ओम प्रकाश यादव
कार्तिक २९,रौतहट
मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले संघीय सरकारबाट संघीयता समाप्त पार्ने सडयन्त्र
भइरहेको आरोप लगाएका छन् । आफुहरुले संघीयता कार्यान्वयन गर्न संघीय सरकारलाई पटक पटक दबाब दिएपनि प्रचण्ड सरकारले संघीयता कार्यान्वयन गर्न आलटाल गर्दै आएकाले उनिहरुले संघीयता नै समाप्त पार्ने खोलमा लागेको हो कि भन्ने आशंका आफुलाई लाग्न थालेको उनले बताए ।रौतहटको राजदेवी नगरपालिका–१ पथरा स्थित पोखरी बजारमा जनता समाजवादी पार्टी नेपालको राजदेवी नगर कार्य समितिले बुधवार आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले यस्तो बताएका हुन ।
जसपा अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा विगतका दिनमा भएको मधेश जनविद्रोह र सो विद्रोहमा परी शहादत प्राप्त गरेका सयौं मधेशीको रगतको बलमा आएको संघीयतालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले ध्वस्त पार्ने खेलमा लागेको उनले बताए । संघीयता कार्यान्वयन गरेपछि कर्मचारी, प्रहरी प्रशासन तथा अन्य साधन श्रोत प्रदेश सरकारकै मातहतमा आउने र प्रदेश सरकारले आफै कर्मचारी भर्ना गर्न पाउने भएपछि सरकारी जागिरमा मधेशीहरु बढी अवसर पाउने डरका कारण संघीय सरकारले संघीयता कार्यान्वयन गर्न नचाहेको उनले बताए ।
प्रदेशले आफनो छुट्टै निजामति कर्मचारी र प्रहरी प्रशासन भर्ना गरेर राख्न पाउने भनी संविधानमा उल्लेख छ ।संविधानमा भएको व्यवस्था अनुसार नै आफुहरुले निजामति कर्मचारी र प्रहरी प्रशासन आफनै मातहतमा राख्न पाउनुपर्ने भनी पटक पटक प्रधानमन्त्री प्रचण्डलाई भेटेर दबाव दिएको भएपनि प्रधानमन्त्री प्रचण्डले विभिन्न बहाना बनाउँदै मधेश प्रदेशलाई आफनै कर्मचारी र प्रहरी प्रशासन राख्ने अधिकार दिन आलटाल गर्दै आएको समेत उनले बताए । निजामती ऐन र प्रहरी समायोजनका लागि आफुहरुले संघीय सरकारलाई एक महिने अल्टिमेटम दिइसकेको बताउँदै मुख्यमन्त्री यादवले एक महिना भित्रमा संघीय सरकारले आफुहरुको माग सम्बोधन नगरे संघीय सरकार विरुद्ध चरणबद्ध आन्दोलन गर्ने बताए ।
संघीय सरकारले संघीयता समाप्त पार्ने जति जालझेल र सडयन्त्र गरेपनि आफुहरुले कुनै हालतमा संघीयता समाप्त हुन नदिने उनले बताए । आन्दोलन गरेर भएपनि प्रदेशले आफनै प्रहरी प्रशासन र कर्मचारी राख्न पाउने भनी संविधानमा उल्लेख भएको अधिकार लिएरै छाड्ने उनले दावी गरे । आफ्नो छुट्टै कर्मचारी, प्रहरी प्रशासन र साधनस्रोत नहुँदा प्रदेश सरकारले सोचे जस्तो काम गर्न नसकेको उनले बताए । कार्यक्रममा बोल्दै मधेश प्रदेशका पूर्व राज्य मन्त्री एवं जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य योगेन्द्र राय यादवले संघीय सरकारले जनसंख्याको अनुपातमा मधेश प्रदेशमा बजेट नछुट्याउने गरेका मधेश प्रदेश विकास निर्माण देखी लिएर हरेक क्षेत्रमा पछाडि परेको बताएका छन् ।
देशको कुल संख्याको आधि भन्दा बढी जनसंख्या तराई मधेशमा भएपनि केन्द्र सरकारले जनसंख्याको हिसावले प्रर्याप्त बजेट विनियोजन नगर्ने गरेका कारण तराई मधेशमा विकास हुन नसकेको र यहाँका जनता चरम गरिवि, अशिक्षा र बेरोजगारीको चपेटामा परेको राज्य मन्त्री यादवले बताए । देशमा बहुदलीय व्यवस्था आएको ३४ वर्ष भन्दा बढी दिन देखी संघीय सरकारको नेतृत्व नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्रले गर्दै आएको भएपनि तराई मधेश विकासमा अगाडि बढन नसकेकोले तराई मधेशको विकासका लागि अब जनता समाजवादी पार्टीले देशको नेतृत्व गर्नुपर्ने आवश्यक्ता आएको उनले बताए ।
जसपाले देशको नेतृत्व गरे मात्र मधेशको विकास हुने भएको हुँदा आउँदो निर्वाचनमा जसपालाई देशको नेतृत्व गर्ने गरी बहुमत दिएर निर्वाचित गराउन उनले सबैलाई आग्रह गरे । कार्यक्रममा जसपाका केन्द्रिय नेताहरु बाराका रामकिशोर यादव, रौतहटका राम किशोर यादव, चुल्हाई राय, विश्वनाथ पटेल, किरण ठाकुर, सोभा देवी, पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव, पार्टीका मधेश प्रदेश सदस्य राजकुमार दास, पुनित राम चमार लगाएतका नेताहरुले शुभकामना मनतव्य राखेका थिए ।