रौतहट । फाल्गुण २४
सर्वोच्च अदालतको निर्णयले नेकपा एमाले ब्युँतिएको भन्दै रौतहटमा खुशियाली मनाइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली निकटका नेता, नेकपा युवासंग र अनेरास्ववियुका कार्यकर्ताहरुले आइतबार सांझ गौरको विपी चौकमा मैनबती बालेर खुशियाली मनाएका हुन् ।
सो अवसरमा वोल्दै अनेरास्ववियुका केन्द्रिय सचिवालय सदस्य रवि मिश्रले सर्वोच्च अदालतको निर्णय सुखद र स्वागत योग्य भएको वताए । उनले सर्वोच्चको निर्णयले नेकपा एमाले ब्युँतिएको बताउदै खुशि समेत व्यक्त गरे ।
सदस्य मिश्रले देशमा दुई किशिमको कम्युनिष्ट भएको वताउदै एउटा सक्ली र एउटा नक्कली कम्युनिष्ट भएको वताए । बहुमतको सरकारलाई हटाउने खोज्नेहरुको हबिगत अव के हुने हो यसै भन्न सकिने अवस्था नरहेको जिकिर समेत उनले गरे ।
कार्यक्रममा सहभागिहरुले नेकपा एमाले जिन्दाबाद, केपी ओली रेलमा भ्रष्टाचारीहरु जेलमा, सूर्य चिन्ह हाम्रो हो, आज होइन् भोलीलाई १० बर्ष ओलीलाई लगायको नाराबाजी समेत गरेका थिए ।
कार्यक्रममा नेकपा नेता बबन सिंह, पुर्व सांसद अबदुल कलाम अजाद, नेताहरु आशुतोष सिंह, मुन्ना यादव, आशिष झा, विश्वजित सिंह चौहान लगायतको सहभागिता रहेको थियो ।
सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकिकरण भै नेकपाको नाम राखिएपनि ऋषी कट्टेलले आफुले दर्ता गरेको नेकपा अरुको हुन नसक्ने भन्दै मुद्दा हालेका थिए । अदालतले कट्टेल कै नेकपालाई मान्यता दिदै निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने जनाएको छ ।