वर्तमानकाल समाचारदाता । रौतहट । फाल्गुन १७ गते
बाराको आदर्श कोतवाल गाउँपालिकामा रहेको श्रीराम चरित्र माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु आन्दोलित बनेका छन् । लामो समयदेखि विद्यालयमा नेपाली पढाउने शिक्षक नहुँदा विद्यार्थीहरु आन्दोलित बनेका हुन् ।
विद्यालयमा कक्षा ६ देखि १२ सम्म नेपाली पढाउने शिक्षक नहुँदा विद्यार्थीहरुको पठनपाठन प्रभावित हुदै आएको छ । लामो समयको लकडाउनपछि विद्यालयमा सञ्चालनमा आएपनि विषयगत शिक्षक नहुँदा पठनपाठनमा समस्या हुदै आएको विद्यार्थीहरुले गुनासो गरेका हुन् ।
शिक्षकको माग गर्दै विद्यार्थीहरु गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिका कार्यालय पुगेका विद्यार्थीहरुलाई चाँडै शिक्षक बहाली गर्ने आश्वासन दिएर फिर्ता पठाइएको थियो । गाउँपालिकाका शिक्षा संयोजक वेदराज अधिकारीले भने यसै हप्तासम्म विद्यालयमा शिक्षक पठाईसक्ने जानकारी गराएका छन् । मावि तहको लाईसेन्स पाएका शिक्षकहरु नभेटिएका कारण शिक्षक नियुक्ति प्रक्रिया अगाडि बढ्न नसकेको शिक्षा संयोजक अधिकारीले बताएका छन् । दुई पटकसम्म शिक्षक नियुक्तिका लागि दरखास्त आह्वान गरेपनि लाईसेन्स भएका शिक्षक नभेटिँदा विज्ञापन प्रक्रिया अघि नबढेको उनको भनाई छ । विद्यालय व्यवस्थापन समिति गठनको प्रक्रिया पनि अन्तिम चरणमा रहेका कारण शिक्षक नियुक्तिमा केही समस्या सृजना भएको बुझिएको छ । २ हजार १ सय ७१ जना विद्यार्थी अध्ययनरत विद्यालयमा हाल जम्मा १८ जना शिक्षकले अध्यापन गराईरहेका छन् ।