वर्तमानकाल सम्वाददाता
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएसँगै पेट्रोल छैन भन्दै मध्य रौतहटमा कृत्रिम अभाव सिर्जना भएको छ । मध्य रौतहटको गरूडा, कटहरिया, शिवनगर लगायतका ठाउँहरूमा रहेको पेट्रोल पम्पमा तेल पाउन छाडेको छ । आइतबार दिनभरी उपभोक्तालाई परेशानी झेल्नुपरेको छ ।
मध्य रौतहटका अधिकांश पेट्रोल पम्पहरुमा पेट्रोल नभएको भन्दै प्लास्टिक र चटीको बोरा ओढाइएका छन् । बोरा ओढाएर ‘पेट्रोल छैन’ लेखिएको ब्यानर झुन्डाएका छन् भने पेट्रोल पम्पमा ताल्चा पनि लगाइदिएका छन् । पेट्रोल पम्पमा तेल पाउन छाडेपछि उपभोक्ताहरूलाई सास्ती खेप्नुपरेको छ ।मोटरसाईकल, चार चक्का लिएर पेट्रोल पम्पमा पुगेका उपभोक्ता फर्किन बाध्य छन् । कतैकतै त मोटरसाईकिल चालकहरू तेल नपाएर पैदल गुडाएर लान बाध्य भएको देखिएको छ । पम्पहरूमा तेल नभए पनि पसललेहरूले बोतलमा तेल राखेको प्रशस्तै भेटिएको छ ।
पसलबाट उपभोक्त महँगोमा किन्न बाध्य छन् ।निगमले तेलको मूल्य घटाउने बित्तिकै पम्प बन्द गर्दै कृत्रिम अभाव सिर्जना गर्दै आएका छन् ।नियामक निकायले यसमा चासो नदेखाउँदा बारम्बार यस्तै सास्ती खेप्नुपरेको हो ।पहिलेदेखि नै स्टोर गरिएको पेट्रोल नयाँ मूल्यमा विक्री गरेपछि नाफा कम हुने भएकाले पम्पवालाहरुले पेट्रोलको अभाव सिर्जना गर्ने गरेको उपभोक्ताहरूको आरोप छ । अत्यावश्यक वस्तुको अभाव सिर्जना गर्नु कानून विपरित हो । उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १७ को उपदफा (ख) मा कुनै पनि तरीकाले कृत्रिम अभाव सिर्जना गर्न नहुने उल्लेख गरिएको छ ।
पेट्रोलको कृत्रिम अभाव सिर्जना गर्ने पम्पलाई कारवाही गर्ने दायित्व नेपाल आयल निगमको भएको पनि कार्यवाही नगरेको उपभोक्ताहरूको भनाइ छ । नेपाल आयाल निगम मधेस प्रदेश प्रादेशिक कार्यालय अमलेखगञ्जका प्रमुख बिनित मणि उपाध्यायले प्रशस्त मात्रमा इन्धन स्टक भए पनि पम्प सञ्चालकहरुले इन्धन नउठाउँदा बजारमा अभाव सिर्जना भएको हुन सक्ने बताए । मूल्य घट्ने बित्तिकै एक–दुईसम्म पम्पहरू इन्धन नउठाएर मनोमानी गर्ने गरेको स्वीकारे ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो । निगमले गत शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको थियो ।निगमले पेट्रोल तथा डिजेलरमट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको थियो ।मूल्य घटेर आएपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय ६७ रुपैयाँ र डिजलको मूल्य प्रतिलिटर १ सय ५७ रुपैयाँ पर्ने भएको छ ।