वर्तमानकाल सम्वाददाता
प्रत्येक महिनाको आईतबार मत्स्य बिदा (फिस होलिडे) मनाउने नेपाल मत्स्य व्यवसायी संघ रौतहटले निर्णय गरेको छ । यस जिल्ला मत्स्य व्यवसायीहरुको उपस्थितीमा बसेको बैठकले संघको भुमिका र माछा उत्पादक कृषकको समस्या लगायतका बारेमा छलफल गरिएको थियो । बैठकले रौतहट जिल्लामा डिजिटल तराजुमा साढे ६ किलोग्रामको धारामा पुरानै दर भाउमा माछा बिक्री वितरण गर्ने गराउने निर्णय भएको छ ।
त्यस्तै बैठकले दिलीप सहनीको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति पनि गठन गरेको छ । त्यस्तै आगामी बैठकमा मत्स्य भलाई कोष सङ्कलन र सञ्चालन बारे कार्यविधि प्रस्तुतगर्ने निर्णय भएको जनाइएको छ । संघका संस्थापक अध्यक्ष तुलसी राज गिरीका अनुसार मत्स्य बिदा (फिस होलिडे) काम दिन माछा मार्ने अथवा बिक्री वितरण नगरिने निर्णय भएको हो । रौतहट माछा उत्पादनका लागि प्रसिद्ध भएकाले यस तर्फ स्थानिय सरकारले चासो नदिएको उहाँले उल्लेख गर्नुभयो । यहाँ उत्पादित माछा देशका विभिन्न शहरमा पुग्ने गरेको उहाँको भनाई छ ।
तर पछिल्लो समय भारतबाट आयतित माछाका कारण यहाँका व्यवसायी मर्कामा परेको उहाँले गुनासो गर्नुभयो । भारतिय व्यापारीले साईकल वा मोटरसाईकलमा अवैध बाटो हुँदै नेपाल माछा भित्राउने गरेकाले यहाँका व्यापारीलाई समस्या परेको उहाँले प्रष्ट पार्नुभयो । अवैध रुपमा भारतबाट आयितत माछा पुर्ण रुपमा प्रतिवन्धित गर्ने उहाँले सरोकारवाला निकायलाई सुझाव दिनुभयो ।
स्थानिय, प्रदेश तथा संघिय सरकारले माछा उत्पादनमा जोड दिने किसिमका निति तथा कार्यक्रम बनाउन समेत आग्रह गर्नुभयो । माछा उत्पादक कृषकको समस्याबारे बृहत् छलफल हुनुका साथै विभिन्न महत्त्वपूर्ण निर्णय समेत गरिएको नेपाल मत्स्य व्यवसायी संघ रौतहटले जनाएको छ । माछा उत्पादनका यहाँको मलाही गाउँ प्रशिद्ध छ ।
यस गाँउमा अधिंकाशको माछा पोखरी रहेको र यस व्यवसायमा संग्लन रहेको पाईन्छ । यहाँका अन्य पालिकाहरुमा पनि व्यवसायिक रुपमा माछा पालन हुँदै आएको भएपनि सरकारी निकायबाट सहयोग वा अनुदान नपाएको कतिपय माछा पालक कृषकको गुनासो छ ।