रमेश कुमार यादब
मंसिर ०१,रौतहट
शुक्रबार रौतहट सहित देशभरी छठ पर्व विधिवत् रूपमा शुरु भएको छ । व्रतालुले शुक्रवार ‘नहाय–खाय’ विधिमार्फत व्रतको शुरुवात गर्दैछन् । त्यसो त कात्तिक शुक्ल तृतीयाकै दिन हिजो बिहीवार व्रतालुले उसिना चामल, कोदो, मुसुरो, माछामासुसहित तामसी र राजसी भोजन परित्याग गरी ‘अरबा–अरबाइन’ भनिने विधि गरेका थिए ।
आज व्रतालुले पवित्र स्नान गरी व्रत सङ्कल्प गरेर चोखोनितो खान्छन् । यो विधिलाई रौतहटमा ‘नहाय–खाय’ भन्ने गरिएको छ । हिजो ‘अरबा–अरबाइन’ र आज ‘नहाय–खाय’ विधि गर्ने व्रतालुले भोलि शनिवार निराहार व्रत बसी राति सख्खरमा पकाइएको अरबा चामलको खिर कुलदेवता र छठीदेवीलाई चढाएर प्रसाद स्वरूप खान्छन् । यो विधिलाई रौतहटमा ‘खरना’ भनिन्छ ।
व्रतालुले षष्ठी तिथिका दिन निराहार व्रत बसेर बेलुकी पख अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यसको भोलिपल्ट बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुने परम्परा छ ।
यसपालि छठको समापन आउँदो सोमवार बिहान सूर्योदयसँगै गरिने छ । छठले गर्दा रौतहटमा अहिले जताततै सूर्यदेव र षष्ठी (छठी) देवीको महिमा गाइएका गीत गुञ्जदै छन् । छठ प्रारम्भसँगै रौतहटमा धार्मिक महत्त्वका तलाउ र नदी, पोखरी परिसर बेहुलीझैँ सिङ्गारिएका छन् । त्यति मात्र नभएर काठमाण्डौ उपत्यकासहित पहाडी जिल्लाहरुमा पनि छठको रौनक बढ्दै गईरहेको छ । नदी तटलाई झकिझकाउ बनाइएको छ ।
जस सिंगारिएको तलाउ, पोखरी र नदिमा छठ ब्रतालुहरुले चोखो मनले पुजापाठ गर्ने गर्छ । यस पर्वको रौनक बेग्लै रहेको धार्मिक महत्व समेत देखाईएको छ ।