जयकुमार । वीरगजं ०५ चैत
गर्मी बढेसँगै वीरगजंमा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको छ। जाडो र गर्मी सिजन सुरु हुने समयमा लामखेट्टेको प्रकोप बढ्ने भए पनि वीरगजं महानगरले समयमा नै नालामा औषधि नछर्किंदा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको हो ।
गएको स्थानीय तहको निर्वाचनमा हालका जनप्रतिनिधिले चुनावी घोषणापत्रमा लामखुट्टे तथा किरा फट्याङ्ग्रामुक्त शहर बनाउने आवश्वासन बाँडेका थिए । तर, घोषणापत्रमा उल्लेख गरिएका कुरा कार्यान्वयन नभएको नगरवासीको गुनासो छ ।
सरसफाई व्यवस्थापन र लामखुट्टेको न्यूनीकरणमा महानगर नलागेको नेपाली कांग्रेसका स्थानीय नेता मोहमद साबुद्दीनले आरोप लगाए । महानगरको सरसफाई गर्ने जिम्मा आफूले पनि नगरी स्थानीय ठेकदारलाई समेत नदिएर आर्थिक प्रलोभनमा चितवनको ठेकेदारलाई दिएर उचित सफाई हुन नसक्दा लामखुट्टेको प्रकोप ह्वात्तै बढेको नेता अंसारीको दाबी छ ।
वीरगजं महानगरमा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा सञ्चालित एकीकृत मझौला शहरी विकास परियोजनाअन्तर्गत धेरै नाली अण्डरग्राउण्ड गरिएको महानगरले दावी गरे पनि साना तथा मझैला नालाहरु अझै खुला र अव्यवस्थित छन् । अव्यवस्थित र खुला नालाहरुकै कारण लामखुट्टेको प्रकोप अत्याधिक वृद्धि भएको उनले तर्क गरे। महानगरले छर्कने औषधिमा केमिकलभन्दा पनि पानीको मात्रा बढि हुँदा प्रभावकारी नहुने गरेको समेत नेता अन्सारीले आरोप लगाए ।
यता महानगरको सरसफाई महाशाखा प्रमुख राजिव सिंहले भने लामखुट्टे नियन्त्रणका लागि गत फागुन १६ गतेदेखि अभियान चलाइरहेको दावी गरे । ‘बिहान पम्प स्प्रेबाट खुला नाला तथा जमेको पानी भएको ठाउँमा लार्भा मार्न स्प्रे हुँदैछ। बेलुका एयर स्प्रेबाट हावामा स्प्रे गर्ने काम पनि विभिन्न वडाहरुमा भइरहेको छ,’ उनले भने, ‘यो अभियान २४ दिनको छ ।’