वर्तमानकाल सम्वाददाता
रौतहटको चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित चोकबाट प्रहरीले नक्कली नोटसहित एक जना भारतीयलाई पक्राउ गरेको छ ।बिहारको पूर्वी चम्पारण दार्पा थाना–१ सुखलहिया टोल बस्ने ३८ वर्षीय सुरेन्द्र ठाकुरलाई नक्कली नोटसहित पक्राउ गरिएको इलाका प्रहरी चन्द्रनिगाहपुरका प्रहरी निरिक्षक गायत्री शर्माले जानकारी दिए ।
ठाकुरलाई जिल्ला अदालत रौतहटबाट सोमबार ५ दिनको म्याद थपेर अनुसन्धान थालेको प्रहरीको भनाइ छ ।‘पक्राउ परेका ठाकुर नक्कली नोटको पेशेवर भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ,‘उनले भने,‘अनुसन्धानपछि ठाकुरको पृष्ठभूमि धेरै पत्ता लाग्न सक्छ । हामीले गहिरिएर अनुसन्धान थालेका छौँ ।
’ प्रहरीले मसिर ३० गते ठाकुरलाई पक्राउ गरे पनि सोमबार अदालतबाट म्याद थपेपछि घटनाबारे सार्वजनिक गरेको हो ।ठाकुरले बालचपुरमा रहेको ठेला पसलमा एक किलो सुन्तला खरिद गर्न एक हजारको नोट दिएका थिए । पसल सञ्चालकले उक्त नोट नक्कली भएको शंका लागेर प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक आनन्द रायको कमान्डमा टोली बालचनपुर पुगेर ठाकुरको शरीर खानतलासी गर्दा पाइन्टको दाहिनेतर्फको खल्तीबाट सक्कली जस्तो देखिने नक्कली नोट र एकथान च्यातिएको गरी बीस हजार नक्कली नोट बरामद गरेको थियो । प्रहरी निरीक्षक शर्माले पक्राउ परेका ठाकुरलाई खोटा चलनसम्बन्धी कसुरमा अदालतबाट म्याद थपेर अनुसन्धान थालेको बताए ।