पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साधारण तारेखमा छाडेको छ ।नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न अदालतले शुक्रबार आदेश दिएको थियो । तर,प्रहरीले अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभाग र आयोगसमक्ष पनि सिफारिस गरेकाले उनी छुटेका थिएनन् ।
शुक्रबार अबेर उनलाई तारेखमा छाड्ने निर्णय भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले बताए ।सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि खाँणलाई १५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनले त्यसअनुसारको बैंक ग्यारेन्टी जम्मा गरिसकेका छन् ।नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वगृहमन्त्री बालकृष्ण खाँणले जिल्ला अदालत, काठमाडौंमा पुगेर धरौटी वापतको रकम अनुसारको बैंक ग्यारेन्टी पेश गरेका छन् ।बिहीबार उच्च अदालत पाटनले ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएपछि खाँण शुक्रबार धरौटी रकम जम्मा गर्न जिल्ला अदालत, काठमाडौं पुगेका थिए ।
लगत्तै प्रहरीले उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएको थियो ।नेपाली युवालाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै एउटा गिरोहले लाखौं रुपैयाँ उठाएर ठगी गरेको थियो ।भुटानी शरणार्थी समस्याबारे अध्ययन गर्न बनेको पूर्वसहसचिव बालकृष्ण पन्थी नेतृत्वको कार्यदलको प्रतिवेदनमा कीर्ते गरेर खाँण गृहमन्त्री भएका बेला नेपाली युवालाई अमेरिका पठाउने प्रयास भएको अनुसन्धानबाट खुलेको थियो ।
उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले खाँणसहित उनका स्वकीय सचिव नरेन्द्र केसीलाई २७ वैशाखमा उनको मैजुवहालस्थित घरबाट पक्राउ गरेको थियो । खाँणसहित प्रकरणमा मुछिएका पूर्वमन्त्री टोपबहादुर रायमाझी, सचिव टेकनारायण पाण्डे लगायतलाई १ असार २०८० मा पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत, काठमाडौंले आदेश दिएको थियो ।
त्योविरुद्ध खाँणसहितका आरोपीहरु उच्च अदालत, पाटन गएका थिए । उच्च अदालतका न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको इजलासमा १५ मंसिरमा खाँणलाई छाड्ने वा थुनामै राख्ने भन्ने विषयमा न्यायाधीशहरुको राय बाझिएको थियो ।न्यायाधीश पाण्डेले थुनामा पठाउने जिल्लाको आदेश उल्टाउनुपर्ने र ३० लाख रुपैयाँ धरौटीमा छाड्नुपर्ने राय लेखेका थिए