वर्तमानकाल सम्वाददाता
लुम्बिनी बिकास बैंक लि. गौर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आँखा अस्पताललाई विभिन्न सामग्रीहरु उपलब्ध गराएको छ । तीन सिटे स्टिल बेन्च सहित अन्य सामग्रीहरु गौर आँखा अस्पताललाई लुम्बिनी बिकास बैंकले सहयोग गरेको हो । सो सामाग्रीहरू बैंकको तर्फबाट शाखा प्रवन्धक सुबोध कोइरालाले एक कार्यक्रमका बिच अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरीलाई सामाग्री हस्तान्तरण गर्नुभएको छ ।
बैकले आर्थिक कारोबार मात्र नभई सामाजिक क्षेत्रमा पनि कार्य गर्ने गरेको बैंकका शाखा प्रवन्धक कोईरालाले उल्लेख गर्नुभयो । बैकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग तथा कार्यक्रम गर्दै आएको उहाँको भनाई छ । सोहि अन्तर्गत यस गौर आँखा अस्पतालको समस्यालाई बुझेर स्टिल बेन्च सहयोग गरिएको उहाँले जानकारी दिनुभयो । आँखा अस्पतालमा उपचारका लागि आएका बिरामीलाई बस्नका लागि सहज हुने उदेश्यका साथ स्टिल बेन्च सहयोग गरेको शाखा प्रवन्धक कोईरालाले बताउनुभयो ।
यस अस्पतालमा छिमेकी जिल्ला सहित भारतका विभिन्न स्थानबाट आँखाका बिरामीहरु उपचारका लागि आउने गर्दछन् । आँखा अस्पतालमा आएका बिरामी वा सेवाग्राहीको सुविधा तथा अस्पताललाई सघाउ पुग्ने उदेश्यले यो सामग्री सहयोग गरिएको उहाँले प्रष्ट पार्नुभयो । सो कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रविण बस्नेत, लेखा अधिकृत पवन न्यौपाने लगायत अस्पतालका अन्य कर्मचारीहरुको उपस्थिती रहेको थियो । बैंकले आर्थिक कारोबार मात्र नभई समाजमुखी कार्य गर्ने गरेको यस सहयोगबाट पुष्टि हुने अस्पतालका प्रमुख व्यवस्थापक नागेश्वर चौधरीले बताउनुभयो ।
अस्पतालका लागि तीन सिटे स्टिल बेन्च अति आवश्यक रहेको उल्लेख गर्दै उहाँले लुम्बिनी बिकास बैंकले गरेको सहयोग प्रति आभार व्यतm गर्नुभयो । सो कार्यक्रममा बैंकको तर्फबाट सहायक शाखा प्रमुख प्रवीण कुमार सिंह लगायत अन्य कर्मचारीहरुको समेत उपस्थिति रहेको थियोे । यसअघि लुम्बिनी बिकास बैंक लि.चन्द्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत चन्द्रपुर खानेपानीलाई कम्युटर सेट तथा जनज्योती बहुमुखी क्याम्पसमा सेनिटरी प्याड भेन्डिङ मेसिन तथा सेनिटरी प्याड डिस्पोज मेसिन सहयोग गरेको थियो ।
लुम्बिनी विकास बैंक लिमिटेडको हाल देशका सातवटै प्रदेशमा गरी ८९ वटा शाखाहरू तथा १ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् । यस लुम्बिनी विकास बैंक लिमिटेडले ‘निरन्तर सहयात्रा ’ भन्ने नाराका साथ आफ्ना ग्राहक महानुभावहरूलाई उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरू सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।