वर्तमानकाल सम्वाददाता
सिम्रौनगढ नगरपालिका–८ कचोर्वा आधारभूत विद्यालयमा कार्यरत एक शिक्षकको शुक्रबार निधन भएको छ । सिन्धुपाल्चोक घर भएका ३५ वर्षीय नरेन्द्र पराजुलीको निधन भएको हो । पराजुली गत चैतदेखि त्यस विद्यालयमा कार्यरत थिए । शिक्षक सेवा आयोगबाट नाम निकालेपछि उनी त्यस विद्यालयको दरबन्दीमा थिए । उनका १ छोरा सिन्धुपाल्चोकमा छन् । पराजुली पत्नीसहित कचोर्वामा बस्दै आएका थिए ।
केही महिनाअघि पत्नी वैदेशिक रोजगारीमा गएपछि उनी एक्लै कोठामा बस्दै आएका थिए । साँझ उनको शव कचोर्वा नयाँ बजारमा फेला परेको हो । घटनास्थलमा प्रहरीको टोली पुगेको छ । घटनास्थलमा डेढ महिनादेखि आन्दोलनमा रहेका शिक्षकहरू र स्थानीयको भीड लागेको छ ।इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक रविभूषण यादवका अनुसार शिक्षकको निधनबारे अनुसन्धान भइरहेको छ । उनको शव पोस्टमार्टमका लागि कलैया प्रादेशिक अस्पताल पु¥याउने कार्य भइरहेको उनले बताए ।
नगरपालिकाबाट पाँच महिनादेखि तलब नपाएर नगरपालिकाविरूद्ध आन्दोलनमा रहेका शिक्षकहरू घटनास्थलमा पुगेका छन् । तलब नपाएर शिक्षक पराजुली केही समयदेखि निकै तनावमा रहेको प्रधानाध्यापक रामायण साहले बताए । १ सय ९५ शिक्षक गत ४० दिनदेखि तलबका लागि आन्दोलनमा छन् । दसैं, छठ, तिहारमा पनि उनीहरूले तलब पाएका छैनन् ।शिक्षक संघर्ष समितिका संयोजक उमाशंकर यादवका अनुसार शिक्षक पराजुली आफूहरु सितै आन्दोलनमा थिए ।