वर्तमानकाल सम्वाददाता
रौतहटको वृन्दावन नगरपालिकामा पर्ने बागमती बगरको नदी उकास जमिनमा अतिक्रमण भएको छ। बगर अतिक्रमण हुँदा सम्बन्धित निकायको ध्यान जान सकेको छैन।वनको हजारौँ हेक्टर जमिन स्थानीय बासिन्दा तथा सुकुम्बासीको नाममा मकवानपुर, चितवन, सिन्धुली र काभ्रेबाट झरेकाहरूले अतिक्रमण गरेका हुन्।काँस घारी, खयर र बयरले छपक्क हरियाली रहेको बागमती बगरलाई अक्रिमणकारीले मासेर यति वेला धमाधम खेती गर्दा र घरटहरा बनाउँदा समेत डिभिजन वन कार्यालय रौतहटको ध्यान जान नसकेको स्थानीय बासिन्दाले बताए।
जंगली जनावरको वासस्थान रहेको बागमतीको हरियाली फाँट हिजोआज उजाड बनेको स्थानीय बासिन्दाको भनाइ छ।वृन्दावन नगरपालिका–१ मा पर्ने बलेरी गाउँको पूर्वपट्टी रहेको बागमतीको बगरलाई केही दिनदेखि सुकुम्बासीको नाममा फँडानी गरी खेती गर्दा समेत कसैको ध्यान नगएको भन्दै स्थानीय बासिन्दाले त्यसको विरोध गरेका छन्।पछिल्लो केही महिनायता बागमतीको बगरमा रहेका खयर, काँस र बयरलाई मासेर अतिक्रमणकारीले खेत बनाउँदा समेत डिभिजन वन कार्यालय चन्द्रनिगाहपुर रौतहटले चासो नदिएको वृन्दावन नगरपालिका–१ का स्थानिय बालकृष्ण बजगाईले बताए।
वन कर्मचारीकै मिलेमतोमा रातमा ट्याक्टर लगाएर हरियो बगर मासी अतिक्रमणकारीले सुकुम्बासीको नाममा अतिक्रमण गरेको स्थानिय बजगाईको भनाइ छ। हरिण, बँदेल, वन खरायो, नील गाईको वासस्थानका रूपमा परिचित बलेरीको बागमतीको बगर अतिक्रमणको चपेटामा पर्दा डिभिजन वन कार्यालयले चासो नदिनु दुःखद रहेको बजगाईले गुनासो गरे।बलेरी, विश्रामपुर लगायत जिल्ला बाहिरका मान्छेले सुकुम्बासीको नाममा बगर अतिक्रमण गरी बनाएको खेत किनबेच हुँदै आएको स्थानीय बासिन्दाले बताए। बागमतीको बगर अतिक्रमण गरी खेती गर्न थालेपछि ३० देखि ५० हजारमा एक बिघा विक्री हुने गरेको स्थानीयले बताए।आफ्नो ६ बिघा जमिन रहे पनि अरूले बगरमा खेत बनाएको देखेर आफूले समेत एक बिघा बगर कब्जा गरी
मुसुरो लगाएको बगरमा भेटिएका दोस्रो स्थानिय हरेन्द्र यादबले बताए।
केही दिनयता रातमा ट्याक्टर लगेर बगरमा भएका बुट्यान मासेर खेती गर्ने होडबाजी चलेको स्थानीय बासिन्दा बिगु राउतले बताए। रातभर दर्जनौँ ट्याक्टरले बुट्यान जोतेर बगर उजाड बनाउँदा समेत वन कर्मचारीले चासो नदिएको राउतले बताए।यसअघि पनि बागमती बगर अतिक्रमण गरी घरटहरा तथा खेती गरिएकोमा पछिल्लो समय हजारौं हेक्टर हरियो बगरमा खेती गर्ने काम भएको राउतको भनाइ छ।
डिभिजन वन कार्यालय रौतहट अन्तर्गतको सब वन डिभिजन कार्यालय बलेरीका प्रमुख सहायक वन अधिकृत अनिलकुमार महतोले यसअघि समेत बगर अतिक्रमण भएको र अहिले पनि ठूलो संख्यामा रहेका स्थानीय बासिन्दाले बागमतीको बगरमा खेती गर्ने गरेको स्विकारेका छन्।आफूहरूसँग पर्याप्त जनशक्ति नभएकाले अतिक्रमण रोक्न नसकेको र यस विषयमा आफूहरूले कति जमिन अतिक्रमण भयो भन्ने विषयमा तथ्यांक संकलन गरी डिभिजन वन कार्यालयले बुझाउने महतोले बताए।त्यस विषयमा डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र मिश्रसँग सम्पर्क गर्न खोज्दा उनले प्रयोग गर्ने सरकारी मोबाइल अफ रहेको थियो।
बलरीको बागमती बगर अतिक्रमणकारीले समेत प्रतिकट्ठा तीन हजारको दरले रकम संकलन गरेर वन कर्मचारीलाई दिने गरेको स्थानीयले बताए। स्थानियहरुले यो बाहिरबाट आएर गाईबस्तु चरणचरि भएको ठाउँलाई खनि जोत गरि उब्जाउ बनाएकोले गौचरीचरणको समेत समस्या परेको स्थानिय रामशरण राय यादबले दुखेसो पोखेका छन।