रौतहट । फाल्गुन २४ गते
देश महिलाहरुको पनि हो । अब महिलाहरु दयाको पात्र र सहानुभूतिमात्र राखिनुपर्ने पात्रको रुपमा रहेनन् तथा रहनु पनि हुँदैन । हुन त संसारमा धेरै काममा महिला निकै अगाडि बढेका छन् । अन्तरिक्षमा पनि महिला पुगेका छन् । कैयौँ महिलाले नोबेल पुरस्कार प्राप्त गरेका छन् । राजनीति तथा समाजका विभिन्न क्षेत्रमा विश्वमा अनेक यस्ता सुकार्यहरु गरेका छन् जसले गर्दा संसारभर नाम अमर बनाउने महिलाहरु धेरै छन् । भाषा, साहित्य तथा विज्ञानलगायतको क्षेत्रमा महिलाहरुले पुरुषभन्दा कुनै पनि मामिलामा कम छैनन् भनेर प्रमाणित गरिसकेका छन् । धेरै दृष्टिकोणले विश्वका महिलाहरु नेपालीभन्दा अगाडि छन् भनेर भनिन थालिएको अवस्थामा नेपाली महिलाहरुमा पनि सबै किसिमको दक्षता र क्षमता रहेको प्रमाणित हुँदै आएको छ ।
नेपालको आधुनिक राजनीतिक काल पृथ्वीनारायण शाहदेखि मानिएको छ । तर पृथ्वीनारायण शाहदेखि भन्दा पहिले बाइसे र चौबिसे राज्यहरुमा मात्र नभएर काठमान्डौँ उपत्यकाभित्रका राज्यहरुमा समेत महिलाहरुको सहयोग तथा हस्तक्षेप राज्य सञ्चालन तथा यससित सम्बन्धित विभिन्न पक्षहरुमा रहेको पाइन्छ । शाहकालीन नेपालको इतिहासमा पनि यस प्रकारका अनेक उदाहरणहरु पाइन्छन् जसले नेपाली राजनीतिमा महत्वपूर्ण स्थान ओगटेका छन् । विभिन्न महारानीहरुको नायबी काल, मुख्तियार छनौटमा महारानीको हस्तक्षेप वा निर्णायक भूमिका, कोतपर्वमा एक महारानीको अप्रत्यक्ष भूमिकाहरु समेतलाई विचार गर्दा महिलाको भूमिका निकै महत्वपूर्ण देखिन आउँछ । राणाशासन अवधिमा नेपाली महिलाले उति धेरै साहसी र महत्वपूर्ण कार्य गरेको प्रकाशमा नआए पनि इतिहास पढ्नेहरुले धेरै यस्ता उदाहरणहरु पाउँछन् जसले नेपाली महिलाको प्रतिष्ठा बढेको देखिन्छ । विश्वको सर्वोच्च शिखर सगरमाथालाई आफ्नो पैतलाले कुल्चने पासाङ ल्हामु शेर्पा, मदन पुरस्कार प्राप्त गर्ने पारिजात, पहिलो महिला मन्त्री द्वारिकादेवी ठकुरानी लगायतकालाई हेर्दै अगाडि बढ्ने हो भने सशस्त्र द्वन्द्वसम्म आइपुग्दा कैयौँ नेपाली महिला माओवादी सेनामा सहभागी भएका देखिन्छन् । तर देशमा लोकतन्त्रको स्थापना भएपछिको समयमा भने नेपाली महिलाले जुनरुपमा आफ्नो प्रगतिको बाटो फराकिलो पारेका छन्, विश्वकै लागि उदाहरणीय र अनुकरणीय बनेको छ ।
नेपालको अन्तरिम संविधान २०६३ महिलाको हकमा निकै क्रान्तिकारी थियो । नेपाली महिलामा प्रत्यक्षरुपले धेरैभन्दा धेरै क्षेत्रमा धेरैभन्दा धेरै सहभागिता जनाउने वैधानिक कानुनले नेपाली महिलालाई सबै क्षेत्रमा सफलताको एकपछि अर्को बाटोमा डो¥यायो । निजामती, शिक्षा, फौजी, एनजिओ तथा राजनीतिक दल सबैतिर महिलाको लागि एउटा निश्चित कोटामा अनिवार्य नियुक्तिको प्रक्रिया थालनी हुनु र महिलाले आफूलाई सबै क्षेत्रमा सक्षम भएको प्रमाणित गर्दै समाजको अनेक क्षेत्रमा प्रवेश गर्दै जानु निश्चय नै नयाँ युगको सूत्रपात हो । नेपालमा लोकतन्त्र आएको करिब एक दशकको अवधिमा देशको हरेक क्षेत्रमा महिलाको सुखद सहभागिता भइसकेको छ जसले महिलाले सक्षमता साबित गर्दै समाजमा प्रतिष्ठा पनि आर्जन गरेका छन् ।
नेपालमा अहिले लागू रहेको संविधानले नेपाली महिलालाई अधिकार र सम्मान दुवै प्रदान गरेको छ । यसले गर्दा नेपाली महिलाहरु विभिन्न पदमा कानुनबमोजिम पुगिरहेका छन् । तीन तकहो सरकारमध्ये सबै तहको सरकारमा महिलाको पहुँच सम्मानयोग्य रहेको छ । दुनियाँले महिलाको दृष्टिकोणले नेपालीलाई र नेपाललाई सम्मान गरिरहेको परिस्थिति छ । नेपालको इतिहासमा यसभन्दा पहिले यतिको संख्यामा र यतिको जिम्मेवारीका साथ महिलाहरु कहिल्यै कार्यकारी अधिकार प्राप्त गरेका थिएनन् । लोकतन्त्रको प्राप्तिपछि देशमा महिला राष्ट्रपति, महिला प्रधान न्यायाधीश, सभामुखजस्ता महत्वपूर्ण पदमा महिला पुगेको र आफ्नो सक्षता साबित गरेकै हुन् । यस देशका महिलाहरु वर्तमान विश्वमा आफूलाई परिचित गराउने क्षमतावान छन् । सिडिओ, एलडिओजस्ता प्रशासनिक पदहरुमा महिला सक्षम छन् । अन्य पदहरुमा पनि महिलाले आफूलाई इमानदार र सक्षम साबित गरिरहेको अवस्थामा अहिले जनताको प्रतिनिधि अनिवार्यरुपमा छानिने अवस्थामा पुगेका नेपाली महिलाहरुले समाजलाई नयाँ किसिमले अगाडि बढाइरहेको कुरामा दुई मत छैन । संविधानले व्यवस्था गरेअनुसारको सबै पदमा नेपाली महिला सक्षम साबित भइरहेको मात्र नभई समाजले पत्याएको पनि हो । समाजको विश्वास र भरोसालाई नेपाली महिलाले बढाएका छन् । यसले गर्दा महिलाप्रतिको विश्वास बढेको छ, महिलाले आफूले प्राप्त गरेको र प्रदर्शन गरेको सक्षमताले महिलाको सम्मान बढेको छ ।
महिलाको काँधमा आएको जिम्मेवारी आलंकारिक पक्कै होइन । स्थानीय तहको प्रमुख वा उपप्रमुखमध्ये एउटामा महिला रहेका छन् । हुन त प्रदेश नम्बर दुईमा एकजना महिला मात्र नगर प्रमुखमा छन् । संयोग यो पनि हो कि आर्थिक तथा सामाजिक दृष्टिकोणले सबैभन्दा पछाडि परेको रौतहटमा महिला नगर प्रमुख हुनुहुन्छ । झन्डै पूर्ण बहुमत नगर प्रमुखको पक्षमा रहेको छ र सोही नगर प्रमुखको अध्यक्षतामा गत वर्ष भएको एउटा विशाल कार्यक्रममा सम्माननीय राष्ट्रपति विद्यादेवी भन्डारीको आगमन भएको थियो ।
हाम्रो समाजको संस्कृतिको मूल आधार नै महिलाहरु हुन् । महिलाहरुले कुनै पनि संस्कृति मान्न वा मनाउन छाड्ने हो भने त्यो संस्कृति नै हराएर जाने देखिन्छ । पुरुषआश्रित संस्कृति धेरै कम छ । महिलाआश्रित संस्कृतिको आधिक्य छ । महिलाले संस्कृतिलाई सम्हालेको हो र अब समाजलाई पनि सम्हाल्ने मार्गमा महिला अग्रसर छन् । यो सकारात्मक अग्रसरताले समाजलाई सकारात्मक दिशामा अग्रगति दिइरहेको छ । यद्यपि समाज अनेक किसिमले पछाडि परेको छ । अशिक्षा र विपन्नता मुख्य कारक हुन् समाज पछाडि पर्नुमा । अबको समयमा नेपाली महिलाले समाजबाट अन्धविश्वास हटाउनु परेजस्तै अशिक्षालाई पनि हटाउन र विपन्नतालाई पनि कम गर्न महिलाहरु नै अगाडि सर्नुपरेको छ । महिलाको अग्रसरता बिना नेपाली समाजले अपेक्षा गरेको प्रगति हासिल गर्न सक्दैन । यो साबित भइसकेको छ कि महिलालाई कमजोर वा हेय ठान्ने मनोवृत्ति भएको समाज कुनै पनि दृष्टिकोणले अगाडि बढ्न सक्दैन । संसारको जब आधा आकाश अगाडि बढ्ने आँट गर्दछ तब संसार आफैँ अगाडि बढ्दछ भन्ने कुरो यथार्थ हो ।
महिला कुनै पनि दृष्टिले हेय होइन भन्ने कुरो अब प्रमाणित भइसकेको छ भन्ने विचार गरेर हरेक महिलाले आफ्नो जिम्मेवारीलाई बुझेर आफूलाई विश्वसामु यस किसिमको साबित गर्नुपरेको छ जसले समाजलाई परिवर्तन गर्ने क्षमता राख्दछ । यसको लागि हरेक महिलाले आफूलाई हरेक सकारात्मक कामको लागि तयार छु वा त्यस किसिमको वातावरण बनाउनमा मेरो भूमिका महत्वपूर्ण हुनेछ भन्ने कुरो बुझ्नु परेको छ । देशको परिस्थिति यस्तै बन्दै जान लागेको छ कि जनताले चाहेको आधुनिक परिवर्तनलाई सकारात्मक गति दिन महिलाले साँच्चिकै उदाहरणीय योगदान दिन सक्छन् । यसमा कसको र कहाँ के र कसरी सहयोग गर्नु आवश्यक हुन्छ भन्ने कुरो सके आफैँले नभए सहयोग मागेर पनि सल्लाहअनुसार अगाडि बढ्नु उचित हुन्छ । महिलामाथि रहेको विभेद, अन्याय, शोषण र दोस्रो दर्जाको नागरिक ठान्ने सामाजिक, मनोवैज्ञानिक र व्यावहारिक किसिमका समस्याहरुलाई अब महिलाले नै कुशलतापूर्वक घटाउनु परेको छ, हटाउनु परेको छ साथै पुरुष मनोविज्ञानले पनि यस किसिमको दृष्टिकोणलाई सच्याउनु परेको छ । महिलाको सामाजिक तथा राजनैतिक नेतृत्व साँच्चिकै सफल हुने विश्वास गरिएको छ । महिलाको नेतृत्वमा समाज अगाडि बढोस् । नेपाली महिलाको मान मर्यादा र कार्यकुशलता विश्वव्यापी फैलियोस् । नेपाली महिलाको जय होओस् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा विश्वका सबै नारीहरुको जय होओस् । नेपाली नारीहरुको विश्वमा थप पहिचान बन्न सफल होओस् ।