वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १६ गते
रौतहटको मौलापुरमा नगरपालिकाद्धारा आयोजना हुने विशेष महा शिवरात्री मेलाको तयारी कार्य सम्पन्न भएको छ । महा शिवरात्री मेला लाग्ने स्थल मौलापुर नगरपालिका पतौरा स्थित पुरातात्विक महादेव मन्दिरको प्राङ्गनमा आईतबार एक कार्यक्रम गरि शिवरात्रीको अवसरमा भव्य मेला तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ ।
पुरातात्विक महादेव मन्दिर मौलापुर नगरपालिका पतौरामा प्रत्येक वर्ष हुने विशेष महा शिवरात्री मेला यस वर्ष आउदो फाल्गुन २५ गते मंगलबार देखि चैत्र १ गते आईतबार सम्म मेला आयोजन हुने नगरपालिका स्रोतले जनाएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महाशिवरात्री पर्वको अवसरमा मेला आयोजना गर्न लागेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबाबु प्रसाद साहले बताए । पुरातात्विक महादेव मन्दिरको प्राङ्गनमा आयोजना हुने उक्त मेलाको अवसरमा चर्चित नेपाली तथा भारतीय कलाकारहरुको सांस्कृतिक प्रस्तुती समेत रहने जनाइएको छ ।
ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक महत्व झल्किने किसिमले आयोजना हुने उक्त मेलाको अवसरमा पुरातात्विक महादेव मन्दिरमा स्थानीय तथा विशेष विधिहरुबाट भगवान शिवको पुजा अनुष्ठान गरिने आयोजक नगरपालिकाले जनाएको छ । फागुन २५ गतेबाट नै मेलाको शुभारम्भ गरिने भएपनि मुल पुजा फागुन २७ गते शिवरात्रीको दिन हुने र सोही दिन दिउँसो १ बजेदेखि भोजपुरी सुपरस्टार अभिनेत्री अक्षरा सिंह तथा अभिनेता प्रदीप पाण्डे ’चिन्टु’ लगायतका लोकप्रिय नेपाली एवम् भारतीय कलाकारहरुको सांस्कृतिक कार्यक्रमको प्रस्तुति हुने बताइएको छ ।
साथै फागुन २६ गते देखि चैत्र १ गते आईतबार सम्म लगातार ६ दिनसम्म रात्रि भारत वृन्दावनको अयोध्याको कलाकारद्वारा प्रसिद्ध रासलिला (शिवलिला) प्रदर्शन हुने योजना रहेको छ । आयोजकका अनुसार फागुन २८ गते नेपाल तथा भारतका चर्चित कुस्ती खेलाडीहरुको सहभागितामा दंगल,कुस्ती प्रतियोगिता आयोजना हुनेछ ।
गत वर्ष पनि शिवरात्रीको अवसरमा पुरातात्विक महादेव मन्दिरको प्राङ्गणमा मधानी महायज्ञको आयोजना गरिएको थियो । सांस्कृतिक कार्यक्रममा दर्जनौं कलाकारहरुले प्रस्तुति गर्दा दुई लाखभन्दा बढी दर्शकको उपस्तिथि रहेको थियो ।
यस वर्ष मेला आयोजन कार्यक्रमका प्रमुख अतिथि २ नम्बर प्रदेश प्रमुख राजेश झा अहिराज,विशिष्ट अतिथि नेपाल सरकारका मन्त्रीहरु तथा अतिथिमा २ नम्बर प्रदेशका मन्त्रीहरु, प्रदेश सभा सदस्यहरु तथा विभिन्न पालिकाका प्रमुख उपप्रमुखहरुको उपस्थिती रहने बताईएको छ ।
मेला आयोजना हुन लागेको पुरातात्विक महादेव मन्दिर पर्यटकहरुका लागि एउटा महत्वपूर्ण गन्तव्य बनाउन मौलापुर नगरपालिकाले मन्दिरको संरक्षण एवम् प्रचारको कार्य गर्दै आएको हो । साथै मेलामा आउने व्यापारीहरु, खेल तमासा व्यवसायीहरुबाट कुनै किसिमको कर नलिईने आयोजकद्धारा सम्पूर्णमा जानकारी गराईएको छ ।