ्सिर र पुसमा १०५ रुपैयाँ रहेको चिनी माघ १५ देखि चैत १ सम्म १०० रुपैयाँमा झरेको थियो, तर वैशाख १ मा पुनः बढेर १०५ रुपैयाँ नै पुगेको छ । मसलाजन्य वस्तुहरू जस्तै जिरा, धनियाँ र बेसार पाउडरको मूल्यमा यो अवधिमा कुनै परिवर्तन देखिएको छैन ।
खाने तेलमा भएको मूल्य वृद्धिलाई व्यापारीले पश्चिम एसियामा जारी द्वन्द्व, अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यवृद्धि र ढुवानी मार्गमा आएको अवरोधलाई मूल्यवृद्धिको मुख्य कारणका रूपमा औँल्याएका छन् । अर्जेन्टिना र इन्डोनेसिया जस्ता मुलुकहरूबाट कच्चा तेल बोकेर आउने ठुला जहाजहरू बाटोमै रोकिएको र ढुवानी खर्च बढेकाले मूल्य बढेको बताउँछन् ।
यस्तो छ तेलजन्य वस्तुको मूल्य:

खुद्रा व्यापार सङ्घले सार्वजनिक गर्ने मूल्य सूची सीमित पसलहरूमा मात्र लागु हुने गरेको छ । खुला बजारमा व्यापारीहरूले ढुवानी भाडा र अन्तर्राष्ट्रिय बजारको बहाना बनाउँदै आफूखुसी नाफा राखेर सामान बिक्री गर्दा उपभोक्ताहरू ठगिने क्रम बढेको छ ।
स्थिर आय भएका र न्यून वर्गका परिवारलाई दैनिक हातमुख जोर्नै धौ–धौ हुने गरी बढेको यो महँगीले जीवनस्तर कष्टकर बनाउँदै लगेको छ । सरकारले इन्धनको मूल्य वृद्धि र अन्तर्राष्ट्रिय प्रभावको बहानामा हुने अस्वाभाविक मूल्य वृद्धि र कालोबजारी नियन्त्रण गर्न प्रभावकारी कदम चाल्न नसकेको गुनासो उपभोक्ताहरूको छ ।
तरकारीको मूल्य बढ्यो २०० प्रतिशतमाथि
कालीमाटी फलफूल तथा तरकारी बजारमा २०८२मङ्सिर १ गतेदेखि २०८३ वैशाख १ गतेसम्म (मङ्सिर १,पुस १ माघ १,फागुन १, चैत १ र वैशाख १) को ६ महिनाको थोक मूल्य विवरण विश्लेषण गर्दा बजारमा महँगीको निकै ठुलो उतारचढाव देखिएको छ । कतिपय तरकारी र फलफूलको मूल्य ६ महिना अवधिमा ४ गुणासम्मले महँगिएको पाइएको छ । तरकारी तथा फलफूलमा सिजनअनुसार मूल्य घटबढ हुने गर्दछ । तर अहिले पश्चिम एसिया द्वन्द्वका कारण ढुवानी खर्च बढेकाले पनि थप मूल्य वृद्धि भएको व्यापारी बताउँछन् ।
यस अवधिमा सबैभन्दा बढी मूल्य बढ्ने तरकारीमा स्कूस देखिएको छ । पुस महिनामा प्रतिकेजी जम्मा १२ रुपैयाँ औसत मूल्य रहेको स्कूस वैशाख १ गते ५५ रुपैयाँ पुगेको छ, जुन ३५८.३३ प्रतिशतको वृद्धि हो ।
त्यस्तै, हरियो सागपातको मूल्यमा पनि तीव्र उछाल आएको छ । फागुनमा २५ रुपैयाँ रहेको चमसूरको साग २८० प्रतिशतले बढेर ९५ रुपैयाँ पुगेको छ । पालुङ्गोको साग र हरियो डल्लो फर्सीको मूल्यमा पनि २०० प्रतिशतको वृद्धि देखिएको छ ।
गर्मी मौसम सुरु भएसँगै कागती र फलफूलको मूल्यमा उच्च वृद्धि भएको छ । माघ महिनामा ९० रुपैयाँ प्रतिकेजी रहेको कागती वैशाखमा २२९.६३ प्रतिशतले बढेर २९६.६७ रुपैयाँ पुगेको छ । फलफूलतर्फ केराको मूल्यमा २०० प्रतिशत र आभोकाडोमा १५४.५५ प्रतिशतको वृद्धि देखिएको छ । मङ्सिरमा २७५ रुपैयाँ रहेको आभोकाडो वैशाखमा ७०० रुपैयाँ प्रतिकेजी पुगेको छ ।
भान्सामा नभई नहुने हरियो खुर्सानीको मूल्यमा १८०.९४ प्रतिशतको वृद्धि देखिएको छ भने भेडे खुर्सानी १२७ प्रतिशतले महँगिएको छ । सिमी तर्फ तने बोडीको मूल्य २१४.२९ प्रतिशत र टाटे सिमीको मूल्य १९३.३३ प्रतिशतले बढेको उल्लेख छ ।
१०० प्रतिशतभन्दा महँगो भएका यी तरकारी र फलफूल

स्रोतःकालीमाटी फलफूल तथा तरकारी बजार विकास समिति
०८२ मङ्सिरदेखि २०८३ वैशाख १ सम्मको तथ्यांक अनुसार सिमी, किवी, भुईँ कटहर र हरियो सागपात लगायतका वस्तुहरूको मूल्य ५० प्रतिशतदेखि १०० प्रतिशतसम्मले बढेको पाइएको छ ।
बजारको तथ्यांक अनुसार सिमी (राजमा) को मूल्यमा ८४.६२ प्रतिशतको वृद्धि देखिएको छ । चैत महिनामा ६५ रुपैयाँ प्रतिकेजी रहेको राजमा सिमी वैशाखमा १२० रुपैयाँ पुगेको छ । हरियो सागपात तर्फ तोरीको साग र रायो सागको मूल्यमा क्रमशः ७५ र ५३ प्रतिशतको वृद्धि देखिएको छ । फागुनमा मात्र २० रुपैयाँ प्रतिकेजी रहेको तोरीको साग र लाम्चो हरियो फर्सी वैशाखमा ३५ रुपैयाँ पुगेका छन् । त्यस्तै, चैतमा ३५ रुपैयाँ रहेको जिरीको साग ५७.१४ प्रतिशतले बढेर ५५ रुपैयाँ पुगेको छ ।चैतमा ४५ रुपैयाँ रहेको मटरकोशा ५५.५६ प्रतिशतले महँगिएर ७० रुपैयाँ पुगेको छ ।
फलफूलतर्फ भुईँ कटहरको मूल्य पनि ८० प्रतिशतभन्दा बढीले वृद्धि भएको छ । पुसमा ८५ रुपैयाँ रहेको भुईँ कटहर १५५ रुपैयाँ पुगेको छ । किवीको मूल्य ५३.०६ प्रतिशतले बढेर वैशाखमा ३७५ रुपैयाँ प्रतिकेजी पुगेको छ ।
५० प्रतिशतभन्दा बढी १०० प्रतिशत कम बढेका तरकारी र फलफूल

