ओमप्रकाश यादव । रौतहट । चैत्र
०५ गते ।
रौतहटको माधवनारायण नगरपालिकाका मेयर विरेन्द्र यादव र प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थ सहितको टोलीले आज बुधवार नगर भित्रका भौतिक निर्माण कार्यहरुको स्थलगत अनुगमन निरीक्षण गरेका छन ।
नगर प्रमुख यादव, प्रमुख प्रशासकीय अधिकृत कायस्थ र योजना शाखा प्रमुख कृष्णनन्दन प्रसाद यादव सहितका अनुगमन टोलीले आज नगर भित्र भइरहेको विभिन्न पुर्वाधार निर्माण कार्यहरुको अनुगमन गरेका छन ।
नगर प्रमुख यादव, अधिकृत कायस्थ र योजना प्रमुख यादवले माधवनारायण नगरपालिका १ दिपही र वडा नं ३ भेलहीमा नगरपालिकाद्धारा भइरहेको सडक ढलान, घर निर्माण लगाएत भौतिक पूर्वाधार निर्माण कार्यको योजना स्थलमै पुगेर अनुगमन गरेका छन ।
अनुगमनमा आएका टोलीले पुर्वाधार निर्माणको कार्य गुणस्तरीय भइरहेको छ कि छैन भन्ने बारेमा बुझेको छ ।
सन्चालनमा रहेको योजनाहरुका उपभोक्ता समितिले भुक्तानी गर्न निवेदन दिएकाले निर्माण कार्य सम्पन्न छ कि छैन भन्ने बारेमा भुक्तानी दिनुभन्दा अघि अवलोकन गरिएको मेयर विरेन्द्र यादवले बताएका छन ।
नगरपालिकाबाट आर्थिक बर्ष २०७७÷०७८ मा दिपही देखि भेल्हीसम्म सडक कालोपत्रे गर्नुको साथै अन्य पुर्वाधार निर्माणको कार्य भइरहेको छ । उक्त योजनाहरुको काम अन्तिम चरणमा रहेको र भुक्तानी दिनुभन्दा अघि अनुगमन गरिएको मेयर यादवले बताए ।
अन्तिम चरणमा रहेको सो विकास निर्माणका कार्यहरु सन्तोषजनक रहेको अनुगमनमा आएका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले बताएका छन ।