मुम्बई, एजेन्सीविराट कोहलीको वान डे क्रिकेटमा ५० औं शतक र मोहम्मद सामीको सात विकेटको प्रदर्शनसँगै भारतले न्युजिल्यान्डलाई बुधबार ७० रनले पराजित गर्दै विश्वकप क्रिकेट २०२३ को फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि ३ सय ९८ रनको लक्ष्य पाएको न्युजिल्यान्डले ४८.५ ओभरमा सबै विकेट गुमाएर ३ सय २७ रन मात्र बनाउन सक्यो ।
भारत सन् २०११ यता पहिलो पटक विश्वकपको फाइनल पुगेको हो । समग्रमा भारत विश्वकपको फाइनल पुगेको भने यो चौथो पल्ट हो । अब उपाधिका भिडन्तमा भारतले दक्षिण अफ्रिका र अस्ट्रेलियाबीच हुने दोस्रो सेमिफाइनल विजेताको सामना गर्नेछ । सेमिफाइनलमा भारतको जितको नायक फेरि एकपल्ट मोहम्मद सामी रहे । उनले ९.५ ओभरमा ५७ रन खर्चेर सात विकेट लिए ।
न्युजिल्यान्डका लागि ड्यारेल मिचेलले १ सय १९ बलमा १ सय ३४ रन बनाए । उनले नौ चौका र सात छक्का प्रहार गरे । प्रतियोगितामा मिचेलको यो दोस्रो शतकीय प्रदर्शन हो । तर यो शतक पनि जितका लागि पर्याप्त रहेन् । मिचेल र कप्तान केन विलियमन क्रिजमा रहँदा भारत दबाबमा देखिएको थियो ।
विलियम्सन सामीको बलमा ६९ रन बनाएर आउट भए । त्यस अगाडि सामीले नै उनको सजिलो क्याच छाडेका थिए । विलियसनले मिचेलसँग मिलेर दोस्रो विकेटका लागि १ सय ८१ रनको साझेदारी गरे । यस साझेदारी अगाडि न्युजिल्यान्ड दुई विकेट गुमाएर ३९ रनको स्थितिमा थियो । विलियमसनले आठ चौका र एक छक्का प्रहार गरे । ग्लेन फिलिप्सले पनि ४१ रनको योगदान दिए ।
टस जितेर पहिले ब्याटिङको निर्णय गरेको भारतले चार विकेट गुमाएर ३ सय ९७ रनको स्कोर खडा गरेको थियो । यसमा दुई शतकीय प्रदर्शन सामेल थियो । सबैभन्दा पहिले कोहलीले शतक बनाए । ऊनले १ सय १३ बलमा १ सय १७ रन बनाए । यस क्रममा वानडे त्रिकेटकोआफ्नो ५० औं शतक पूरा गरे ।
उनी वान डे क्रिकेटको इतिहासमा ५० शतक बनाउने पहिलो ब्याटर बने । उनले यसक्रममा सचिन तेन्दुलकरको नाममा रहेको ४९ वान डे शतकको कीर्तिमानलाई उछिने । कोहली पछि श्रेयस अय्यरले ७० बलमा शानदार १ सय ५ रन बनाए । उनले चार चौका र आठ छक्का प्रहार गरे । कप्तान रोहित शर्माले पनि २९ बलमा आक्रामक ४७ रन बनाए ।
रिटायर्ड हर्ट भएर फेरि खेल्न आएका ओपनर शुभमन गिलले ६६ बलमा ८० रन बनाए र नटआउटे रहे । न्युजिल्यान्ड बलरमध्ये टिम साउथीले तीन विकेट लिए, तर यसका लागि उनी महँगो सावित भए र सय रन खर्चे । भारतले यस जितपछि न्युजिल्यान्डमाथि बदला पनि रचेको छ । न्युजिल्यान्डले पछिल्लो विश्वकपको म्यानचेस्टरमा भएको सेमिफाइनलमा भारतलाई नै हराएको थियो ।