वर्तमानकाल सम्वाददाता
वीरगञ्ज महानगरपालिका – १७ अलौँको सिवान टोलस्थित शनिवार लागेको महावीर झन्डा मेलामा प्रहरीले ज्यादती गरेको स्थानीयहरूले आरोप लगाएका छन् । मेलामा गए राति शान्तिपूर्णतरिकाले नाच नाचिरहे पनि प्रहरीले अवरोध सृजना गर्दै लाठी चार्ज गरेको स्थानीयहरूले गुनासो गरेका हुन् ।प्रहरीले ज्यादती गरेको भन्दै आइतबार अलौँका स्थानीयले त्यहाँस्थित हनुमान मन्दिर अगाडिको चोकमा प्रदर्शन समेत गरेका थिए ।
उनीहरूले टायर बालेर प्रहरी र प्रशासनविरुद्ध नाराबाजी समेत गरेका थिए ।मेलामा नाच नचाउने विषयमा दर्शक र नेपाली सुरक्षाकर्मीबिच विवाद भएको स्थानीयले बताएका छन् । विवाद झडपमा परिणत भएपछि एक जना सर्वसाधारण सहित केही सुरक्षाकर्मी समेत घाइते भएका थिए । प्रहरीले राती ११ बजेपछि नाच नचाउन नपाउने भन्दै अवरोध गरेको थियो । यद्यपि राती १२ बजेसम्म नाच नचाउन दिइएको थियो ।
राति साढे १२ बजेपछि पनि नाच नरोकिएको कारण प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साबाट थप बल मगाएर त्यहाँ रहेका दर्शकहरूमाथि लाठीचार्ज गरेको थियो । लाठीचार्ज पश्चात् त्यहाँको अवस्था केही बेरका लागि तनावग्रस्त समेत भएको थियो । नेपालको सिवानटोल र भारतीय सीमावर्ती गाउँ हरैयाका स्थानीयवासीले प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि केही सुरक्षाकर्मी समेत घाइते भएको प्रहरीले जनाएको छ ।
झडपमा प्रहरी चौकी श्रीसियाका सहायक प्रहरी हवलदार सुबोध कुमार यादव, प्रहरी जवान द्वय सुभाष चौधरी, रोशन सिंहल घाइते भएको बुझिएको छ । प्रहरीले भिडलाई तितरबितर पार्न ३ राउन्ड अश्रुग्याँस र १ थान रबरको गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमार विक्रम थापाले जानकारी दिए ।घटनामा हरैयाका १७ वर्षीय युवक राजनकुमार समेत घाइते भएका छन् ।
उनको बायाँ खुट्टामा गम्भीर चोट लागेर डंकन अस्पतालमा उपचार भइरहेका छ । घाइते परिवारजनका अनुसार प्रहरीको गोलीको छर्रा लागेर राजन घाइते भएका थिए ।