रौतहट,२३ मंसिर। रौतहटको माधवनारायण नगरपालिका वडा नं – ७ लौकाहामा करेन्ट लागेर एक किसानको मृत्यु भएको छ ।
शनिवार बिहान हलो जोतिरहेका स्थानीय बैजुलाल पण्डितको करेन्ट लागेर मृत्यु भएको हो । उनीसँगै करेन्ट लागेर एउटा गोरुको पनि मृत्यु भएको छ ।
लौकाहा गाउँ छेउको खेतमा हलो जोतिरहेका बेला खेतमै झरेको ११ हजार भोल्टको तारबाट बगेको करेन्ट लागेर पण्डित र गोरुको मृत्यु भएको प्रहरी इन्स्पेक्टर झलक शर्माले बताए । घटनाको खबर प्राप्त भएलगतै जिल्ला प्रहरी कार्यालय गौरबाट इन्स्पेक्टर शर्माको कमान्डमा पुगेका प्रहरी टोलीले घटनाबारे अनुसन्धान सुरु गरेको छ।
स्थानीयले विद्युत् प्राधिकरणको चरम लापरबाहीले यस्तो घटना भएको आरोप लगाएका छन् ।विद्युतको पोलबाट नाङ्गो तार खेतमा कसरी र कुन बेला झरेको हो अहिले यकिन भैनसकेको शर्माले बताए ।
‘घटनाबारे विस्तृत अनुसन्धान गर्दैछौं, केही निष्कर्ष निस्किएपछि मात्र कारण थाहा हुन्छ’ उनले भने । अहिले घटनास्थलको मुचुल्का तथा मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाउने तयारी भइरहेको इन्स्पेक्टर शर्माले जानकारी दिएका छन् ।