जनकपुर न्यूरो हस्पिटलमा भएको बालक मृत्यु प्रकरण घटना प्रहरीकै रोहवरमा १० लाख रुपैयाँमा मिलापत्र गरिएको खुलेको छ । बिहीबार मध्यराति प्रहरीकै रोहबरमा मृतक परिवार र हस्पिटल पक्षबीच १० लाख रुपैयाँ क्रियाखर्च दिने सर्तमा सहमति भएको हो । वुधबार वान्ता भएर स्वास्थ्यमा समस्या देखिएपछि बालक धनुषाको धनुषाधाम नगरपालिका ६ मालटोल बस्ने विक्रम कालिकोटेका ४ वर्षीय छोरा जेम्स कालिकोटेलाई हस्पिटल भर्ना गरिएको थियो ।
बिहीबार बिहान करिब १० बजे डिस्चार्जगरेपछि मूलगेटमा पुगेकै बेला बालक सिकिस्त भएर मृत्यु भएको थियो । उपचारमा लापरबाहीको कारण बालको मृत्यु भएको आरोप लगाउँदै घटनाको छानविन गरी दोषी डाक्टर र हस्पितललाई कारबाही, आवश्यक क्षतिपुर्तिको माग गरेको थियो ।तर मध्यराति क्रिया खर्च वापत १० लाख रुपैयाँ दिने सर्तमा मिलापत्र भएको आफन्त वीरबहादुर रयासलीले जानकारी दिए ।
‘क्रियाखर्च वापत १० लाख रुपैयाँ हस्पिटलले दियो । राति नै हामी शव बुझेर आयौं’ हजुरबा पर्ने मिथला नगरपालिका २ नक्टाझिजका रसायलीले भने । मृतक बालकका मामा सुनिल परियाका अनुसार क्षतिपुर्ति ५० लाख रुपैयाँ, उपचारमा संलग्न चिकित्सकको लाइसेन्स खारेज र हस्पिटल शिल गर्नुपर्ने सहितको मृतक परिवारको सर्त थियो ।तर १० लाख रुपैयाँ दिने सहमति भएको उनले पनि पुष्टि गरे । मृतक बालकको ठूलबुबा टिकाराम कालिकोटे आइसकेपछि उनीहरुकै उपस्थितमा मिलापत्र भएको सुनिलको भनाइ छ ।घटनापछि मिल्न र लास हस्पिटलबाट उठाएर लग्न प्रहरीले दबाब बनाएको थियो ।
मिलापत्रको बेला जिल्ला प्रहरी कार्यालय धनुषाका कार्यशाखाका प्रहरी निरीक्षक विनय कुमार सिंहको कमाण्डको टोलि त्यहाँ उपस्थित रहेका थिए ।धनुषाकाप्रहरी प्रवक्ता रञ्जन अवाले पनि राति नै मिालपत्र गरी मृतक परिवार शव लिएर घर पुगेको बताए । यधपी के सर्तमा मिलापत्र भयो भन्ने कुरा प्रहरी निरीक्षक नै त्यहाँ हुँदा भएकोले उनैलाई थाहा भएको डिएसपी अवाको भनाइ छ ।‘इन्सपेक्टर सिंह मध्यराति नै मृतक परिवार र हस्पिलबिच सहमति भयो भनेर भन्नु भयो । राति नै मृतक परिवारले शव बुझेर घर फर्कियो । तर के के सहमति भयो भनेर बुझेकै छैन । इन्सपेक्टर साहब सुत्नु भएको छ, बुझ्नै पर्छ’ डिएसपी अवाले भने ।